प्रेस स्वतन्त्रतामाथि सरकारको हस्तक्षेप

deuba

सुशील काेइराला

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रतामाथि सरकारको हस्तक्षेप गरेको बताउनुभएको छ । नयाँ शक्ति नेपाल रसुवाको काँग्रेसमा एकता कार्यक्रममा बोल्दै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको अधिकारलाई वर्तमान सरकारले हस्तक्षेप गरेको बताउनुभयो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको अधिकारलाईमाथि पञ्चायतको जस्तो व्यवहार भएको भन्दै उहाँले यसको विरुद्धमा उत्रन सबैलाई आग्रह गर्नुभयो । चिकित्सा शिक्षा विद्येयकमा सरकारले ठूलो हस्तक्षेप गरेको उहाँको भनाई छ ।

रसुवाबाट शुरु भएको काँग्रेस प्रवेशको अभियानले देशव्यापी रुपमा काँग्रेसको माहोल छाएको भन्दै उहाँले अन्य पार्टीबाट काँग्रेस प्रवेश गर्नेलाई उचित स्थान दिने बताउनुभयो । काँग्रेसलाई खुला हृदयको पार्टी निर्माण गर्न चाहेको उहाँको भनाई थियो ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्राकृतिक सौन्दर्य भएको जिल्लाको विकासमा पार्टी एकताले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले काँग्रेसका कारण मुलुकमा राजनीतिक प्रणालीको टुङ्गो लगाएको बताउँदै मुलुकको आर्थिक विकासमा सरकारले काम गर्न नसकेको आरोप बताउनुभयो । “समृद्धिको यात्रा कम्युनिष्टको नेतृत्वमा पुरा हुन सक्दैन,”– नेता पौडेलले भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले वाइडवडी काण्ड, एनसेल काण्ड, सुनकाण्ड, निर्मला पन्त काण्डमा सरकार मौन बसेको उल्लेख गर्नुभयो । सरकारले जनतालाई शान्ति सुरक्षा दिन नसकेको उहाँको भनाई थियो ।

पार्टीका महामन्त्री डा शशांक कोइरालाले पार्टी एकता अभियानलाई मुलुकको सबै जिल्लामा लैजार्नुपर्ने बताउनुभयो । आउँदो निर्वाचनमा नेपाली काँग्रेस एक नम्बर पार्टी बन्ने उहाँको भनाई थियो ।

महामन्त्री डा कोइरालाले पार्टीभित्र देखिएको गुठ उपगुठ अन्त्य गरी एकजुट भएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । “काँग्रेस अहिलेपनि बलियो छ, आगामी दिनमा पनि बलियो रहन्छ,”–उहाँले भन्नुभयो ।

काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले रसुवामा भएको काँग्रेस नयाँ शक्ति एकताले देशभर सन्देश दिएको बताउनुभयो । “स्थिर सरकारले जनताको विकास चाहँदैन,”–उहाँले भन्नुभयो । डा महतले काँग्रेसले गरेका कामलाई वर्तमान सरकारले प्रचारप्रसार गरिरहेको बताउनुभयो ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकलाई प्रजातान्त्रिक बाटोमा लैजान काँग्रेसको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो । “दुई तिहाई बहुमत पाएको सरकारले एक वर्षको समयमा मुलुकको विकासमा केही काम गर्न सकेन,”–उहाँले भन्नुभयो ।

काँग्रेसले पार्टीलाई नविन ढङ्गले अगाडि बढाउनु जरुरी रहेको उहाँको भनाई छ । प्रवक्ता शर्माले सरकार अपराधी खोज्नुभन्दा अपराधी जन्माउन लागेको आरोप लगाउनुभयो । उहाँले काँग्रेसले आगामी निर्वाचन जित्ने गरी संगठन विस्तार गर्ने बताउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य गगनकुमार थापाले काँग्रेसका कारण मुलुक अहिले यो अवस्थामा आएको बताउँदै काँग्रेस निर्वाचन हारेर भएपनि निर्वाचन सम्पन्न गरेको बताउनुभयो । “सरकार गर्नुपर्ने काम नगरी नगर्नुपर्ने काम गरेर बरालिरहेको छ,”–उहाँले भन्नुभयो ।

सरकारले प्रजातान्त्रिक चरित्र गुमाएको उहाँको भनाई छ । नेता थापाले सरकारलाई विकासको काममा काँग्रेसले नरोकेको बताउनुभयो । “प्रधानमन्त्रीको सपनामा पानीजहाज, हवाईजहाज र रेल छ, जनता छैनन्,”–उहाँले भन्नुभयो । पार्टी एकताले रसुवाको तागतमात्र होइन सिंगो मुलुकको तागत बढेको नेता थापाको भनाई छ ।

नेपाली काँग्रेस रसुवाका सांसद मोहन आचार्यले जनताका बीचमा गरेको बाचाअनुसार रसुवाको विकासमा काम गरीरहेको स्पष्ट पार्नुभयो । सांसद आचार्यले रसुवाको २७ वडामध्ये लाङटाङमा मात्र बाटो नपुगेको बताउँदै उक्त वडामा पनि चाँडो बाटो पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नयाँ शक्ति नेपाल रसुवाका संयोजक फुर्वु वाङ्दी तामाङले रसुवामा हुने तस्करी, घुसखोरी र भ्रष्टचारको अन्त्य गर्दै रसुवाको समग्र विकासका लागि आफुहरुले काँग्रेससँग एकता गरेको बताउनुभयो ।

नेपाली काँग्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङ, रसुवा प्रदेश (ख) का सांसद प्रभात तामाङ, काँग्रेस रसुवाका पूर्व सभापति लामाकार्पु तामाङलगायतले नेपाली काँग्रेस बलियो भएमात्र मुलुक बन्ने बताउनुभयो ।

सो अवसरमा नयाँ शक्ति पार्टीका जिल्ला संयोजकको नेतृत्वमा चारहजार भन्दा बढी नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गर्नुभएको थियो ।

Comments

comments