प्रथम राष्ट्रिय स्की च्याम्पियनशिपको उपाधि शाहष र फुन्जुलाई

SKI Game
धुन्चे, रसुवा

शाहषराम श्रेष्ठ र फुन्जु लामाले प्रथम राष्ट्रिय स्की च्याम्पियनशिपको उपाधि जितेका छन् । रसुवाको लाङटाङस्थित क्यान्जिङ भ्यालीमा संचालन भएको अल्पाईन स्कीमा पुरुषतर्फ शाहष र महिलातर्फ फुन्जु च्याम्पियन बनेका हुन् । नेपाल स्की संघको आयोजना तथा मनोकामना केवल कारको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिताको अल्पाईन स्कीको पुरुषतर्फ नाम्चेका छिरिङ शेर्पा दोश्रो तथा फपिङका रवि बलामी तेश्रो भएका थिए ।

त्यस्तै महिलातर्फ फपिङकी अनिषा कर्मचार्य दोश्रो तथा ककनीकी संगिता लामा तेश्रो भईन् । समापन समारोहका प्रमुख अतिथि नेपाल सरकारका पर्यटन मन्त्री आनन्द पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्ट, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले खेलाडीहरुलाई पुरस्कृत गरे ।

समापन सहारोहमा मन्त्री पोखरेलले खेलकुद र पर्यटन एक अर्काका परिपुरक भएकाले सँगसँगै अगाडि बढाउन सकिने धारण ब्यक्त गरे । उनले बैशाख १२ गतेको महा भुकम्पको चपेडामा परि स्वदेशी–बिदेशी गरि १ सय ७५ नागरिकको मृत्य भएको हुदा लाङटाङ क्षेत्रलाई अन्तर्राष्ट्रिय भुकम्प स्मृति पार्क बनाउने घोषणा समेत गरे ।

समापनकै अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टले पर्यटकलाई तान्ने मुख्य माध्यम स्की खेल बन्न सक्ने बताए ।

नेपाल स्की संघका अध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले क्यान्जिङ भ्याली स्की खेलको स्थायी गन्तब्य बनाउने अभियानमा संघ लागि परेको बताए ।

Comments

comments