नेपाल चट्याङका दृष्टिले निकै जोखिमपूर्ण ,सतर्कता अपनाउन विज्ञहरुले सुझाब

chatyang

काठमाण्डु, ५ वैशाख – अहिलेको मौसम चट्याङका दृष्टिले निकै जोखिमपूर्ण भएकाले उच्च सतर्कता अपनाउन विज्ञहरुले सुझाब दिएका छन् ।

चैत १५ देखि असार मसान्तसम्म नेपालमा चट्याङको जोखिम बढी हुने उनीहरुको भनाई छ । स्याण्डविच कार्यक्रमअन्तर्गत श्रीलङ्का र स्विडेनबाट चट्याङमा विद्यावारिधि गरेका डा. श्रीराम शर्माका अनुसार विसं २०६८ देखि २०७४ सम्म गरिएको अध्ययनले नेपालमा हरेक वर्ष चट्याङकै कारण कम्तिमा एक सय १० जनाले ज्यान गुमाउँदै आएका छन् । सावधानी अपनाउन नसक्दा कतिपयले अकालमै ज्यान गुमाउने गरेका उनले बताए । विज्ञहरुका अनुसार घर एवं भवनमा विद्युतीय सुचालकको प्रयोग गरेर आकाशदेखि जमीनसम्म सजिलो बाटो उपलब्ध गराउन सकेमा चट्याङको जोखिमबाट बच्न सकिन्छ ।

नेपालमा पछिल्लो समय निर्माण गरिएका भवनमा त्यहाँका विद्युतीय सामानका अर्थिङ गर्ने गरिए पनि भवनको अर्थिङसमेत जोड्ने क्रम अझै प्रभावकारी ढङ्गले भएको पाइँदैन । घरका विद्युतीय सामानको अर्थिङ गर्दा टाढाबाट विद्युतीय तार र टेलिफोनका तारमार्फत आउने करेन्टबाट बचाउन सकिने शर्मा बताउँछन् । शर्माका अनुसार १० किलोमिटर पर परेको चट्याङलाई समेत विद्युतीय वा टेलिफोनका तारले भोल्टेजलाई एन्टेनाको रुपमा रिसिभ गरेर घरसम्म ल्याउने गर्दछ ।

घरमा विद्युतीय सामानसहित सम्पूर्ण भवनको चट्याङ प्रतिरक्षा सामग्री जोड्नुर्ने हुन्छ । घरको माथि रड राखेर त्यसलाई तामा वा ग्याल्मोनाइज आल्मोनियमको पाता अथवा रडमार्फत जमीनमुनिसम्म पु¥याउन सकिने शर्माले बताए । चट्याङको फाइन सिग्नेचर विषयमा नेपालमा पहिलो विद्यावारिधि गरेका डा. पितृभक्त अधिकारी चट्याङ परेको समयमा निकै सावधानी अपनाउनुपर्ने सुझाव दिन्छन् । विदेशको एउटै फुटबल मैदानमा एकै समूहका ११ खेलाडीले चट्याङका कारण ज्यान गुमाउनुपरेको उदाहरण दिँदै उनले सावधानी अपनाउनु चट्याङबाट बच्ने उत्तम उपाय भएको बताए । अधिकारीका अनुसार चट्याङ परेको बेला घर बाहिर हुँदा खुला ठाउँमा टाउको र खुट्टा जोडेर गोलो परेर बस्नुपर्छ । रुखको नजिक नबस्न, बिजुली र फोनको पोल, अग्ला भवन नजिक बस्दा पनि खतरा हुनसक्ने अधिकारीले बताए । चट्याङ परेको बेला विद्युतीय सामग्री प्लगमा जोड्नु हुँदैन । ल्याण्डलाइन फोनमा कुरा पनि गर्नु हुँदैन । तर मोबाइल फोन भने चलाउन सकिन्छ । गाडीमा रहेमा सिसा लगाएर बस्नु पर्छ । धातुका गाडी सुरक्षित हुने भए पनि प्लाष्टिकका गाडी असुरक्षित हुने विज्ञको भनाइ छ ।

चट्याङ परेको बेला खेतमा पानीमा काम गर्न र पौडी खेल्न हुँदैन । घरभित्र बस्दा झ्याल र भित्ता नजिक बस्नु हुँदैन । धाराका पानीमा करेन्ट आउनसक्ने भएकाले यस्तो बेला धाराको प्रयोग पनि गर्नु हुँदैन । चट्याङ प्राकृतिक प्रक्रिया हो । अहिले मात्र होइन, मानव जाति अथवा जीवजन्तुको पृथ्वीमा अस्तित्व हुनुभन्दा अगावै चट्याङ पर्ने गरेको विज्ञहरुको भनाइ छ । इञ्जिनीयरिङ विषय अध्ययन गर्दै गरेका विद्यार्थीलाई पढाउँदै आएका शर्मा पृथ्वी र वायुमण्डलमा आउने सूर्यका विभिन्न किरणले पृथ्वी वा वायुमण्डलमा विद्युतीय चार्ज उत्पन्न गराउँदा चट्याङ पर्ने बताउँछन् । यसरी उत्पन्न विद्युतीय चार्ज असन्तुलित बन्दा त्यो असन्तुलनलाई सन्तुलनमा ल्याउनका लागि चट्याङ पर्ने उनको भनाई छ ।

Comments

comments