रसुवा २०६ औं भानुकाे जयन्ती

IMG_5396

रसुवा , भानुभक्त आचार्यको २०६ औं जन्म जयन्ती रसुवामा रामायण वाचन गरी मनाइयाे । स्थानीय कालिका गाउँपालिका ५ का रत्नप्रसाद पाैडेल, भवनाथ पाैडेल, युवा स्रष्टा प्रेमप्रसाद पाैडेल कालिका गाउँपालिका ३ का तुलसीप्रसाद खतिवडा, लेखक विश्वास नेपाली , पत्रकार हेमनाथ खतिवडाले रामायण वाचन गरी  भानुभक्त आचार्यको जीवनीकाे चर्चा गरे । कार्यक्रममा रेडियाे लाङटाङका भवानी पाैडेल र पूर्णिमा स्याङवा सहभागी थिए ।IMG_5396

भानुभक्त आचार्यको जन्मस्थान तनहुँको चुँदी, रम्घा हो। विसं  १८७१ असार २९ गते पिता धनञ्जय र माता धर्मावतीदेवीको पुत्रको रुपमा उनी जन्मिएका थिए। भानुको हजुरबुबाको नाम श्रीकृष्ण आचार्य हो। उनको शिक्षाको थालनी आफ्नै घरको पिंढी पाठशालामा बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो।  बाजेको काशीवासहुँदा उनी वनारस गएर संस्कृत व्याकरण र साहित्य अध्ययन गरेको पाइन्छ। भानुभक्तले ज्योतिष शास्त्र र पौराणिक साहित्य अध्ययन गरेका थिए ।  तर वनारसमा अध्ययन गर्दा भने भानुभक्तसँग अरु कुनै व्याक्तिले परिचय माग्दा उनले जवाफ दिएको कविता यस्तो छ :

‘पहाडको अति वेश देश तनहुँ श्रीकृष्ण व्राह्मण थिया

खूप उच्चाकुल आर्यवंशी हुनगै सत्कर्ममा मन दिया

विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया

उन्कै नाती म भानुभक्त भनि हुँ यो जानी चिन्ही लिया’

भानुभक्तको परिचयले के बताउँछ भने पोखरा र वागलुङमा पछिमात्र उनले अध्ययन गरेको हुनसक्छ। अन्यथा आफ्ना गुरू र्वर्गलाई कुनै न कुनै प्रसङ्गमा उनले अभिव्यक्ति दिएको अभिलेख पाइनुपर्ने थियोे।

रामायणकाे केही स्लाेक :
एक् दिन् नारद सत्यलोक् पुगि गया लोक्को गरूँ हित् भनी।

ब्रह्मा ताहिं थिया पर्या चरणमा खूसी गराया पनी॥

क्या सोध्छौ तिमि सोध भन्छु म भनी मर्जी भयेथ्यो जसै।

ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गर्या यो तसै॥१॥
हे ब्रह्मा जति हुन् शुभाशुभ सबै सूनी रह्याँछू कछू।

बाँकी छैन तथापि सुन्न अहिले इच्छा म यो गर्दछू॥

आऊला जब यो कली बखतमा प्राणी दुराचार् भई।

गन्र्या छन् सब पाप् अनेक् तरहका निच्का मतीमा गई॥२॥
साँचो बात गरैन कोहि अरुकै गर्नन् त निन्दा पनी।

अर्काको धन खानलाइ अभिलाष् गर्नन् असल् हो भनी॥

कोही जन् त परस्त्रिमा रत हुनन् कोही त हिंसा महाँ।

देहैलाइ त आत्म जानि रहनन् नास्तिक् पशू झैं तहाँ॥३॥
काम्का चाकर झैं भयेर रहनन् स्त्रीलाइ द्यौता सरी।

मान्नन् पितृ र मातृलाई बुझि खुप् शत्रू सरीका गरी॥

ब्राह्मण् भै कन वेद बेचि रहनन् कोही पढुन् ता पनी।

धन् ठूलो छ पनी भन्या सहज धन् आर्जन् गरौंला भनी॥४॥

नेपाली बाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन संकटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन् । मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे ।

नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले आदिकवि तथा नेपालको राष्ट्रिय विभूति जस्ता सम्मान पाएका हुन् ।

भानुभक्तको व्रतवन्ध सात वर्षको उमेरमा १८७८ मा भएको थियो। बाजे श्रीकृष्ण आचार्यले गायत्री मन्त्र दिएका थिए। व्रतवन्धपछि उनले बाजेसँग आफ्नै घरको पिंढी पाठशालामा कौमदी, रुद्री र वेद पढ्न थालेका थिए। यसपछि १८८६ मा बाजेसँग काशीवास गर्न जाँदा कोश, व्याकरण र साहित्यका साथै ज्योतिषसमेत अध्ययन गरेका थिए। काशीवास जानुभन्दा डेढ वर्षअघि विवाह गरेकी श्रीमती चन्द्रकान्ताको स्र्वर्गरोहण भएकाले १८८६ मा पुनः मानुङ गाउँको विद्याधर खनालकी छोरी चन्द्रकलादेवीसँग उनले दोस्रो विवाह गरेका थिए। काशीबाट र्फकेपछि १८९० देखि भानुभक्तले गृहस्थी जीवन सुरु गरेका थिए। यसैबीच, मानुङ गाउँमा ससुराली जाने सर्न्दर्भमा बुर्लुङ वेसी, वुल्दीखोला किनारामा विश्राम गर्दा घाँसी चामुनारायण पन्तसँग भानुभक्तको भेट भएको थियो। महाकवि लक्ष्मीप्रसाद देवकोटाले लक्ष्मी निबन्ध सङ्ग्रहमा लेखेका छन्-‘भानुभक्त ढुङ्गाको तकियामा सुतेर व्युझिदा फूलको हृदय भेट्टाए। घाँसीमा उनको परमेश्वर बोल्यो। सच्चा नेपाली हृदयलाई ब्युझाइदियो र सुन्दर देशमा बोलाएर लग्यो।’bhanubhakta

मानिसको हृदयमा वेलावखत अनेक तरङ्ग उठ्छन्। यस्ता तरङ्गलाई प्रेरणाको स्रोतमा वदलिदिने कुनै शक्तिले कहिलेकाँही अज्ञात रुपमा वरदान दिएको हुन्छ। त्यो विसं १८९१ को वर्ष थियो। भानुभक्त २० वर्षका युवक थिए। त्यो वेला उनको हृदयमा भाषा, साहित्य, राष्ट्र र राष्ट्रियताबारेममनभित्र कति छाल उर्लिरहेको थियो होला। घाँसीसँगको क्षणिक संवादले उनलाई व्युझाइदियो। अनि भानुको हृदय रसाएर घाँसी प्रेरणाको स्रोत बन्न पुगेः

भरजन्म घाँसतिर मन दिई धन कमायो

नाम क्यै रहोस्पछि भनेर कुवा खनायो

घाँसी दरिद्र घरको तर वुद्धि कस्तो

यो भानुभक्त धनी भैकन आज यस्तो

भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन् । उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे । ‘अध्यात्म रामायण’ अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे । भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज,सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तकृत रामायणलाई नेपाली भाषासाहित्यको पहिलो महाकाव्य भनियो ।
पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण जस्तै भानुभक्तले सांस्कृतिक रूपमा नेपाली भाषालाई एउटै मालामा गाँसे । भानुभक्तप्रदत्त नेपाली भाषाका कारण संसारभरिका नेपाली  भाषा भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको छ । भानुभक्तले रामायणका बालकाण्ड र अरू काण्ड, प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षानामक कृतिहरू नेपाली भाषासाहित्यको मन्दिरमा चढाए । साथै उनका फुटकर कविताहरूको बिटोले पनि नेपाली भाषासाहित्य धन्य भएको छ । उनका अरू धेरै कृतिहरू हुँदाहुँदै पनि भानुभक्तलाई रामायणले नै अमर पार्‍यो, अनि त्यही रामायणले नेपाली भाषालाई नै लोकप्रिय बनायो । वास्तवमा रामायणको आत्मामा बसेको नेपाली भाषासाहित्य नै पनि अमर बन्यो । सृष्टिको अमरताले पनि स्रष्टालाई अमर पार्‍यो । नेपाली भाषासाहित्यको अमरत्वका साथमा भानुभक्त आचार्यको अमरत्व सदार्सवदाका लागि गाँसियो ।

भानुभक्त आचार्यले जीवनमृत्युसँग जुधेर पनि आफ्ना हितकारी धर्मदत्त सुब्बाको आग्रहमा रामायण उत्तर काण्डको ‘रामगीता’को नेपाली भाषामा अनुवाद गरे ।

Comments

comments