नियात्राकार पराजुलीको “श्वेत पर्वत” लोकार्पित

Bhudipuran 2

काठमाण्डाै ,  नियात्राकार विष्णुप्रसाद शर्मा पराजुलीको खोजमुलक नयाँ नियात्रा कृति ‘श्वेत पर्वत’ माघ १ गतेदेखि बजारमा आएको छ । नेपाल प्रज्ञा पतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले एक समारोहबीच ‘श्वेत पर्वत’को लोकार्पण गरे ।

प्रमुख अतिथि गुरुङले पुस्तकमा उठाइएका सन्दर्भलाई जोडदै मानव सभ्यताको प्रारम्भ हिमाली क्षेत्रमा भएको कुरामा दुईमत नभएको भन्ने धारणा राखे । योगी नरहरिनाथको ‘शिखरिणी’ जनकलाल शर्माको कौतुकमय डोल्पो र हर्क गुरुङको ‘मैले देखेको नेपाल’ जस्ता कृतिले पनि त्यस क्षेत्रको जनजीवन र संस्कृति बारे उल्लेख गरेको कुरा उनले स्मरण गरे । काली गण्डकी क्षेत्र परापूर्वकालदेखि व्यापारिक र धार्मिक मार्ग रहेको क्षेत्र हो भन्दै कालीगण्डकी उपत्यका दामोदर कुण्ड, मुक्ति क्षेत्र, रुरुक्षेत्र, हरिहर क्षेत्र, कागवेनी, म्याग्दीबेनी, मोदीवेनी, सेतीबेनी जस्ता तीर्थस्थल भएको क्षेत्र हो भने । उनका अनुसार यहाँ पाईने शालीग्रामको धार्मिक र भौगर्भिक महत्व रहेको छ । लेखक पराजुलीले मनाङ , मुस्तङकाे  नार, फू, यारा, ताङ्गयालागयत देशका विकट क्षेत्रकाे यात्रा गरी यस नयाँ नियात्रा कृति प्रकाशन गरेका हुन् । Bhudipuran 2

‘श्वेत पर्वत’मा गण्डकी क्षेत्रको विविध आयामवारे चर्चा गर्दै लेखकले प्राचीन मानव सभ्यता, त्यहाँको धर्म, संस्कृति, भुगोल बारे चर्चा गर्दै लोपोन्मुख अवस्थामा रहेका मठ, मन्दिर, विहार, गुम्बाको संरक्षणका लागि पनि सुझाव दिएका छन्, लेखकले गर्ने त्यतिनै हो भने । विदेशी लेखकले केही प्राचीन ग्रन्थ अवैध रूपमा युरोप पु¥याएको पराजुलीले उल्लेख गरे तापनि विदेशी लेखकले नेपाललाई केही दिएर गएका छन् भने । उनले थप्दै भने ‘ पराजुलीले ओझेलमा परेका सांस्कृतिक विषयलाई उठाएका छन् । त्यो राम्रो पक्ष हो । देशले संस्कृतिमाथि उभिएर राजनीति गर्नु पर्नेमा ठीक उल्टो राजनीतिको पछाडि संस्कृति कुदेको छ । त्यो गलत हो ।’ पराजुलीको श्वेत पर्वत गण्डकी प्रदेशको लागि मार्गदर्शन बन्न सक्ने भन्दै उनले लेखकलाई त्यस्तो कृति दिएकोमा बधाई समेत दिए ।

पुस्तकको बारेमा बोल्दै अर्का वक्ता प्रा. रामकृष्ण रेग्मीले पुस्तकबाट ज्ञान हस्तान्तरण हुने बताए । पराजुलीको पुस्तकमा यात्राका अनुभव मात्र होइन दुई–तीन पृष्ठ मात्र पढ्यौँ भने पनि त्यो क्षेत्रमा कस्तो सभ्यता र संस्कृति, कुन जातिको बसोबास छ र त्यहाँ के खेति हुन्छ, कस्तो रहनसहन र कस्तो प्रकृति रहेछ भन्ने थाह पाईन्छ भने । ‘श्वेत पर्वतमा ज्ञानको अलवा कौतुहलता, प्रादेशिक अवस्था, प्राकृतिक स्रोत, जीर्णावस्थामा रहेका चोर्तेन एवम् गुम्बा र संरक्षणका लागि गर्नुपर्ने कार्य बारे विवरणात्मक जानकारी छ । यसमा सांस्कृतिक पक्ष र हिमाली सभ्यता मात्र होइन हाम्रो भाकलको प्रचलन, बरदान पाइने आशामा बाँचेको गाउँले जीवन, उचाइमा उकालो चढदा हुने दुःख, समस्या र अपनाउनु पर्ने होसियारीका बारे पनि मिहिनसाथ लेखिएको बारे रेग्मीले जानकारी दिए । उनले सो पुस्तकलाई कोर्स बुकको रुपमा पनि राख्न सकिने धारणा राख्दै युवाहरूले पढनै पर्ने र पढने आदत् बसाल्दै ज्ञान आर्जन गर्न सुझाव दिए ।

Bhudipuran 1

कृतिमाथि चर्चा गर्दै रेग्मीले पुस्तकमा कतै ऊन र नुनको कुरा छ भने कतै प्रकृतिपूजा, बोन , बौद्ध, शाक्त, शैव एवम् हिन्दु धर्म, दर्शन, संस्कार र संस्कृतिका कुरा रहेका छन् त्यसैले विष्णुजीको यो पुस्तक यस क्षेत्रको सङ्ग्रहनीय ग्रन्थ हो भने । प्रकृति पूजाका कुरा गर्दा लेखकले मौसम परिवर्तनको कुरा, डोजरले पुराना पदमार्ग भत्काएको कुरा गरेर सरकारी निकायलाई पुरातात्विक सम्पदाको संरक्षण गर्न सचेत पार्न विर्सेका छैनन् । लेखक चिन्ता मात्र व्यक्त गरेर चुप बस्दैनन् उनी सुझाव दिन पनि पछि पर्दैनन् । जोमसोमबाट तिलिचो तालसम्म डोजरले उधिन्दा त्यसबाट हुने क्षति, त्यसले पार्ने प्रभावलाई ध्यानमा राखि त्यसो गर्नु भन्दा लेखकले केवलकारको विकल्प दिएको बारे रेग्मीले चर्चा गरे । पुस्तक अनुसन्धानात्मक कृति हो भन्ने कुरा लेखकले उल्लेख गरेको स्रोतबाट थाह हुन्छ । पुस्तक पठनीय छ र सङ्ग्रहनीय छ भन्दै यो पुस्तकलाई गण्डकी प्रदेशले स्रोतको रुपमा लिँदा राम्रो हुने भन्दै रेग्मीले लेखकलाई शुभकामना दिए ।

त्यसरी नै सो समारोहका अर्का वक्ता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव जगत उपाध्यायले ‘पराजुलीले जागिर नै परित्याग गरी नेपालको विकट हिमाली क्षेत्रको साहसिक पदयात्रा गरी हिमालयको दक्षिण र हिमालयभन्दा उत्तरमा रहेका हिमाल, हिमाली गाउँ, हिमाली उपत्यका, वन, वनस्पति, जीवजन्तु, जनजीवन, धर्म, दर्शन र परम्परा बारे अनुसन्धानात्मक खोज गर्दै लेखेको कृति हो–श्वेत पर्वत’ भने । उपाध्यायका अनुसार पुस्तकमा लेखकले देखेको कुरा मात्र उल्लेख नगरी सन्दर्भ सामग्री समेत अध्ययन गरी खोज तथा उत्खनन् गरी प्रस्तुत गरेका छन् भने ।

उपाध्यायका अनुसार अनुसार ‘ पुस्तकमा हिमालय क्षेत्रको वैदिककालको वर्णन छ, त्यसको ठाउँ– ठाँउमा उद्धरण छ, ३२८ पृष्ठ बाहेक ३२ पृष्ठमा रङ्गिन आकर्षक तस्वीर छन् जसले प्राकृतिक, सांस्कृतिक एवम् धार्मिक महत्व बोकेका छन् । यस नियात्रामा नियात्रा लेखनको परम्परामा नविनतम प्रबृत्ति छ, यो नविन पक्ष हो । विषय चयन, नियात्रात्मक निवन्ध लेखन शैली र अनुसन्धानात्मक भएको कारण यो कृति पुरस्कृत लायक छ । पुस्तकमा अलग–अलग विषयमा उनिएका विषयहरू पाठ्यक्रममा राख्न लायक पनि छन् ।’ वैदिक सभ्यताभन्दा पहिलेको सभ्यतालाई मात्र उनले उठाएनन । उनले विषयलाई उठाउदा अनुसन्धानलाई आधार बनाए । अनुसन्धानलाई आधार बनाउँदा बनाउँदै पनि साहित्यिक आलङ्कारिक ढङ्गमा पनि नयाँ स्वाद दिन लेखक पछि परेका छैनन् भन्दै उपाध्यायले लेखकको लेखाइ अझ परिस्कृत र प्राञ्जल हुँदै जावस् भन्ने शुभकामना समेत दिए । लोकार्पण समारोहमा कथाकार श्रीरामसिंह वस्नेतले पराजुलीले कसैको सहयोग विना आफ्नै चाहना, सोख र खर्चमा उच्च हिमाली क्षेत्रको यात्रा गरेको र यात्रामा गरेका अनुभवलाई स्रोत सामग्रीको समेत प्रयोग गरी अनुसन्धानमुलक कृति पाठक सामु ल्याएको भने । बस्नेतले पराजुलीले खुट्टाले यात्रा गर्दै हातले नियात्रा कृति सिर्जना गरेर नेपाली नियात्रा साहित्यमा ठूलो योगदान गरेको भन्दै सो कार्यक्रममा सबैलाई स्वागत गरे ।

Bhudipuran 2

सो समारोहमा लेखक पराजुलीले आफुले हिमाली संस्कृति वैदिक संस्कृतिभन्दा पुरानो भएको , त्यहाँ रहेका माने, गुम्बा, भित्ते चित्र, जीवन शैलीमा अति प्राचीन प्रकृतिपूजाको संस्कृति र त्यससँग सम्बन्धित परम्परा रहेको हुनाले त्यसबारे खोजको लागि आब्हान गरेको कुरा उल्लेख गरे । उनले बुद्धको जन्म हुनुभन्दा पहिले कम्तिमा ७ हजार वर्ष पहिलेको हिमाली क्षेत्रमा भएको मानव सभ्यतालाई बुद्धको जन्मकालमा जोड्न सके नेपालको इतिहास दश हजार वर्ष पुरानो भएको भन्न आधार मिल्ने थियो र त्यसका प्रसस्त सङ्केत त्यस क्षेत्रमा देखिएको र त्यसका सन्दर्भ पुस्तकमा उल्लेख गरिएको जानकारी उनले दिए । उनले सम्पूर्ण पाठक वर्गलाई पुस्तक पढेर सुझाव दिन पनि आग्रह गरे । कार्यक्रमको सभापतित्व भुँडीपुराण प्रकाशनका केशव पराजुलीले गरेका थिए भने सञ्चालन साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीले गरेका थिए । साहित्यकार पराजुलीका अन्य नियात्रा कृतिहरूमा ‘तिब्बत यात्रा’ २०७२ र ‘डोल्पोः विश्वको जीवित सङ्ग्रहालय’ २०७४ मा प्रकाशित भइसकेका छन् ।

swat parwat book cover from book (2)