प्रेरणका स्रोत आमा बुबा

Deepa Ta

दिपा तामाङ

मेरो आमा बुबा परमेश्वरको अमूल्य उपहार हुनुहुन्छ । मेरो आमाबुबाको संघर्ष म आफैलाई अचम्म लाग्छ कि कसरी सामना गर्नुभयो होला भनेर । मेरो हजुरबुबा बुबा हजुरआमाको गर्भमै हुनुहुदाँ गाउँबाटै भाग्नुभयो । बुबाको बाल्यकालको केही दिनहरू सुख दु:खसाथ टालिएको थोत्रो र पुरानो एक जोर लुगा लगाई, एक गाँस ढिंडो खाई कहिले आमाको काखमा लुटुपुटु खेलेर त कहिले धूलोमा खेलेर खुशी साथ नै बित्यो तर विडम्वना उहाँ ९ वर्षको हुँदा हजुरआमाले उहाँलाई छोडेर दोस्रो बिबाह गर्नुभयो । त्यसपछि उहाँ २४ वर्षको उमेरसम्म बुबाको दाईसँग बस्नुभयो । बुबाको साहारा उहाँ नै हुनुहुन्थ्यो तर उहाँ यो संसारबाट विदा हुनुभएपछि बुबा पीडाको सागरमा डुब्नुभयो । बाँच्नको लागि भोजन बस्नलाई बास नभएको अवस्थामा सन्त्वना दिई ल तिमी चिन्ता नलिऊ,जो गर्नुपर्छ म गर्छु मसँग बस आऊभनेर आशा गाउँको सभापतिले देखाउनुभएकोले बुबा उहाँको घरमा बस्नुभयो ।

उहाँले त्यहाँ १९ महिना बढो कष्टसाथ त्यहाँ जीवन विताउनुभयो । अर्काको घरमा बस्नुको पीडा सहन नसकेर उहाँ त्यहाँबाट निस्कनुभयो । कामको शिलशिलामा उहाँ कालीगण्डकी हाइड्रोपावरमा जानुभयो । “अभागी खप्पर जहाँ गएपनि ठक्कर भने झैँ” त्यहाँ उहाँलगायत सबैले आफ्नो कामको ज्याला पाउनुभएन । धोती न टोपी भएर फर्कनुभएपछि अब ऋण नै ओछ्याउने ऋण नै खाने यो स्वार्थी समाजलाई केही गरेर देखाउँछु भन्ने हिम्मत लिई ऋण लिएर पर्म गरेर बिस्तारै एउटा घर बनाउँनुभयो ।

मेरी आमा वि.सं.२०३६ वैशाख १५गते जन्मनुभएको थियो । मेरी आमा १२औं सन्तान हुनुहुन्थ्यो । गरिबीको कारण उहाँ १० वर्षको कलिलै उमेरमा काठमाण्डौंको गलैचा कम्पनीमा काम गर्न सुरु गर्नुभयो । त्यहाँ कहिले आधा पाकेको आधा नपाकेको खाना खानुपथ्र्यो त कहिले खाना नपाएर गिटी कुटेर खानुहुन्थ्यो भने चिसो सिमेन्टको भुइमा तन्ना मात्र ओछ्याएर सुत्नुहुन्थ्यो । यसरी दु:ख पीडा सहेर १४ वर्षसम्म काम गर्नुभयो । त्यसपछि बिरामी हुनुभएर गाउँ फर्कनुभएको १ वर्षपछि १५ वर्षको कलिलो उमेरमा वि.सं.२०५१ सालमा ३३ वर्षको उमेरको मेरो बुबासँग उहाँको जोडी जम्यो । साँच्चै परमेश्वरले नै एक गर्नुभएको जोडीलाई कुनै कुराले अलग गर्न सक्दैन त्यसैले चरम दुस्ख पीडाको अवस्थामा पनि एक अर्काको साथ दिदै जिन्दगीका पलहरू बिताउँनुभयो ।

वि.सं.२०५१ सालमा भएको ठूली दिदीको जन्मले उहाँहरूको जीवनमा खुशीयाली छायो । तर विडम्बना उहाँ जन्मनुभएको ९ महिनामा उहाँलाई झाडापखालाले ग्रसीत बनायो अनि गरिबी, अशिक्षा र अन्धविश्वासको कारण उहाँ यस संसारबाट बिदा हुनुभयो । त्यसपछि वि.सं.२०५५ साल ज्येठ २२ गते जेठा दाई अनि वि.सं.२०५७ पौष १५ गते कान्छा दाई जन्मनुभयो । यी दिनहरूमा जिन्दगीका उकाली ओराली दु:ख सुखसँगै जीवनका पलहरू कटिरहेको थिए तर गरिबीले कहिल्यै छाडेन । त्यसकारण कान्छा दाई १३ महिना हुनुहुँदा आर्थिक उन्नतिको लागि भनेर भारतको हिमालञ्चल प्रदेशतिर स–परिवार जानुभयो । म त्यही ठाउँमा जन्मे । त्यहाँ गएरपनि केही प्रगती नभएपछि पुन म १२ महिनाको हुँदा गाउँमै फर्कनुभयो ।

दुवै जनाको सल्लाह अनुसार परिवारको पालन पोषण र आर्थिकोन्नतीको लागी म २७ महिनाको हुँदा मलाई मामाघरको हजुरआमासँग छोडेर आमा विदेश पलायन हुनुभयो । उहाँ विदेशबाट फर्कनुहुँदा मैले आफ्नो आमालाई पनि चिन्न गाह्रो परेको अनि आफ्नो हरेक पलहरू आमा बुबाको न्यानो काख र अङगालोमा लुटुपुटु गर्ने मौका पूर्णरुपमा नपाएको कुरा सम्झिँदा आँखामा आँसु छचल्किन्छ । आमाले कमाउने बुबाले सबै घरधन्दा गरेर अलिकति घरको अवस्थामा सुधार आएको थियो । तर यो दु:ख पीडा भन्ने कुराले कहिल्यै पिछा गर्न छोडेन । वि.सं.२०७२ साउन २७ गतेबाट मेरो बुबाले पूर्णरुपमा दृष्टि गुमाउनुभयो । फेरी पनि यो दु:ख सुखसँगको लुकामारी खेल सुरु भएको छ । आय स्रोतको मार्ग नभएपछि मेरी आमा वि.सं. २०७४ सालमा बुढेसकालमा पनि विदेशिन बाध्य हुनुभयो । अहिलेसम्म आमा परिवारको लागी विदेश जानुभएको ४ पटक भयो । गाउँमा आमाबुबाले खाइ नखाइ बनाउनुभएको घर यत्तिकै लथालिङ्ग छ । दाईहरूले पनि यसको वास्ता गर्न सक्नुभएकाे छैन ।  म र बुबा कालिका गाउँपालिका २ घुम्ती बजार भन्ने ठाउँमा पढाइको लागी बसिरहेका छौँ ।

बुबा हजुर सबलाङ्ग हुँनुहुँदा परिवारको लागी धेरै सङ्घर्ष गर्नुभयाे । हजुर अहिले अशक्त हुनुभएपनि हजुरले हौसला दिनुहुन्छ,त्यसको लागि हृदयको गहिराइबाट धन्यवाद । आमा प्रति म आभारी छु । परमेश्वरसँग मपनि म धेरै आभारी छु । हजुर जस्तो साहसी आमाको छोरी हुन दिनुभयो । आमाबुबा हजुरहरूको सङ्घर्ष,साहस र मिहिनतबाट मैले पनि हौसला पाएकी छु । हजुरहरूको प्रेम, स्याहार, पालनपोषण, सहायता, सङ्घर्ष र हौसलाको लागी मेरो अन्तस्करणदेखि अनगिन्ति धन्यवाद । हजुरहरूको दु:ख,पीडा,सङ्घर्ष र मेहिनतलाई समेट्ने सानो प्रयास गरेकी छु । वास्तवमा हजुरहरूको जिन्दगीका पलहरू म शब्दहरूमा वर्णन गर्न सक्दिनँ । म हजुरहरूकी छोरीले पनि कलिलो उमेरदेखि नै हजुरहरूबाट टाढा रहेर सङ्घर्ष गर्न सिकेकी छु । म हजुरहरू अनि समाज र राष्ट्रको लागि पनि केही गर्छु भन्ने उद्देश्य लिई अघि बढिरहेकी छु । मैले हजुरहरूलाई रुवाएको छु भने क्षमा पाऊँ । म एकदिन अवश्य हजुरहरूको आँखाबाट खुशीको आँशु झार्नेछु । निश्चय म हजुरहरूलाई सुखभोगमा सहभागी हुने मौका प्रदान गर्नेछु । हजुरहरू नै मेरो प्रेरणको दोस्रो स्रोत हुनुहुन्छ ।

लेखक कालिका हिमालय उमाविका विद्यार्थी हुन् ।

Comments

comments