नेपाल किन धर्मनिरपेक्ष हो ?

Pradip Nepal

प्रदीप नेपाल

नेपाललाई जसरी पनि हिन्दु राष्ट्र बनाएरै छाड्ने नेपाल र भारतका अभियन्ताहरूले दुइटा कुरा बुझेका छैनन् । पहिलो, मदन भण्डारीले उहिल्यै भन्नुभएको थियो–पञ्चायती व्यवस्थामा मुलुकमा राजाको सार्वभौमसत्ता थियो, राजा हिन्दु त्यसैले मुलुक पनि हिन्दु भयो तर प्रजातन्त्रमा जनताका प्रतिनिधिले शासन गर्ने भएकाले कुनै एउटा धर्र्मलाई विशेष अधिकार दिन पाइँदैन । त्यसैले नेपाल धर्मनिरपेक्ष हुनुपर्छ । बुझ्नेलाई यत्ति नै पर्याप्त होला । नबुझ्नेका लागि यहाँ जानकारी पस्किने कोशिस गरेको छु । यो बहस हो– जो कसैले यसमा भाग लिनु भए हुन्छ ।

‘नेपालमा हिन्दुको ठूलो बहुमत छ । त्यसैले नेपाल हिन्दु राष्ट्र हुनुपर्छ ।’ यो बहुमत पञ्चायतकालीन तथ्य हो । पञ्चायत सबै नेपाली पञ्च, सबै पञ्च नेपाली भनिएजस्तै धर्मको परिभाषा पनि त्यसरी नै गरिएको थियो । त्यतिबेला गौतम बुद्धलाई ‘भगवान्’ विष्णुको दसौँ अवतार पनि भनिन्थ्यो । सिख र जैन धर्मावलम्बीलाई पनि हिन्दु धर्मकै शाखामा राखिएको थियो । इस्लाम स्वतन्त्र थियो । इस्लाम धर्मले विशेष छुट पाउने कारण राष्ट्रनिर्माता राजा पृथ्वीनारायण शाहसँग जोडिएको थियो । नेपाल निर्माणको अभियानमा हातहतियार बनाउन र मर्मत, सम्भार गर्न आएका इस्लामिक कारिगर र शाह सरकारको सम्बन्ध मैत्रीपूर्ण थियो । त्यसैले नेपाल आएका मुसलमानले मैत्री र सद्भावलाई आफ्नो जीवनशैली अपनाए । त्यसैले उनीहरू भारतीय मुसलमानबाट सम्पूर्णतामै भिन्न भए ।

अब जाउँ हिन्दुतिर । नेपालमा आविर्भाव भएको हिन्दु धर्मावलम्बीका पुर्खा इराक र इरानबाट आएका हुन् । त्यतिबेला यी दुवै राज्य इस्लाम धर्मावलम्बी थिएनन् । यी दुवैको नाम, त्यतिबेला सायद मेसोपोटामिया थियो । त्यहाँ मानिसहरू ‘स’ लाई ‘ह’ उच्चारण गर्थे । अर्थात् उनीहरूको बोलीमा सिन्धु नदी, हिन्दु नदी भयो । त्यसैले सिन्धु नदी काटेर दक्षिण एसिया छिरेका मानिसहरू हिन्दु भए । मेसोपोटामियाका मानिससँग ‘स’ अक्षर हुन्थ्यो भने अहिलेका हिन्दुहरू सिन्धु नै भनिन्थे ।

हिन्दुहरू असाध्यै आक्रामक थिए । मेसोपोटामियाबाट उनीहरू लुरुलुरु हिँडेर सिन्धु नदीको फाँटमा आएका थिएनन् । बाटामा जो जो भेटिए उनीहरूलाई पछार्दै जनधनको ठूलो क्षति बेहोरेर यता लाग्नु परेको थियो तिनले । यही बहादुरीका कारण उनीहरू पुरानो सिन्धु सभ्यतालाई नामेट गर्न सफल भएका थिए । इन्द्र यो लडाकू समूहका प्रधान थिए । बाटाका लडाइँ र अन्तिम सिन्धु घाँटीको सभ्यता नाश गर्ने युद्धमा पनि उनी आगन्तुक सेनाका सेनापति थिए । त्यतिबेलासम्म यो धर्तीमा देवदेवी जन्मिएका थिएनन् । सिन्धु घाँटीमा इन्द्रले देखाएको पौरखलाई हिन्दुहरूले देवत्वकरण गरे । पहिलो देवता हुन् इन्द्र । सबै देवदेवी उनीभन्दा पछि जन्मिएका हुनाले उनी स्वर्गका राजा बनाइएका हुन् ।
इतिहासको अध्ययन गर्दा हिन्दुहरू भारतमा छरिएको समयमै इसाईका प्रभु इसुकृष्ट भूमध्य किनारको रोमन राज्यमा त्यहाँका राजा कोन्सेन्टाइनद्वारा जन्माइएका हुन् । यसरी हिन्दु धर्मभन्दा इसाई धर्म कम्तीमा पनि चार सय वर्ष कान्छो देखिन्छ । यसरी जन्मले जेठो भएकाले हिन्दुहरू आफूप्रति गर्व गर्न पाउँछन् ।

तर नेपालमा जबर्जस्ती एउटा आदिवासी समुदायलाई हिन्दु बनाइएको छ । हिन्दु नै आर्य हुन् । त्यो समुदाय आजभन्दा पाँच हजार वर्षभन्दा पहिले नै नेपाल पसेको थियो । ककेसियाबाट पूूर्वदक्षिण झरेको त्यो समुदायलाई नेपाल भित्रिँदा खस भनियो । आर्यहरू भारतमा २१÷२२ सय वर्ष पहिले आएका थिए । नेपाल छिर्दा तिनलाई अरू एक/दुई सय वर्ष लाग्यो होला । नेपालमा आर्यहरूको आगमन दुई हजार वर्ष पुरानो भयो होला । समयको हिसाब गर्दा खस र ह्वाङ्हो नदीको किनार छोडेर नेपाल आएका किराँत नेपालका आदिवासी हुन् । त्यतिबेला अरू कुनै समुदाय आएको रहेछ भने त्यो पनि आदिवासी हुन्छ । त्यसैले खस–आर्य भनेर दुई समुदायलाई एक ठाउँमा जोड्ने कुरो गलत हुन्छ । खसहरू हिन्दु होइनन् । हिन्दुहरूको वर्ण व्यवस्थामा खस अटाउँदैनन् ।

अहिलेका कतिपय बौद्धिकहरू पनि खस र आर्यबीच चिताइनसक्नुको अन्तरघुलन भएको हुनाले खसआर्य भनिएको होला भनेर सत्य लुकाउन कोशिस गरिरहेका छन् । यो त नेपालका ठूला अङ्ग्रेजीवाज विद्वान्हरूले ‘आदिवासीजनजाति’ भनेजस्तै भइहाल्यो नि ! आदिवासी आउँछ बसोबासको हिसाबमा । जनजाति आउँछ विकासको हिसाबमा । ‘संयुक्त राष्ट्रसङ्घका आर्टिकल १०९’ को खुब हल्ला चल्यो नेपालमा । तर ‘आदिवासी र जनजाति’ भनिएको परिभाषाबाट ‘र’ झिक्ने बित्तिकै दुई शब्दको अस्तित्व समाप्त भएर अर्को एकल शब्द बन्छ– आदिवासीजनजाति ।

एउटा जाति समुदायको इतिहास त्यसै समाप्त त गर्न पाइन्न नि ! खस, अनिश्वरवादी हुन् । खसहरू देवीदेउता मान्दैनन् । उनीहरू मस्टो पूजक हुन् । मस्टो भनेको निराकार सत्य हो । उनीहरू कुल पूजा गर्दछन् । त्यहाँ पनि देवीदेउता हुँदैनन् । लोहोरोजस्तो, एउटा या अधिक ढुङ्गो पूजा गर्छन् । मुख्य कुरा त के हो भने– खसहरू वर्णाश्रम व्यवस्थामा विश्वास गर्दैन् । त्यसैले केही समय अघि पोखरातिर चलेको खस क्षेत्री अभियानलाई मैले गलत भनेको हुँ । खसको परिचय खाली खस हो । न कुनै जात, न कुनै वर्ण, न कुनै धर्म । जनसङ्ख्याको एक चौथाइ रहेको (यो चाहिँ मेरो अनुमान हो) ‘खस’ लाई हिन्दुबाट बाहिर निकालेपछि हिन्दु धर्मावलम्बीको जनसङ्ख्या कति प्रतिशतमा झर्ला ! खस क्षेत्री र हिन्दु आर्यका विद्वान्हरूले यसमा छलफल चलाउँदा राम्रो हुन्छ ।

यहाँ लुकाइएका एउटा सत्यका बारेमा पनि प्रष्ट गर्न मन लागेको छ मलाई । अहिलेसम्म प्राचीन नेपालको खोजी भएको छैन । ने मुनिले बाग्मती र विष्णुमतीको दोभानमा बसेर धर्माकरलाई राजतिलक लगाइदिएपछि नेपालको जन्म भएको हो ! उपत्यकाका भित्तामा त्यतिबेला मानव बस्ती थिएन ? थानकोट, बूढानलीकण्ठ र साँखुमा बस्ती थिएन ? अर्को कथा हो नागजातिको । नेपालको इतिहास पढ्दा नागजातिलाई सर्प बनाइएको छ । अरू कोही नभए पनि नाग र गोपाल जातिहरू उपत्यकाका पाखा–पखेरामा बसोबास गरिरहेकै थिए ।

विचित्रको हिन्दु किंवदन्तीलाई इतिहास मान्ने नेपाली विद्वान्हरूले सोच्नुहोस्– हामीले मानिआएको तरबारले चोभारको डाँडो काट्ने र कर्कोटक नागलाई दहचोकको पोखरीमा गएर बस भन्ने कथालाई कुन आधारमा इतिहास मान्न सकिन्छ ? सकिँदैन । ठूलो पोखरी पानी जान थालेपछि पराजित नाग जाति चोभारको डाँडो कटाएर खेदिएको सत्य नै कर्काेटक नागको मिथक हो । चोभारमा मान्छेहरू हराउने गुफाहरू थिए । अहिले पनि होलान् । ती गुफावासी को थिए ? कुनै इतिहासकारबाट यसको उत्तर पाउन सकिएको छैन ।

अर्थात् उपत्यकाको तल्लो भागमा पानी झर्दै अहिले उच्च रहेका भूभागमा नाग जातिको शासन थियो । उपत्यकाको भित्तामा शासन गर्ने नाग जाति इतिहासमा हरायो होला । यस्तो हराउने क्रम अहिले पनि जारी छ र त्यो भोलि पनि रहिरहने छ । भर्खरै कुसुन्डा हराए । सायद अब हराउने पालो राउटेको हुने होला किनभने आफ्नो अस्तित्वको रक्षा गर्ने चेतना अहिलेसम्म उनीहरूमा पलाएको छैन । तर खसहरूसँग विद्वान् पनि छन् । साथसाथै खसको सामान्य परिचयको सूत्र पनि उनीहरूसँग छ । के आफ्नो उद्गम सजिलै बिर्सन सकिन्छ ? बिर्सनु हुँदैन ।

नेपालका धेरै विशेषता छन् । ह्वाङ्होबाट दक्षिण लागेका, लामो समय उपत्यकामा राज गरेका, पछि लिच्छविबाट पराजित भएर पूर्वतर्फ लागेका सबै किराँत एउटै हुन् तर किराँत राई र लिम्बूमा किन विभाजित हुन खोजेका हुन् म जान्दिनँ । जिरेल र सुरेलमा शेर्पा जाति र किराँतको रक्तमिश्रण भएको कुरा मैले जिरीमा सुनेको थिएँ । त्यही जिरी जाने बाटोमा ‘किराँतीछाप’ भन्ने एउटा गाउँ छ । त्यो पूर्व लागेका किराँतको बसोबासस्थल भनेर किन मान्न सकिन्न ? ! गाेरखापत्रबाट

(लेखक नेकपाका नेता हुनुहुन्छ ।) 

Comments

comments