बुभायर, चिमामान्डा र नेपाली महिला

Jayaram ac

जयराम आचार्य

आजीवन सार्त्रका प्रेममा अनुबन्धित बुभायरलाई अतिरिक्त प्रेम गर्ने अवसर प्राप्त भइरह्यो । सार्त्र साथमा रहँदारहँदै उनले जैक, मैर्लोपोन्ती, नेल्सन एलग्रेन, क्लांदे लेन्जमेनलगायतसँग प्रणयका पोथा बाँधिन र फुकाइन् पनि । प्रेम सम्बन्धमा सार्त्रको सर्त थियो– अस्थायी या चिरस्थायी संगिनी।

बुभायरले चिरस्थायी संगिनी हुने छनोट गरेपछि मातृत्वको अनुभूति छाड्नुपरेको थियो । अधिकांश विषयह छाडेपछि मात्र छनोट गर्ने स्थिति पैदा हुन्छ। छनोट गर्नु भनेको अधिकांश विषय छाड्नु हो भन्ने ओशोको मतले न बुभायर न त सात्र्रलाई नै छाड्छ । जाँ पाल सार्त्रको अस्तित्ववादबाट संश्लेषण गर्दै बुभायरले बोलेकी छिन् कि सर्वोपरितातिरको अग्रसरता नहुँदासम्म यो ब्रह्माण्ड या निहारिकामा महिलाको अस्तित्व रहँदैन।

महिलाको विद्यमान पराधीन अवस्था शाश्वत नभएर परिस्थितिजन्य हो । पराधीनताको प्रमुख कारण आर्थिक तत्व हो भन्ने निष्कर्षमा पुगेकी बुभायरले स्वाधीनता वा स्वतन्त्रतालाई अस्तित्वको विषय मानेकी छिन् । उनको निष्कर्षको स्वतन्त्रताले पुरुषबाट स्वतन्त्र भन्ने अर्थ अभिव्यञ्जित गरिरहँदा सहअस्तित्व शून्य अवस्थामा पुग्नुपर्ने हुन्छ । दर्शनशास्त्रमा समानता र स्वतन्त्रता दुई फरक दृष्टिकोण हुन् । यहाँ समानताले पुरुषको समान अस्तित्वलाई इंगित गर्छ।

यो ब्रह्माण्डमा महिलाबिनाको पुरुष या पुरुषबिनाको महिलाको के अस्तित्व हुन्छ ? उनको निष्कर्षमा उनी हुर्किएको परिवेशजनित फ्रान्सीय प्रभाव पनि छ । परिस्थिति या पितृसत्तालाई दोषी देखाएर स्वतन्त्रतालाई अस्तित्वका रूपमा स्वीकार्नु उनको माक्र्सवादी दृष्टिकोणको समेत प्रस्तुति हो । यहाँ स्मरणीय कुरा यो छ कि माक्र्सवादले स्वतन्त्रताको भन्दा पनि समानताको वकालत ज्यादा गर्छ।

किशोरी रहँदा बाबुको, वयस्क हुँदा श्रीमान्को र एकल वृद्ध हुँदा छोराको कब्जामा रहनुपर्ने स्थिति अझै समाजमा छ । यस्तो स्थितिको प्रमुख कारण सम्पत्तिमाथिको स्वामित्व परम्परादेखि पुरुषमा सर्दै जाने प्रचलनले गर्दा हो । सम्पत्ति वा आर्थिक प्रसाधनको परिचालन संयुक्त इच्छामा वा संयुक्त निर्णयमा हुने स्थितिसम्म महिलालाई पुर्याउन सिपमूलक उद्यमशीलतामा जोड दिनु उपयुक्त देखिन्छ । जहाँबाट महिलाले परनिर्भरताको दूरी छोट्याउन सक्छन् । जहाँबाट मालिक–दासको स्थिति अन्त्य भई जान्छ।

पुरुषको समपहिचान वा समपरिचयमा महिलालाई अल्झाएर राख्ने चतुरता पनि पुरुषमा छ । यस्तो चतुरताले पनि महिलामाथिको शासनलाई सजिलो बनाएको छ । महिलामाथिको शासनलाई सजिलो बनाउने अर्को साधन हो– सौन्दर्य मूल्य । जटिल एवम् कठिन परिस्थितिहरूको समेत सामना गर्न नसक्ने गरी निर्माण गरिएको सौन्दर्य परिधानका कारण महिलाको समय सचेतक स्वभावसमेत गुम्न पुगेको छ । ज्ञानजन्य वृद्धि विकासमा समेत वर्जित गरी सामान्यभन्दा सामान्य कार्यविन्यास गर्नु महिलामाथिको विधान शाश्वत नभई परिस्थितिजन्य हुनु हो।

महिलाले यो बुझ्न जरुरी छ कि पुरुषले रुनु पनि संवेदनाको विषय हो । जबसम्म पुरुषत्वको विषय बनाइन्छ अहंकारको तुष्टीकरणका लागि महिला नै हिंसामा पर्ने स्थिति हुन्छ । महिला सन्तुष्टिको साधन र वंश संरक्षक मात्र हुन् भनी हेरिने दृष्टिकोण बारे पुरुषलाई पढाइनु जरुरी छ । हामीले यो कुरा बुझ्न जरुरी छ कि प्रकृतिले मात्र होइन, धेरै कुरा पालनपोषणले पनि प्रभाव पार्छ । पालनपोषणकै समयमा महिलाले लैंगिक धारणालाई पुनर्निर्माण गरिदिनु आवश्यक छ।

राजनीतिशास्त्रमा एउटा नियम छ– अल्पमतले बहुमतको शासन स्वीकार्नुपर्ने ।फेरि विश्वमा पुरुष बराबर महिला नभएका पनि होइनन् । किन राजनीतिशास्त्रको नियम यो सवालमा लागू भएन ? मुख्य प्रश्न यही हो।

अन्तमा, कानुनले बराबरीको अधिकार प्रत्यायोजन गरेपनि सामाजिकता, नैतिकता र लोकव्यवहार बाधक बन्न आइपुग्ने स्थिति अन्त्य नहुँदासम्म महिला समानता कायम गर्न सकिँदैन । त्यसैले बुभायर, चिमामान्डाबाट सिक्दै नेपाली नारीवादीहरूले सामाजिकता, नैतिकता र लोकव्यवहारको पुनर्निर्माणमा काम गर्न जरुरी छ।

नागरिकबाट

Comments

comments