महिला, भान्सा र भूमिका

phurpa Tamang 2012

केही दिनदेखि मैले घरको भान्सा सम्हाल्दै आएको छु । जुन दिनदेखि मैले यो काम सम्हालेँ, यो काम त टेबुलमा बसेर ल्यापटप चलाउनु जस्तो होइन रहेछ । काम हेर्दा सजिलो छ । तर, सम्हाल्नु पर्दा गाह्रो हुँदो रहेछ । सोचौं, नेपाली महिलाहरू कसरी खुसी हुँदा हुन् ? जो विवाह गरेदेखि जीवनको अन्तिम घडीसम्म यो काम गर्छन् । अझ भनुँ, महिलाहरू विवाह गर्नु अघि नै सानैदेखि बाबुआमाको घरमा आमालाई खाना पकाउने काम, गोबर सोहोर्ने, पानी भर्ने, जुठो भाँडा माझ्ने, बुबा, दाजु र भाइबहिनीको लुगा धोइदिने काममा आमालाई सघाउँछन् । यसरी विवाह गरेर लोग्नेको घर जानु अघि घर व्यवहार चलाउन पोख्त भइसकेका हुन्छन् । अधिकांश छोरा मान्छेहरू भने उपरोक्त काम गर्दैनन् । पतिले श्रीमतीलाई सघाउने पनि कमै हुन्छन् । यी सारा कामका बोझ घरमा महिला एक्लैले धानेकी हुन्छिन् । घाँस काट्ने, मेलापात जाने, अर्मपर्म गर्ने, दाउरा ल्याउने पनि महिलाकै काँधमा पर्छन् ।

यी सबै काम गरेर हतारमा खाना पकाउँदा कहिले काहीं तरकारीमा नुन कमबढि भयो भने लोग्नेले सातो खाइदिन्छन् । सासू, ससुरा, नन्द, देवर भएको घरमा झन् बढी सकस खेप्नुपर्छ । भान्सामा पसेर खाना पकाउन सजिलो रहेछ । त्यो पनि एक दिन होइन । दिनका दिन पकाउनु पर्ने कुरा । जागिर गर्नेलाई जस्तो विदा पनि हुँदैन । महिलाले घरका सम्पूर्ण कामसँगै भान्साको काम गर्नुपर्छ । कसैले एक छाक भात पकाउन मद्दत गरिदिए त्यो खास अर्थमा ठूलो सहयोग हुने रहेछ । मैले भान्साको काम कहिल्यै नगरेको भन्ने चाँहि होइन । मैले घरमा आमालाई सघाउने मध्येको काम यो पनि थियो । मैले खाना पकाएको दिन आमा बेस्सरी खुसी मान्नुहुन्थ्यो । कत्तिको मीठो पकाउँथ्यो त्यो चाहिं थाहा भएन । आमा खुसी भएर स्याबासी दिनुहुन्थ्यो । सानोमा गोठमा बस्दा दाजु र मैले पालो गरेर खाना पकाएर खाएकै हो । धुन्चेमा पढ्न बस्दा पकाएर खाएकै हो । उच्च शिक्षा अध्ययनको लागि काठमाडौंमा डेरा गरी बस्दा पकाएर खाएको हुँ । तर, ती दिनहरूको पकाइ र अहिलेकोमा धेरै फरक छ । त्यतिखेर एक्लो थिए । सानो भाँडोमा पकायो । खायो । भाँडा माझ्न पनि सजिलो । एउटा थाल, एउटा कचौरा, एउटा गिलास अनि दुईवटा भाँडा पखाल्यो । वस काम सकियो । अहिले त्यस्तो हुँदैन । घर सम्हालेर पकाएर खानु र ख्वाउनु पर्दा धेरै फरक रहेछ । हुन त विवाह पश्चात पनि पकाएको हुँ । तर कहिले काहीं मात्रै । त्यति बेला श्रीमती खुसी हुने गर्थिन् । खुसी हुनुको कारण बल्ल थाहा भयो । अबको केही दिनहरू मेरो यसै गरी बित्नेछ । उसलाई अलि सञ्चो छैन । आराम चाहिएको छ ।

२१ वर्षदेखि मेरी श्रीमतीले निर्वाह गर्दै आएको भूमिका मैले गर्नु परिरहेछ । म बिहान उठ्छु । घर सफा गर्छु । पूजा गर्छु । तातो पानी बनाएर श्रीमती र छोराहरूलाई दिन्छु । दूध र हर्लिक्स बनाएर दिन्छु । आफू कफी बनाएर पिउँछु । तातो खोले (सुप) बनाएर श्रीमतीलाई दिन्छु । छोराहरूको गृहकार्य चेक गर्छु । किताब, कापी, कलम, विद्यालयको पोशाक ठीक पारिदिन्छु । खाजा बनाएर दिन्छु । छोराहरूलाई मोटरसाईकलमा राखेर विद्यालय पु¥याउँछु । खाना बनाउन चामल र दाल केलाउँछु । तरकारी काट्छु । मसला पिँध्छु । खाना पकाउँछु । श्रीमतीलाई ख्वाउँछु । आफू पनि खान्छु । कुकुरलाई खाना दिन्छु । छोराहरूलाई खाना पु¥याउन जान्छु । जुठो भाँडाहरू माझ्छु । घर सफा गर्छु । सिरक, डस्ना र कपडाहरू घाममा सुकाउँछु । मलाई भ्याइनभ्याइ हुन्छ । म घरको कामले निकै थाकेको हुन्छु । असिन पसिन हुन्छु । एकछिन् आराम गर्छु । फेरि खाजा बनाउने समय भइ हाल्छ । खाजा बनाएर श्रीमतीलाई दिन्छु । दिउँसो ३ बजे कान्छो छोरालाई लिन उसको विद्यालय जान्छु । उसलाई घरमा ल्याए पछि खाजा दिन्छु । सुकाएको लुगाहरू उठाउँछु । फेरि रातिको खानाको लागि तयार गर्छु । साँझ ६ बजे जेठो छोरा आउँछ । उसलाई हल्का खाजा दिन्छु । खाना पकाउँछु । खाना खाने, ख्वाउने काम हुन्छ । जुठो भाँडा माझेर भान्सा सफासुग्घर गरेपछि मात्र मेरो एकदिनको काम सकिन्छ । मैले यो काम गरेको दुई साता हुन लाग्यो । यो अवधिमा म त आत्तिइसकें । उसले पकाउँदा चाँडै पाक्ने गथ्र्यो । मैले पकाउँदा खानेकुराहरू ढिलो गरी पाक्छन् । बजार गएर किनेर ल्याउने, केलाउने, काट्ने, पिँध्ने, पखाल्ने, बसाल्ने, पकाउने, पस्किने, माझ्ने सबैमा ढिलो हुँदो रहेछ । सायद कामको अनुभव भनेको यस्तै होला । श्रीमतीले यही काम २१ वर्षसम्म केही नभनी गरिन् । त्यसो भए को साहसी ? को मिहेनेती ? को परिश्रमी ? को धैर्यावान ? म कि मेरी श्रीमती ? अनि हामी प्रत्येकले आफैलाई प्रश्न गरौं । यदि पुरुषले भान्सा सम्हाल्नु प¥यो भने हालत के होला ? हामी प्रत्येकका घरमा मीठो परिकार बनाइदिने महिलाहरूको कामको मूल्याकंन यो समाजले गर्ने कि नगर्ने ? के पुरुषहरूको सोचमा परिवर्तन गर्ने बेला अझै आएको छैन ?

दिनभरि भट्टीमा रक्सी खाएर साँझ घरमा आएर श्रीमती कुट्नेहरूलाई के थाहा ? श्रीमतीले घर कसरी सम्हाल्दो रहिछन् भनेर ? साथीभाइ जम्मा पारेर दिनभरि तास खेल्ने पुरुषहरूलाई पनि के थाहा होस् र ? दोहोरीमा गएर बेस्सरी नाँचेर घरमा आई गन्हाउने मोजा श्रीमतीलाई धुन दिने लोग्ने मानिसहरूलाई पनि के थाहा ? विचरी श्रीमतीहरू लोग्ने आउला र सँगै खाना खाउँला भनेर कुरेर बसेका हुन्छन् । मलाई धेरैले सोध्ने गर्छन् सर मेडम् के काम गर्नुहुन्छ भनेर ? गाउँघरका आफन्तहरू भेट्दा बूहारी के काम गर्छन् भनेर सोध्ने गर्छन् । मेरो उत्तर हुने गर्दथ्यो—मेरी श्रीमतीको जिम्मेवारी मेरो भन्दा ठूलो छ । ऊ घर सम्हाल्छे । म बाहिरको काम गर्छु । मेरो एउटै काम छ । उसका धेरै काम छन् । तर, मेरो जवाफमा उहाँहरू सन्तुष्टि हुने गरेको पाइँदैन । धन्यवाद नेपाली महिलाहरू । तपाईहरू साँच्चै महान हुनुहुन्छ । म यति भन्छु । महिलाको भूमिका हिन्दु धर्ममा पनि उल्लेख्य छन् ।

त्रेता युगमा राजा दशरथचन्द युद्धमा लडिरहेको बेला अचानक रथको पाङ्ग्रा खुस्किन लाग्दा कान्छी श्रीमती कैकेयीले हातको औंला छिराएर पाङ्ग्रा खुस्किनबाट जोगाइदिएको कुरा रामायण कथामा बताइन्छ । उहिल्यैदेखि सनातनीहरू देवी(महिला) लाई शक्तिको रुपमा लिन्छन् । बौद्ध धर्ममा पनि छ । जिच्येन फम डोल्मालाई तान्त्रिक शक्तिको रुपमा लिइन्छ । बोन÷बोन्पो (झाँक्री) धर्ममा पनि रहेको छ । रसुवाका तामाङ समुदायले नोर्चो मेन्की ल्हामो, आमा म्होज्यो मेन्की ल्हामो, न्हुप मेन् सिङ्ल्हा देवी (महिला) लाई तान्त्रिक शक्तिको रुपमा पुज्ने गर्छन् । त्यसैगरी ह्योल्मो क्षेत्रको आमा याङ्ग्रीलाई त्यो क्षेत्रका स्थानीयले ठूलो देवी (महिला) मान्दछन् । भगवान देखि मनुष्यजगतसम्म महिलाको भूमिका ठूलो छ । घरमा सबै कुराको व्यवस्थापन गर्न जानेकी घरकी देवीको भूमिकालाई केवल भान्सा कोठामा मात्र सिमित छ भन्नु हामी पुरुषहरूकै कमजोरी हो ।

Comments

comments