रसुवा, नौकुण्ड गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई र वार्षिक समीक्षा सम्पन्न गरेको हो ।
ग्रामीण बस्ती तथा वडादेखि गाउँपालिकासम्मको मोटरबाटो, पक्की पुल निर्माण भएपछि स्थानीयमा अझै विकास तथा राहत हुनेमा स्थानीय जनताले अपेक्षा राखेको प्रमुख प्रशासकीय अधिकृत नेत्रराज गिरीले जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिर्जना लामाले सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका जवाफमा गुनासा प्रतिक्रिया र सुझावहरुलाई सम्बोधन गाउँपालिकाको योजना तथा कार्यक्रमहरुलाई चुस्त दुरुस्त रुपमा संचालन गर्नको लागि अनुगमन योजना निर्माण गरी कार्यान्वयन गर्ने, प्रतिवद्धता ब्यक्त गर्नुभयाे । लक्षित वर्गको लागि विनियोजन गरिएको रकम लक्षित वर्गमा नै खर्च गर्ने उहाँले बताउनुभयाे ।
कार्यक्रममा सहभागीहरुले योजना अनुगमन, फोहर व्यवस्थापन, खानेपानी, भूकम्प निजी अावास निर्माणमा देखिएका समस्या, सडक, बाटो, कृषि, स्वास्थ्य, शिक्षा, गाउँपालिकाको भवन न्यायिक समितिकोलगायतका विभिन्न विषयमा प्रश्नहरु राखेका थिए । गाउँपालिकाबासीहरुको प्रश्नमा प्रदेश सदस्य प्रभात तामाङ, गाउँपालिका अध्यक्ष नुर्पुसाङबाे घले, उपाध्यक्ष सिर्जना लामा, प्रमुख प्रशासकीय अधिकृत नेत्रराज गिरी विषयत शाखाका प्रमुख, वडा अध्यक्षहरुलगायतले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रमकाबाट जन गुनासाहरु सुन्नु, जनताको समस्यामा छलफल गर्नु, चौमासिक अवधिमा गरिएका कामहरुको मूल्यांकन गर्नु, आगामी दिनहरूमा गाउँपालिकाले र वडाले सुधार गर्नुपर्ने क्षेत्रहरुको पहिचान र सुझाव प्राप्त गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको गाउँपालिका अध्यक्ष नुर्पुसाङबाे घलेले बताउँनुभयो । कार्यक्रममा आर्थिक वर्ष २०७६/०७७ मा भएका काम र योजना सहितको हालसम्म उपभोक्ता समितिमार्फत १ सय २७ योजना मध्ये १ सय २५ वटा सम्पन्न भएको जसमा ५ करोड ८९ लाख ३५ हजार ३ सय २८ रूपियाँ विनियोजित बजेटवाट भुक्तानी भएकाे र कोभिड- १९ त्रास बीच ९५ प्रतिशत योजना सम्पन्न आयोजनाहरुको बारेमा प्रशासन तथा योजना अधिकृत विष्णुकुमार अधिकारीले प्रतिवेदन प्रस्तुत गर्नुभयाे ।
कार्यक्रममा प्रमुख अतिथी एवं बागमति प्रदेश सभासद प्रभात तामाङले गरेको सार्वजनिक सुनुवाई कार्यक्रम अति नै महत्वपूर्ण रहेको बताउनुभयो । गाउँपालिका भित्रका योजनालाई के कसरी सम्पन्न गरिएको छ ? कति बजेट खर्च भएको छ ? भन्ने विषयमा सवै नागरिकले थाहा पाउनु अधिकारको कुरा भएकाले गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेकाे जानकारी दिनुभयाे ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष घलेले गाउँपालिकाले विकासका कामलाई तिव्रता दिईरहेको र स्थानीय तहको निर्वाचन भएको चार वर्ष हुन लागेकाे बताउँदै उहाँले आगामी दिनमा समेत धेरै काम गर्न बाँकी रहेको बताउँनुभयो । नागरिकका विभिन्न गुनासाहरूलाई सम्बोधन गर्दै उहाँले कार्यक्रममा उठेका हरेक विषयमा आफुहरु छलफल गरेर अगाडी बढ्ने र ति समस्याहरुलाई समाधान गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । पछिल्लो समय गाउँपालिकाको भवन निर्माणको विषयमा निकै चर्चा भएकाे प्रति गाउँपालिकाको भवन सहमतिको बनेको दावी गर्नुभयो।