भूकम्पपीडित किसानको आयआर्जन बढाइँदै

cdo rasuwa

परम्परागत र निर्वाहमुखी खेतीबालीमा वर्षौसम्म गुज्रिरहेका रसुवाका किसान व्यावसायिक पशुपालन, तरकारी खेतीमार्फत जीविकोपार्जन गरी आत्मनिर्भर बन्ने अभियानमा जुटेका छन्। रसुवामा जिल्लामा समुदायका किसानलाई भूकम्पपछिको पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यका साथ व्यावसायिक तरकारी खेतीमा सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको सहयोगमा उक्त अभियान सञ्चालन भएको हो।

संस्थाको साथ पाएपछि कृषकहरू पनि उत्साहित भएर आयआर्जनको बाटोमा लागिपरेका हुन्। परियोजनामार्फत हालसम्म ३ सय ६५ परिवार भूकम्पपीडितलाई जीविकोपार्जनमा सहयोग गरेको छ। लामो समयदेखि भूमि अधिकार अभियानमा सघाइरहेको आत्मनिर्भर केन्द्रले जिल्लामा भूमिहीन, साना किसान र महिला किसानको जीविकामा सहयोग पुर्याउनको लागि सहयोग पुर्याउने कार्यक्रम सञ्चालन गरिएको आत्मनिर्भर केन्द्रका संयोजक विश्वास नेपालीले बताउनुभयो।
केन्द्रले २ सय परिवारलाई गोलभेंडा खेती, ९६ परिवारलाई प्याज खेती, ३७ परिवारलाई आलु खेती, १६ परिवारलाई बाख्रा पालन र १६ परिवारलाई मौरीपालनमा सहयोग गरेको छ। समुदायका भूमिहीन, साना किसान, एकल महिला र महिला किसानलाई व्यावसायिक तरकारी खेतीमा संलग्न गराई उनीहरूको जीविकोपार्जनमा पनि सहयोग पुर्याई त्यसबाट हुने आम्दानीले पुनर्निर्माणमा सहयोग पुग्ने लक्ष्यका साथ समुदायका यस्ता वर्गहरू छनोट गरी सहयोग पुर्याएको संयोजक नेपालीले बताउनुभयो। यस्तो जीविकोपार्जन सहयोग कार्यक्रम जिल्ला भूमि अधिकार मञ्च रसुवा र आत्मनिर्भर केन्द्रमार्फत जिल्लाको भोर्ले, लहरेपौवा र धैबुङ गाविसमा सञ्चालन गरिएको छ।

विनाशकारी भूकम्पको मारमा समाजमा अझ बढी मारमा भूमिहीन, सुकुमबासी, महिला किसान, एकल महिलाहरू बढी प्रभावित भएका छन्। उनीहरूलाई तत्काल बसोबासको समस्या छ। सरकारले दिने रातह रकम मात्र पुनर्निर्माणको लागि पर्याप्त हुँदैन, यसकारण नयाँ घर बनाउन तथा अन्य संरचनाहरूको पुनर्निर्माणको लागि जीविकोपार्जन लगायतको कार्यक्रमबाट आयआर्जनमा टेवा पुग्ने जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष चित्रकुमारी न्यौपानेको भनाइ छ। रसुवाको धैबुङ–४ का कृषक खिलप्रसाद आचार्य भन्छन्, हामी किसानसँग घर निर्माण गर्न, भत्केको संरचनाको निर्माण गर्नको लागि पर्याप्त रकम छैन, घर निर्माण गर्ने भन्ने चिन्ता छ, तर अहिले व्यावसायिक तरकारी खेतीमा लागेका छौं, यसबाट आयआर्जन बढाउने, छोराछोरीको शिक्षादिक्षा खर्च गर्ने र अलि बढी आम्दानी लिन सकियो भने नयाँ घर निर्माणको लागि पनि खर्च गर्न सक्छौं भन्ने आशा छ।

समुदायमा सञ्चालन भएको जीविकोपार्जन कार्यक्रमको रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकार कृष्णप्रसाद अधिकारीले अनुगमन गर्नुभएको छ। आत्मनिर्भर केन्द्रले फिल्डमा गरेको कामको अनुगमनपछि प्रमुख जिल्ला अधिकारीले भन्नुभयो–‘ समुदायमा सञ्चालित कार्यक्रमले साच्चै भूकम्पपीडितको जीवनमा परिवर्तन ल्याउने गरी व्यावसायिक रुपमा सञ्चालन गरिएको रहेछ।’ उक्त कार्यक्रमको प्रभावकारिताबारेमा जिल्ला कृषि विकास कार्यालयका प्रमुख रमेश हुमागाँईले पनि अनुगमन भम्रण गरी कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन भइरहेको बताउनुभयो।

तस्वीर : प्रमुख जिल्ला अधिकारी कृष्ण अधिकारीबाट स्थलगत अनुगमन गर्दै

 

Comments

comments