पुन:निर्माण पछिकाे गाउँघर कस्ताे हाेला ?

phurpa Tamang 2012

फुर्पा तमाङ

तत्कालका लागि भूकम्पबाट ज्यान जाेगिनु नै हामी सबैका लागि सबैभन्दा ठूलाे कुरा थियाे र  हाे पनि।त्याे विनाशकारी भूकम्प गएकाे वैशाख १२ गतेकाे दिन र त्यसपछिका प्रत्येक पराकम्पनहरुमा हामी सबैले यही महशुष गर्याैं। अझै पनि हामी धेरैलाई भूकम्पकाे डर छ।ढुक्कले कुनै पनि अग्ला घर-भवनहरुभित्र पस्न सकिरहेकाे छैन।घर भत्किन्छ कि? अाफू मरिन्छ कि? भन्ने डरले।

भूकम्पले गरेकाे मानवीय क्षतिकाे केही गरे पनि परिपुरण गर्न सकिन्न।तर क्षति भएका भाैतिक संरचनाहरु पुनःनिर्माण गरिँदा पुनर्जिवित हुन सक्छ कि सक्दैन? चिन्ता यही हाे।किनभने भूकम्पले हाम्रा पुराना धर्म, संस्कृति, जातजाति र समुदायकाे परिचय-पहिचान दिने मठ, मन्दिर, गुम्बा, क्षाेर्तेन, मस्जिद, कला, वास्तुकला, पुरातात्विक धराेहरहरु भत्किएका छन्। पुन:निर्माण पश्चात् भूकम्प प्रतिराेधात्मक संरचनाहरु त ठडिएलान् तर ती संरचनाहरुले बिगतकाे गाउँघर झैं दुरुस्त झल्किने भएनन् भने के गर्ने ?

उदाहरणकाे लागि कुनै व्यक्तिको दुर्घटनाबाट उसकाे शरीरमा  भएकाे घाउचाेटलाई निकाे पार्न सर्जरी गर्दा त्यसपश्चात त्याे व्यक्तिको अनुहार, रुप, रङ्ग सबै परिवर्तन भएकाे देखियाे भने उसलाई सहज तरिकाले कसरी चिन्ने? पुन:निर्माण त्यस्ताे भयाे भने के गर्ने? बलियाे तर हाम्रा पहिचान र संस्कृति लाेप गराउने डिजाइनका संरचनाहरु ठडियाे भने के गर्ने ?

भूकम्पले १४ वटा जिल्लामा ठूलाे क्षति पुगेका छन्।रसुवा जिल्लाकाे मात्रै ९८ प्रतिशत भाैतिक संरचनाहरु ध्वस्त भएकाे सरकारी तथ्यांक छ।रसुवाकै कुरा गर्दा ८५ प्रतिशत अादिवासी जनजाति छन्।झण्डै ७० प्रतिशत तमाङ अादिवासी जनजाति रहेकाे छ।जुनै गाउँघर प्रवेश गर्दा कुनै जातजाति र समुदायकाे भाषा, भेषभूषा, गाना-बजाना, पेशाकाे साथै घर बनाेटकाे संस्कृति छ। घरकाे बाहिरी भागकाे बनाेट र घरभित्रकाे साजसज्जा पनि पहिचान नै हाे।त्यसमा कुनै जाति र समुदायकाे पहिचान झल्किने वास्तुकला, धर्म-संस्कृति र इतिहास लुकेकाे हुन्छ।

रसुवाका तल्लाे भेकका गाउँघरले हिन्दु धर्म-संस्कृतिकाे पहिचान र माथिल्लाे भेककाे गाउँघरले बाैद्द धर्म-संस्कृति र तमाङ जातिकाे पहिचान बारे जानकारी दिइरहेकाे हुन्छ।के अब बन्ने घरहरुले हाम्रा उपराेक्त पहिचानहरु सुरक्षित गर्लान् ? घरकाे बलियाेपनसंग कुनै हालतमा संझाैता गर्न सकिन्न।अबकाे घर भूकम्पीय जाेखिमबाट मुक्त हुनैपर्छ। तामाङ जातिकाे माैलिक संस्कृतिकाे थलाे भनेर चिनिने रसुवाका तमाङ जातिका घरहरु सबै भत्किएका छन्।ढुंगा र काठकाे कलात्मक बुट्टे घरहरु अब बन्छ कि बन्दैन? यसअघि घरहरु माटाले जाेडेर बनाइएकाे  थियाे।यसलाई सामग्रीकाे खराबी भन्न सकिन्छ ।डिजाइन नै खराब थियाे वा थिएन? त्यसकाे उत्तर अहिलेसम्म अाएकाे छैन।

पर्यटकीय गन्तव्यकाे दृष्टिकोणले समेत रसुवा जिल्लाकाे पुन:निर्माण गरिनुपर्छ।लाङटाङ पदमार्गमा अाउने विदेशी र स्वदेशी पर्यटकहरुलाई रसुवाकाे तमाङ संस्कृतिले थप अाकर्षण गराएकाे विदितै छ। तमाङ सम्पदा पदमार्ग नामाकरण गरि पर्यटन गतिविधि संचालनमा अाइसकेकाे यस जिल्लामा पुन:निर्माण पश्चातकाे गाउँघर फेरि पनि  तमाङ गाउँ जस्ताे नै देखिनु पर्छ।यसबारे पुन:निर्माण कार्य थाल्नु अघि सराेकारवाला, सम्बन्धित निकाय र स्थानीय कला-संस्कृतिका जानकारहरु बसेर छलफल गरि निष्कर्षमा पुग्नुपर्छ । पुन:निर्माण काम त्यसै पनि ढिला भएकाे छ। असल र दिगाे कामकाे लागि केही महिना ढिलाइ भए पनि यसतर्फ राम्ररी साेचेर काम गर्नु जरुरी छ।
२०७३.५.२३

Comments

comments