पुनर्निर्माणकाे काम पारदर्शी हुनु पर्छ :ट्रान्सपरेन्सी

भूकम्प गएको पाँच वर्ष बित्यो । जिल्लामा ढलेका संरचनाहरू निर्माणको अन्तिम चरणमा पुगिसकेको छ । पूर्ण रूपमा क्षति भएका मध्ये सदरमुकाममा रहेका सरकारी कार्यालय भवनको निर्माण सकिएको छ । त्यसैगरी जिल्लाका पाँचवटै गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाको भवन निर्माण पनि सकिएको छ ।

निजी आवास पुनर्निर्माणको काम पनि अन्तिम चरणमा पुगिसकेको छ । निजी आवास पुनर्निर्माणमा गैरसरकारी संस्थाले पनि उतिकै सहयोग पु¥याएका छन् । तर अधिकांस गैरसरकारी संस्थाको काम पारदर्शी देँखिदैन । जिल्लामा सुरुमा आएका गैरसरकारी संस्थाले कति काम गरे, कति खर्च भयो र यसको प्रतिफल के भयो भन्ने बारेमा जिल्लामा जानकारी छैन ।

यसै विषयमा धेरै विषयवस्तु आउन थालेपछि केही महिनाअघि ट्रान्सपरेन्सी इन्टरनेशनलले एउटा कार्यक्रमको आयोजना ग¥यो । जसले यसको एउटा निकास निकालेको छ । पुनर्निर्माणमा काम गर्ने गैरसरकारी संस्था, सरकारी निकाय तथा स्थानीय तहले यसमा सहयोग पु¥याउने प्रतिवद्धता समेत व्यक्त गरे ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जिल्लामा काम गर्ने सबै गैरसरकारी संस्थाले पारदर्शी रूपमा काम गर्नुपर्ने बताए । ‘जिल्लामा काम गर्ने सरकारी निकाय तथा गैरसरकारी संस्थाले पारदर्शी रूपमा काम गर्न पर्छ’, उनले भने, यसका लागि सम्बन्धित निकायले अनुगमन पनि गर्न जरुरी छ ।’

पाँच वर्ष अघि आएको भूकम्पले जिल्लामा निजी, सरकारी, ऐतिहासिक, धार्मिक स्थलमा क्षति पु¥याएको थियो । यी संरचना निर्माणका लागि गैरसरकारी संस्थाको भूमिका पनि महत्वपूर्ण छ । केही संस्थाले पारदर्शी रूपमा काम गरेका देखिन्छन् । भूकम्पपछि जिल्लामा निजी आवास पुनर्निर्माणमा सहयोग गर्ने विभीन्न गैरसरकारी संस्थाहरू देखिए । विशेषगरी दलित समुदाय, एकल महिला, गरिब, निमुखा र कम आयस्तर भएका नागरिकहरूको घर बनाउनमा संस्थाहरुको योगदान रह्यो । तर पनि लक्ष्य गरिएअनुसार सतप्रतिशत पुनर्निर्माण हुन नसकेको र कतिपय स्थानमा समेट्नुपर्ने नागरिकलाई नसमेटिएको गुनासो पनि आयो ।

नागरिकले परियोजनाहरूले डिजाईन गरेअनुसारको वा पूर्वनिर्धारित उद्देश्यअनुरूप काम गर्न नपाएको र स्थानीय तहसँग मिलेर काम गरिरहँदा कहिलेकाही कार्यक्रमको मोडल एकखालको हुने र स्थानीय तहको अनुरोध अर्कै थरी हुँदा सङ्ख्यात्मक तथा गुणात्मक हिसावले त्यती प्रभाबकारी नहुने समस्या झेल्नु परेको बताउँदै आएका छन् । ट्रान्परेन्सी इन्टरनेशनल नेपाल नेपालले जिल्ला प्रशासन कार्यालय रसुवाको समन्वयमा गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ, गाउँपालिकाका ६ का वडाअध्यक्ष, तथा पुननिर्माणमा काम गरिरहेका सरकारी कार्यालय र गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि आएका थिए ।

जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रसुवाका सूचना अधिकारी सूर्यबहादुर थोक्राले ट्रान्सपरेन्सीले गरेको काम सकरात्मक भएको बताए । छलफलले गरेको निर्णय कार्यान्वयनको चरणमा रहेकाले यसले राम्रो प्रतिफल दिने उनको भनाइ छ । गैरसरकारी संस्था महासंघ रसुवाका सचिव प्रमोदकुमार तितुङले जिल्लामा पुनर्निर्माणमा गैरसरकारी संस्थाको भूमिका प्रभावकारी भएको बताए । उनले जिल्लामा पुनर्निर्माणको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाको पारदर्शिता बारे ट्रान्सपरेन्सीले गरेको काम प्रभावकारी भएको जानकारी दिए ।

यसले जिल्लाको पछिल्लो पुनर्निर्माणको प्रगति, अवस्था चुनौति र समस्या बारे छलफल भएको थियो । जसमा भुकम्पपछिको पुनर्निर्माणमा भएका गैह्सरकारी संस्थाहरूको काम बारे प्रश्न उठेको थियो । यस छलफलपश्चात पुनर्निर्माणमा काम गर्ने गैरसरकारी संस्थाहरूले आगामी कार्यक्रम गर्दा कुनैपनि आयोजनाको विषयमा सार्वजनिक सुनुवाई, आय/व्यय सार्वजनिक गर्ने र कार्य सम्पन्न पश्चात आयोजनाको विवरण सबैले देखिने गरि आयोजना स्थलमा राखिने प्रतिबद्धता जाहेर गरेका थिए । जिल्लामा गैरसरकारी संस्थाले १ हजार ४१ वटा घर बनाएका छन् ।

Comments

comments