पार्टी एकतामा भएको ढिलाईले सांगठनिक शुन्यता : शाक्य

नेकपा बैठक कालिकास्थानकाे

रसुवा , असोज २५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा प्रदेश तीनका ईन्चार्ज अष्टलक्ष्मी शाक्यले केन्द्रमा पार्टी एकता भएको लामो समय बितिसक्दा पनि तल्ला कमिटीहरु एकता नहुँदा सांगठनिक शुन्यता पैदा भएको बताइन् ।

बिहिबार कालिकास्थानमा नेकपा रसुवाको कार्यालय उद्घाटन तथा प्रस्तावित जिल्ला सचिवालय बैठकलाई सम्बोधन गदै नेतृ शाक्यले सांगठनिक शुन्यताकै कारण सरकार विरुद्ध बिपक्षीले फैल्याएका भ्रम चिर्न नसकिएको दावी गरिन् ।

बैठकमा प्रशिक्षणात्मक सम्बोधन गर्दै नेकपा तीन नम्बर प्रदेशका सह–इन्चार्ज हितबहादुर तामाङले पार्टी एकताले स्थानीय स्तरसम्मै कार्यकर्ताहरुबीच हौसला प्रदान गरेको भए पनि एकता प्रक्रियाले पूर्णता पाउन नसक्दा केही अन्योलता सृजना हुनु स्वभाविक भएको बताए । सरकारको काम गराई अपेक्षाकृत हुन नसके पनि निराश हुनु र्ने अवस्था नरहेको भन्दै उनले सरकारले गरेका राम्रा काम जनतामाझ पुर्याउन र सरकार विरुद्ध फैलाएका भ्रम चिर्न आवश्यक रहेको बताए ।

नवगठित नेकपाभित्र वैचारिक एवम् सांगठनिक विषयमा कुनै विमति नभए पनि केही प्राविधिक कारणले एकता प्रकृया लम्बिएको जानकारी दिँदै कार्यकर्तालाई उच्च मनोवलका साथ कार्यक्षेत्रमा लाग्न अनुरोध समेत बैठक पछि पार्टी केन्द्रीय सदस्य माधब अर्यालले बताए ।

बैठकलाई नेकपा प्रदेश तीनका अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल र केन्द्रीय सदस्य माधव अर्यालले प्रशिक्षणात्मक सम्बोधन गरेका थिए । पार्टी एकता पछि जिल्लामा पहिलो पटक संयुक्त बैठक बसेको हो । बैठकले दशैँ लगतै गाउँपालिका र वडास्तरका सबै कमिटीहरू एकीकरण गर्ने गरी कार्ययोजना बनाएको नेकपा रसुवाका नेता माधव लामिछाने समिरले बताउनुभयो । नेकपा रसुवाले यस अघि नै जिल्ला कमिटीको सङ्ख्या र नामावली अनुमोदनको लागि प्रदेश कमिटीलाई बुझाइसकेको उहाँले बताए ।  शाक्यले बिहान नुवाकाेटमा पनि पार्टी कार्यालय उद्घाटन भएकाे थियाे ।

Comments

comments