भण्डारी प्रथम महिला राष्ट्रपति, डा. यादवको बिदाइ

Bhandari

काठमाडौं, १२ कात्तिक । गणतन्त्र नेपालको नयाँ राष्ट्रपतिमा विद्या भण्डारी बुधबार निर्वाचित भएकी छन् । यससँगै उनी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बनेकी छन् ।

भोजपुरबाट विद्यार्थी राजनीति थालेकी भण्डारी एमाले जननेता मदन भण्डारी पत्नी हुन् । भण्डारी दासढुंगा दुर्घटनामा मदनको निधनसँगै राजनीतिमा सक्रिय भएकी हुन् ।

२०५० सालको उपचुनावमा कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर चर्चामा आएकी भण्डारी संसदीय राजनीतिमा होमिएको २२ वर्षमा नै राष्ट्रपति बन्न सफल भएकी छन् ।

नयाँ राष्ट्रपति चयनका लागि बुधबार संसदमा मतदान भएको थियो । मतदानमा सत्तारुढ गठवन्धनकी उम्मेदवार विद्या बुहमतबाट गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

संसद बैठकमा सभामुख ओनसरी घर्तीले जानकारी गराएअनुसार भण्डारीले ३२७ मत पाएकी छन् । विद्यालाई एमालेका साथै एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकसहितका दलहरुको समर्थन छ ।

उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङले २१४ मत पाएका छन् । गुरुङलाई कांग्रेसबाहेक केही साना दलको मात्र मत परेको छ ।

राष्ट्रपति निर्वाचनमा कुल ५९७ सांसदमध्ये ५४९ ले मतदान गरेका थिए । तर, ८ मत बदर भएको छ । संसद सचिवालय स्रोतका अनुसार बदर भएको मत मध्ये कुलबहादुरको चार मत परेको छ । विद्याको दुई मत बदर भएको छ । दुई मत भने खाली पाइएको छ ।

मधेसी मोर्चासहितका केही साना दलले निर्वाचनमा भाग लिएनन् । तर, मधेसी मोर्चामा आवद्ध सद्भावनाका सभासद माधवी रानी साहले भने मतदान गरेकी छन् । राष्ट्रपति पदमा निर्वाचित भएपछि सञ्चारकर्मीलाई पहिलो प्रतिक्रिया दिँदै भण्डारीले मुलुकको सार्वभौमिकता र संविधानको रक्षा गर्दै समृद्धिका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नयाँ संविधानको कार्यान्वयन गर्दै मुलुकसामु तेर्सिएका समस्याको मिलेर समाधान गर्नुपर्नेमा उनको जोड थियो । उनले भनिन्, मुलुकको हित नै मेरो सर्वोपरी हित हो । मुलुक र जनताप्रतिको जिम्मेवारी पूरा गर्नेछु ।’ बिहीबार भण्डारीले राष्ट्रपति पदको शपथ लिनेछिन् भने निवर्तमान राष्ट्रपति डा. रामवरण यादवको बिदाइ गरिने कार्यक्रम छ ।

Comments

comments