नि:शुल्क स्वास्थ्य सेवा सहित सार्वजनिक सेवा

20180610_152245

रसुवा जेठ २७ गते । जिल्लाको सरकारी कार्यालयहरुमा सेवाग्राहीहरुले सरकारी सार्वजनिक सेवाको साथमा नि:शुल्क स्वास्थ्य सेवा समेत पाउँने भएका छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलको योजना तथा विशेष प्रयासमा सरकारी कार्यालयमा सेवा लिन आउँने सेवाग्राहीहरुलाई नि:शुल्क स्वास्थ्य सेवा सहितको साजर्वजनिक सेवा दिने कामको शुरुवात भएको छ ।

तुलनात्मक रुपमा बढि सेवाग्राहीहरु आउँने कार्यालयहरु जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालयमा प्रत्येक हप्ताको आईतबार जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीहरुबाट नि:शुुल्क स्वास्थ्य परिक्षण गराई सामान्य औषधि र परामर्श सेवा उपलब्ध गराईने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउँनुभयो ।

विशेष गरी ग्रामीण भेगमा बस्ने नेपालीहरुमा रोग नलागी स्वास्थ्य जाँच नगराउँने तथा धेरैजस्तो अवस्थामा स्वास्थ्यमा समस्या आउँदा समेत समयको अभाव, स्वास्थ्यचौकी, अस्पताल तथा स्वास्थ्यकर्मीको अभावलगायतका विभिन्न समस्या तथा स्वास्थ्यप्रति धेरै सचेतना नहुदा चेकजाँच र औषधि उपचार नगर्ने चलन भएको हुदा सरकारी कार्यालयमा आएका सेवाग्राहीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै सामान्य चेकजाँच, औषधि उपलब्धता र परामर्शले समेत स्वास्थ्यमा सेवा पु¥याउँने उद्देश्यले यस्तो कार्यको शुरुवात गरिएको र यस्तो सेवालाई अझै प्रभावकारी बनाएर नियमित गरिने पौडेलले जानकारी दिनुभयो । यस अघिदेखि नै सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै पौडेलको प्रयासबाट जिल्ला प्रशासन कार्यालयमा तातोचिसो पानी, चिया तथा सेनेटरी प्याडको सुविधा उपलब्ध भैरहेको छ ।

२७ जेठ २०७५ मा जिल्ला प्रशासन कार्यालयमा २० जना र जिल्ला मालपोत कार्यालयमा ११ जना सेवाग्राहीले स्वास्थ्य जाँच गराएको स्वास्थ्यकर्मी राजेश बिष्टले जानकारी दिनुभयो । स्वास्थ्य जाँच गराएका मध्ये धेरै जनालाई रक्तचाप, श्वासप्रश्वास लगायतका समस्याहरु देखिएकाले उचित परामर्श तथा सामान्य बिरामीलाई औषधि उपलब्ध गराएको बिष्टले बताउँनुभयो ।

Comments

comments