पासाङल्हामु राजमार्गमा राती ११ बजेसम्म सवारी संचालन हुने

lnp
फागुन २४गते  रातीको समयमा अवरुद्ध हुँदै आएको पासाङल्हामु राजमार्गको सडकमा मंगलबार देखि सवारी आवत जावतमा तीन घण्टा समय बढाइएको छ ।
नेपाल र चिनबिच संचालनमा रहेको रसुवागढी नाकामा आवत जावत हुने कन्टेनरलाई मध्यनजर गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको रसुवा सडकखण्डमा मंगलबारदेखि दैनिक ३ घण्टा समय बढाईएको हो । लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार निकुञ्जको क्षेत्र भएकाले बिहान ६ बजेदेखि राती ९ बजेसम्म मात्र संचालन हुदै आएकोमा मंगलबार देखि बिहान ५ बजेदेखि राती ११ बजेसम्म सुचारु गरिएको हो । उनले भने यसअघि बिहान ६ देखि राति ९ बजेसम्म यातायात संचालन भईरहेको थियो भने सवारी चापलाई मध्यनजर राख्दै मंगलबारदेखि बिहान ५ देखि राति ११ बजेसम्म निर्वाध रुपमा सवारी संचालनका लागि समय बढाएका छौँ ।
नेपाल र चिनबिच संचालनमा रहेको एक मात्र नाका रसुवागढी नाकामा कन्टेनरको चाप बृद्धि भएसँगै टोकन प्रणाली गर्दै आएको भएता पनि रातको समयमा यातायात सञ्चालनमा रहेको कठिनाई मध्यनजर गरि दैनिक तीन घण्टा समय बढाउदा सहजता मिलेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए । उनले भने सरोकारवाला तथा स्थानीयवासीको पटक पटकको आग्रह र रसुवागढी नाका सञ्चालनपछि बढेको सवारी चापलाई ध्यान दिएर अब दैनिक १८ घण्टा सडक सञ्चालन गरेका छौँ, यसले रातको समयमा यातायात संचालनमा सहज हुने बिश्वास लिएका छौँ ।
यसअघि निकुञ्जले सुरक्षाको कारण देखाउँदै सो सडकखण्ड राती ९ बजेदेखि बिहान ६ बजेसम्म अवरुद्ध गर्दै आएको थियो । हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ को नियम १८ अनुसार बाटोको सुविधाको हकमा संरक्षणको तजबिजको अधिकार प्रयोग गरी दैनिक १५ घण्टा सञ्चालनमा गरिएको थियो ।
पछिल्लो समय निकुञ्ज सुरक्षाको लागी परिचालन भएका सेनाको चेकजाँच झण्झटिलो र कष्टपूर्ण रहेको सवारी चालक तथा यात्रुहरुले गुनासो गर्दै आएका छन् । पासाङल्हामु यातायात सेवा समितिका ईञ्जार्च हरीप्रसाद न्यौपानेले भने  “द्धन्द्धको समयमा जस्तो गाडीमा रहेका सामान र यात्रुहरुको जाँच हुने गरेको छ, निकुञ्ज सुरक्षाको लागी यात्रु र यातायात व्यवसायीलाई झण्झटिलो बनाउनबाट निकुञ्जले बिकल्प खोज्न ध्यान दिनुपर्छ, रातीको समयमा सडक आवतजावतमा रोक लगाउदा  बिरामी पर्दा अथवा अन्य कुनै समस्या पर्दा हामि जान सकिरहेका छैनौउ अब रातीको समयमा पनि सवारी निर्वाध रुपमा आवतजावत गर्न पाउने भन्ने सुनेका छौँ यसले चाहि केहि सहज हुन्छकि,   पासाङल्यामु मार्गको रसुवा सडक खण्डको अधिकांश क्षेत्र निकुञ्ज तथा निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गरेको छ ।
रसुवाको वेत्रावतीदेखि रसुवागढी पुग्न निकुञ्ज सुरक्षार्थ स्थापना भएका आठ ओटा सुरक्षा पोष्ट पार गर्नुपर्ने छ ।  यस्तै अवरुद्ध बाटो संचालनको माग गर्दै फागुन १८ गते रसुवाका एक प्रतिनिधि मण्डलले वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीलाई निर्वाध रुपमा सवारी संचालन गर्न ज्ञापन पत्र बुझाएको थियो । ज्ञापनपत्र बुझ्दै मन्त्री भण्डारीले राष्ट्रिय निकुञ्जका डिजीलाई तत्काल सम्पर्क गरेर रातको समयमा अवरुद्ध सडक सुचारु गरी २४ घण्टाभित्र प्रगति विवरण पेश गर्न निर्देशन दिएका थिए ।

Comments

comments