“बिबादको साटो, मेलमिलापको बाटो”

Sitaram

सिताराम पौडेल

आजको परिप्रेक्ष्यमा सामुदायिक मेलमिलापको महत्त्व र आवश्यकता बढेको छ । हाल समुदायमा सामुदायिक मेलमिलाप प्रति बढ्दो जनविश्वास रहेकैले गर्दा छोटो समयमा न्याय पाउनेको संख्या बढेको छ । फौजदारी अभियोग लागेका बाहेकका देवानी प्रकृतिका मुद्दाहरूलाई समाजमा नै मिलाई आपसी सद्भाव कायम गर्ने उदेश्यले दिगो शान्तिको लक्ष्य प्राप्त गर्ने अठोट गरेको छ सामुदायिक मेलमिलापले ।
मेलमिलाप कार्यक्रमको जनस्तरसम्म प्रभाव बढ्दो देखिएको छ । यसप्रतिको विश्वासकै कारण जघन्य अपराधका घटनाहरूमा पनि केहि हेरफेर भने पक्कै आएको छ । समुदायमै मेलमिलापबाट समस्याको सामाधान सल्टाउन थालिएपछि समयको बचत, कम लागत, सम्बन्धमा सुधार, गोपनियता, आर्थिक भार कम, जस्ता फाइदाहरूले पनि यसको माग र प्रभाव बढी छ ।

justice1
मेलमिलाप पद्धति आफ्नो विवादको समाधान आफैँ गर्ने ज्ञान, धारणा र सीपको विकास हुनुका साथै सानातिना विवादको प्रपञ्चबाट व्यक्ति र समाजलाई मुक्त गरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प सिद्द गर्ने महा अभियान समेत हो । सामान्य विषयमा ज्यान समेत जाने समस्याबाट ग्रसित नेपाली समुदायको लागि सामुदायिक मेलमिलाप एउटा आशाको कडी बनेर समुदायहरूमा उभिएको छ ।

हामी अनेकतामा एकता खोजी गछौँ । तर, त्यही एकतारूपी बहस केवल बहसमै सीमित राखी मौका परे हामी आफैँ एक अर्काप्रति वैरीभाव र वैमनश्यता राखेर मैदानमा उत्रन बाँकी राख्दैनौ। समुदायमा सँधै आपसी समझ्दारी आपसी मेलमिलापको धारणाले नै समाजको विकास गर्न सकिन्छ । हामी परिवार हुँदै छिमेकी टोल हुँदै वडागत र वडा हुँदै पालिका र जिल्लाहरूबीच पनि हाम्रो सद्भावमा कमी महसुस गर्दै जाने हो भने हाम्रो गन्तव्य कहाँ टुङगिन्छ हामी नजरअन्दाज समेत गर्न सक्दैनौँ ।

यस्तै न्यायिक समितिलाई निम्न विवादहरू मेलमिलापको माध्यमबाट मात्र विवाद समाधान गर्ने अधिकार स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ को ख मा उल्लेख गरिएको छ । जसमा गाउँपालिका वा नगरपालिकाको न्यायिक समितिले आव्हान गरेको सूचिकृतको सूचना बमोजिम सूचिकृत भएका मेलमिलापकर्ताहरूले मात्रै निम्न ११ प्रकृतिका विवादहरू समाधान गर्न पाउने व्यवस्था उल्लेख छ ।

१. सरकारी, सार्वजानिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्काेले च्यापी, मिची वा घुसाई खाएको ।
२.सरकारी, सार्वजानिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको ।
३.पतिपत्नीबीचको सम्बन्धविच्छेद ।
४. अंगभंग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिट ।
५.गाली बेइज्जती ।
६.लुटपाट ।
७. पशुपंक्षी छाडा छोडेको वा पाल्दा लापरबाही गरी अरूलाई असर परेको ।
८.अरूको आवासमा अनाधिकृत प्रवेश गरेको ।
९.अरूको हक भोगमा रहेको जग्गा आवाद वा भोग चलन गरेको ।
१०.ध्वनी प्रदुषण गरी फोहोरमैला प्याँकी छिमेकीलाई असर पु¥याएको ।
११.प्रचलित कानुबमोजिम मेलमिलाप हुन सक्ने व्यक्ति वादी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी विवाद ।

mediation-blog
अन्त्यमा, व्यक्ति असल भयो र व्यक्तिको विकास भए मात्रै परिवार, समाज अनि समुदाय र राष्ट्रको हित र विकास हुन सक्दछ भन्ने कुरालाई वेलैमा आत्मसात गर्नसक्नु पर्छ । समाजबिनाको व्यक्ति र व्यक्तिबिनाको समाज परिकल्पना गर्न सकिँदैन । यसर्थ मेलमिलापमा सहभागी बन्दै समुदायको आवश्यकतालाई वेलैमा सबैले मनन गर्नु आवश्यक छ ।समुदायस्तरमा हुने मेलमिलाप होस् या औपचारिक न्याय प्रक्रियाको दौरान हुने मेलमिलाप प्रक्रिया, विवादित विषयका बारेमा पक्षहरुका बीचमा सहमती कायम गराई मेलमिलापको वातावरण बनाउन तालिम प्राप्त मेलमिलापकर्ताहरुको भूमिका अहम् हुन्छ । विवादका पक्षहरुबीचको दूरी कम गर्दै न्यायोचित विकल्पको पहिचान र मिलन विन्दुतर्फको उनीहरुको अग्रसरता मेलमिलापकर्ताको निपुणता विना असम्भव छ । उनीहरुमा सहानुभूति भन्दा समानुभूति गर्ने कौशल थप अपेक्षित छ । मेलमिलाप प्रक्रिया विवादरत पक्षहरूको स्वतस्फुर्त अग्रसरता र क्रियाशीलतामा सञ्चालित हुन्छ । त्यहाँ अभाब, दबाब र प्रभावको अस्तित्व रहन्न । आफ्नो विवादको समाधान कुन मेलमिलापकर्ताको सहजीकरणमा गराउने त्यो विवादरत पक्षहरुको नैसर्गिक विषय हो ।

लेखक प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालका जिल्ला कार्यक्रम संयोजक हुनुहुन्छ ।

 

Comments

comments