प्रजातन्त्र दिवस र शहिदका सपना

phurpa Tamang 2012

फुर्पा तामाङ
आज फागुन ७ गते प्रजातन्त्र दिवस।१०४ वर्षसम्म चलेको राणाहरुको निरंकुश शासनको अन्त्य भएको दिन।राजा र प्रजा मिलेर प्रजातन्त्रको जग हालेको दिन।यो घडीमा महान शहिदहरुलाई श्रद्धाञ्जली दिनै पर्छ।जसले प्रजातन्त्र ल्याउनको लागि ज्यानको बली दिए।सम्पूर्ण प्रजातान्त्रिक महान योद्दाहरुलाई सम्मान गर्नुपर्छ।उहाँहरुको अथक प्रयासले प्रजातन्त्रको स्थापना हुन सकेको हो।राजा त्रिभुवनलाई पनि नेपाली जनताले सम्झनु पर्छ।उहाँ जनताको विश्वासको मियो हुनुहुन्थ्यो।तात्कालीन नेपाली समाजको राजसंस्था प्रति जहिल्यै सकारात्मक दृष्टिकोण थियो।यसकारण राणाहरु विरुद्धको संघर्षमा राजा र प्रजा जहिल्यै संगसंगै रहेको पाइन्छ।

त्यस पश्चात भने सत्ताको लागि राजाहरु र जनताका प्रतिनिधिहरु बीच प्रजातन्त्रको नाममा संघर्षहरु भएको देखिन्छ।हाम्रा पूर्खाको बिरासत यो देश हो भन्ने दरबारको सोच र जनताको प्रतिनिधि भएकाले प्रजातन्त्रमा शासन हामीले चलाउन पाउनु पर्छ भन्ने दुई बेग्लाबेग्लै सोचका कारण ०१५ सालको निर्वाचन पछि विपि कोइराला र राजा महेन्द्रको टकरावले ०१७ सालको राजनीतिक घटना घटेको हो।०१७ देखि ०४६ साल सम्म राजा संस्थाको नेतृत्वमा निर्दलीय पंचायती व्यवस्थाको प्रजातन्त्र नामाकरण दिइयो।प्रजातन्त्रवादीहरुले एकफड्को मारेर बहुदलीय प्रजातन्त्रको वकालत गरेर ०४६ सालमा जनआन्दोलन मार्फत बहुदलीय व्यवस्थाको प्रजातन्त्रको पुनर्वहाली गरियो।

यो आन्दोलनले राजसंस्थालाई भन्दा बहुदलवादी नेताहरुलाई धेरै अधिकार प्राप्त भयो।दरबार र दलहरु अनि दलहरुबीच र दलभित्रका पनि नेताहरुबीच पद र नेतृत्वका लागि धेरै फोहोरी खेलहरु भए।राजा, दलहरु र नेताहरुबीच त्रिकोणात्मक ध्रुवीकरण बढ्न गयो।विदेशीहरुको चलखेल चल्यो।०४८ मा भएको प्रतिनिधि सभाको निर्वाचनलाई ०५१ मा विघटन गरि मध्यावधि निर्वाचनमा गयो।केही दल र नेताहरु मिलेर माओवादी पार्टीको नामबाट ०५२ सालमा भूमिगत भएर जनयुद्दमा लागे।तयसपछि बहुदलीय व्यवस्थाको सुनौला दिनहरु ओरालो तर्फ लाग्यो।देशमा जनधनको क्षति भयो।नेपालीबीच नै वैरी देख्न थाले।दरबार हत्याकाण्ड भयो।राजा वीरेन्द्रको वंश नाश भयो।राजा ज्ञानेन्द्र सत्तामा आए।०६२र०६३ सालमा अर्को आन्दोलन भयो।राजासंस्थालाई विस्थापित गरियो।राष्ट्र प्रमुख राष्ट्रपति हुने व्यवस्था लागू भयो।विद्रोही माओवादी शान्ति सम्झौतामा आए।०६४ सालमा संविधान सभाको चुनाव भयो।त्यो सभाले संविधान बनाउन सकेन।०६९ सालमा फेरि संविधान सभाको चुनाव भयो र ०७२ असोज ३ गते नेपालको संविधान जारी भयो।प्रजातन्त्रको लागि शुरु गरेको यात्रा बहुदल, लोकतन्त्र र गणतन्त्रसम्म पुग्यो।तर पनि जनताले यो शासन असल रहेछ भन्न सकेको छैन।

यो घडीसम्म आईपुग्दा देशमा धेरै परिवर्तन भएका छन्।तर पनि विकास कार्यमा निकै पछि परेको छ।जनताले दल र नेताहरुलाई उति विश्वास गर्न सकिरहेका छैनन्।न त राजसंस्थालाई नै स्वीकार्न सकेको छ।एकजना राजालाई हटाउँदा धेरै साना राजाहरु देखा पर्यो भनिदैछन्।यो अन्यौलता हट्न अझै केही वर्ष कुर्नै पर्छ।कम्तिमा हरेक दलमा आधा संख्यामा नेताहरु जनताको र देशको बारे सोच्ने नभए सम्म प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको फरक अनुभूति हुने छैन।कर्मचारीतन्त्रलाई राजनीतिबाट अलग गर्न सक्ने नेताहरु नजन्मिए देश गणतन्त्र र संघीयताको भडखालोमा जाक्ने निश्चित छ।

Comments

comments