प्रकृति र वन्यजन्तु संरक्षणलाई पाठ्यक्रममा समावेश गर्न प्रभावकारी हुने :विज्ञ

Neture

विष्णु बश्याल, उज्यालो । काठमाडौं मंसिर १९ – प्रकृति र वन्यजन्तु संरक्षणलाई पाठ्यक्रममा समावेश गर्न सकेमा वातावरण संरक्षण अभियान प्रभावकारी हुने विज्ञहरुले जनाएका छन् । प्रकृति र वन्यजन्तुका विषयलाई विद्यालय शिक्षासँग जोड्न सकिए संरक्षणमा प्रभावकारी नतिजा आउनेमा उनीहरुले जोड दिएका हुन् । मंगलबार केन्द्रीय चिडियाघर जाउलाखेल ललितपुरको संयोजनमा बेलायतको ड्वाइट स्कूलले नेपाली विद्यालयका विद्यार्थीसँग गरेको अन्तरक्रियामा सहभागी वक्ताले यस्तो धारणा राखेका हुन् ।

‘डिभलपिङ सस्टेनेबल इन्भारमेन्ट एण्ड कन्जरभेसन एजुकेसन’ विषयको अन्तरक्रियाका मुख्य वक्ता ड्वाइट स्कूल लन्डनका प्रमुख एलिसन कोबिनले वातावरण संरक्षणमा आफ्नो स्कूलले गरेका प्रगति विवरण सार्वजनिक गर्दै नेपालका विद्यार्थीसँग अनुभव साँट्न नेपाल आएको बताउनुभयो । उहाँले आफ्नो विद्यालयले नेपालका विद्यार्थीबाट पनि संरक्षण शिक्षाका विषयमा धेरै कुरा सिकेको बताउनुभयो ।

त्यस्तै बेलायतबाटै आउनुभएकी शिक्षाविद् अमिता सेनले ‘फ्रेन्ड्स आफ् जू’ अथार्त ‘चिडियाखानाका मित’ कार्यक्रमले सफलता पाउँदै गएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले सौर्य उर्जाको कसरी धेरै क्षेत्रमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा नेपालमा अर्को वर्ष कार्यक्रम राखिने  जानकारी दिनुभयो ।
चिडियाघरका वरिष्ठ क्युरेटर रचना शाहले ड्वाइट स्कूलसँग गएको जुलाईमा सुरु भएको यस कार्यक्रमलाई आउँदा दिनमा कसरी लैजाने भन्ने विषयमा पनि केन्द्रित रहेको बताउनुभयो । नेपालमा २० वर्ष अगाडि नै सुरु भएको ‘एफ ओ जेड’ कार्यक्रममा अहिलेसम्म काठमाडौं, ललितपुर र भक्तपुरका तीन सय स्कूल सहभागी रहेको बताउनुभयो । सहभागी हुन चाहने अन्य स्कूललाई पनि समावेश गर्र्दै लैजाने उहाँको भनाई छ ।

त्यस्तै वरिष्ठ संरक्षण शिक्षा सहायक रेनुका भन्डारीले ‘चिडियाखानाका मित’ कार्यक्रमले जैविक संरक्षणमा कमिलादेखि हात्तीको पनि उत्तिकै महत्व हुन्छ भन्ने कुरालाई विद्यार्थीमाझ बुझाउन सहयोग गरेको बताउनभयो ।

कार्यक्रममा काठमाडौं, ललितपुर तथा भक्तपुरका विभिन्न स्कूलका विद्यार्थीले वातावरण संरक्षणमा आफ्ना विद्यालयमा भएका कार्यक्रमबारे जानकारी दिएका थिए ।

Comments

comments