भूकम्पले मेटायो ‘ब्ल्याक भिलेज’ को पहिचान महिलाको पर्यटन व्यवसायीको पेशा धरापमा पर्ने चिन्ता

DSC_0337

कविता स्याङबा

रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका -३ गत्लाङकी सर्की तामाङ होमस्टे सञ्चालक हुन् । चार दशकको हाराहारीमा रहेकी उनी विगत १३ वर्षदेखि होटल व्यवसायमा तल्लीन छिन् । गत्लाङ गाउँभरीमै आफुलाई सफल व्यावसायीको रुपमा आफुलाई उभ्याएकी छिन् । तामाङलाई ‘महिलाहरू आर्थिक रुपमा आफैं बलियो हुनुपर्छ’ भन्ने आफ्नै मान्यताले गाउँमा उनलाई यो पेशा सुरु गर्न प्र्रेरित ग¥यो । उनका पति ट्रेकिङ गाइड हुन् । काठमाण्डौमा ट्रकिङ्ग एजेन्सी पनि छ । उनका पतिले पनि कहिलेकहिँ होमस्टेमा स्वदेशी तथा विदेशी पाहुनाहरू ल्याउँछन् । तामाङका ४ जना छोराछोरी छन् । कान्छी छोरी मात्र उनीसँगै छिन् । अरु ३ बालबालिका स्कुल तहको पढाइको लागि काठमाडौंमा छन् । घर खर्च छोराछोरीको पढाइ खर्च अहिलेसम्म होमस्टे थानेको तामाङ बताउँछिन् ।

स्थानीय कर्साङ तामाङको आम्दानीको मुख्य स्रोत पनि होमस्टे नै हो । उनले आफ्नो र परिवारको खर्च यही व्यवसायबाट धान्दै आएका छन् । अहिले कर्साङ जस्तै गत्लाङमा धेरै महिलाले होमस्टे सञ्चालन गरेर आम्दानी गर्दै आएका छन् । सर्की तामाङ एक्लै हुँदा होमस्टेबाट लाखौं आम्दानी गर्थिन् । धेरै होमस्टे थिएन । पर्यटकहरूलाई अन्य बिकल्प थिएन । पछिल्लो समय यो व्यवसाय गर्नेहरूको संख्या त बढेको छ तर पर्यटक आउने क्रम भने घटेको छ । यसे उनीहरूको पेशा धरापमा पर्ने चिन्ता छ । ‘पर्यटकहरू गत्लाङगाउँ आउनुको मूख्य कारण थियो कालोगाउँ । ‘ब्ल्याक भिलेज’ को नामले चर्चित गाउँ हेर्न पहिले ठाउँठाउँबाट मानिस आउँथे । कर्साङ भन्छन् अहिले न ब्ल्याक गाउँ रह्यो न पर्यटक । भूकम्पले गत्लाङ गाउँको पहिचनमात्रै मेटाएन स्थानीय पर्यटन व्यवसायमा लागेका महिलाको पेशा नै धरापमा पर्ने भयो भन्ने चिन्तामा छन् ।

वर्षेनी कात्र्तिक, मंसिरको महिना र चैत, वैशाख वर्षमा दुईपटक विदेशी आउने मौसम हो । मौसममा गत्लाङ गाउँ पर्यटकले भरिभराउ हुन्थ्यो । रातभर नाँचगान गरेर पर्यटन समेत स्थानीय पहिरनमा नाँचेर रमाउथे । चारसय सयभन्दा बढि घरधुरी रहेको गत्लाङ गाउँमा सुरुमा सर्की तामाङको मात्रै होमस्टे थियो, ‘पल्दोर पिक होमस्टे’ । सिजनको समयमा दैनिक १०÷१५ जना विदेशी पाहुना हुन्थे, कहिलेकहिँ १००÷१५० जना विदेशी गाउँमा आउने गरेको अनुभव सर्की सुनाउँछिन् । उनले एउटै सिजनमा लाखौँको व्यापार गर्थिन् । ०७२ साल बैशाखको विनाशकारी भूकम्पपछि पर्यटक आउन ह्वत्तै घटेको छ, त्यसैले सिजनको समयमा समेत दैनिक रुपमा ४÷५ जना भन्दा हुँदैनन् । धेरै भयो भने पनि ३०/४० जना पर्यटक हुन्छन् । पर्यटन व्यवसायसँगै आम्दानीको स्रोत घटेकामा उनलाइ चिन्ता लागेको छ । बालबालिकाको उच्च शिक्षामा लगानी गर्नु छ । जानेको पेशा यही हो, कसरी नयाँ पेशा अपनाउने ? पर्यटकको आगमन घटेपनि होमस्टेको संख्या गाउँमा बढेकाले अलिअलि आएका पर्यटक पनि बाँडिएर बस्दा पेशा व्यवसाय संकटमा पर्न थालेको चिन्ता छ उनलाइ । भूकम्प जानुभन्दा पहिले गाउँभर जम्मा ३ ओटा होटल लज थिए । अहिले बढेर ९ ओटा पुगेका छन् । गत्लाङमा सञ्चालित मध्ये ६ वटा होमस्टे सञ्चालक महिला छन् । पर्यटक घट्ने र होमस्टे बढ्ने भएकाले पेशा नै परिवर्तन गर्नुपर्छ कि भन्ने डर लागेको तामाङको गुनासो छ ।

कालोगाउँ अर्थात् ‘ब्ल्याक भिलेज’ को नामले चिनिने चर्चित रसुवाको उत्तरी भेगमा रहेको गत्लाङ गाउँ २०७२ सालको भुकम्पपछि सेतो, निलो, रातो रङ्गीचङ्गी भयो । गाउँमा रङ मात्र हैन दैनिकी पनि फेरिएको छ । केहीले त खेतीको काम पनि सँगै गर्न थालेका छन् । चार सय भन्दा बढी घरधुरी रहेको आमाछोदिङ्मो गाउँपालिका वडा नं ३ गत्लाङगाउँमा भूकम्प अघि सबैजसो घरमा ढुङ्गा छिनोले बुट्टा भरेर लगाइएको गाहे र ‘पाङ्लेप’ काठका फल्याकले छाएको छाना थियो । स्थानीय भाषामा काठको फल्याकलाई पाङ्लेप भनिन्छ । काठको छानाले गर्दा एकनासे देखिने गाउँ पुरै कालो देखिन्थ्यो । त्यसैले यहाँ आउने विदेशी पर्यटकले गत्लाङ गाउँको नाम ‘ब्ल्याक भिलेज’ राखिदिए । गत्लाङ ब्ल्याक भिलेजका नामले चिनियो । कालोगाउँका सबै घर उस्तै हुन्थे, झ्याल ढोकाको डिजाइन उस्तै हुन्थ्यो, कस्को घर कुन हो छुट्टयाउन मुस्किल यिथो किनकी उस्तै घर हुन्थे । झ्याल ढोकाको बुट्टाहरू उस्तै चिटिक्क हुन्थ्यो, ढुङ्गाको गाहे काठको छानो भएको दुई तले घरको भित्र पनि काठैकाठ हुन्थ्यो, ओछ्याउने पनि काठ, छाउने पनि काठ भएरहोला जाडो समयमा पनि तातो, न्यानो हुन्थ्यो । हिमपातको समयमा पनि त्यहाँ सुत्न न्यानोहुन्थ्यो स्थानीय फुर्पुसिङ्गी तामाङले भने भूकम्पपछि गत्लाङ गाउँको आफ्नो पहिचान हराएको छ । तर पनि पर्यटन व्यवसाय उठाउन हामी लागेका छौ । भूकम्पले सबैको घरहरू भत्किए, विभिन्न संघसंस्थाहरूले राहतको रुपमा जस्तापाता बाँड्न थाले, पुरानो घर भत्किएकोले जस्ताकै टहराहरू बनाउन थाले । त्यसैले व्ल्याक गाउँ अहिले रङ्गीचङ्गी भएको हो ।Gatlang Village

काठको छानामा हिउँ परेपनि न्यानो हुन्थ्यो तर जस्ताको छानाले धेरै चिसो हुने अनुभव स्थानीयले सुनाए । जस्तापाताको छानामा हिउँ पर्ने समयमा धेरै समय हिउँ जमेर बस्ने हुँदा यो गत्लाङलाई उपयुक्त नभएको उनीहरू बताउँछन् । त्यसैले गर्दा झन् धेरै चिसो हँुदो रहेछ । गत्लाङगाउँ हिमालको मुनि भएकोले यहाँ मंसिर महिनादेखि नै हिउँ पर्न सुरु हुन्छ । ‘पर्यटक घट्नुको पनि एउटा कारण हो, सार्की भन्छिन् ।’
भूकम्प जानुभन्दा पहिले चिलिमेको गोङगाङ् भन्ने ठाउँमा प्राकृतिक तातोपानीको कुण्ड थियो, भूकम्पले तातोपानीको मुहान सुक्यो । शरिरमा आएको घाउ खटिरा निको हुने, ग्यासट्रिक, गानोगोला, जोर्निहरू दुख्ने जस्ता विभिन्न खालका रोगहरू निको हुने विश्वासले तातोपानीमा नुहाउन आन्तरिक र बाह्य पर्यटक आउथे । रसुवा, नुवाकोट, धादिङ्ग, सिन्धुपल्चोक, गोर्खा, रामेछाप, चितवन, काठमाडौँ र भारतलगायत अन्य मुलुकबाट तातोपानीमा नुहाउन पर्यटक आउथे । विशेषगरि कात्र्तिक र चैतको महिनामा दैनिक सयभन्दा बढि मानिसहरू गत्लाङ गाउँ हुदैँ रसुवाकै गोङगङ गाउँमा रहेको तातोपानीमा नुहाउन उनीहरू आउथे । अहिले तातोपानी सुकेकोले पर्यटन क्षेत्रमा ठूलो घाटा लागेको सर्की तामाङको अनुमान छ । गत्लाङहुँदै जाने तामाङ सम्पदामार्गको अध्ययन, अवलोकन, अनुसन्धान गर्न काठमाडौँबाट आउँने पर्यटक पनि पछिल्लो घटेको छ । पहिला यो मार्गको अध्ययन गर्न प्रत्येक वर्ष ४० जनासम्मका ३/४ वटा समूह आउँथे । गत्लाङमा धेरैजसो विदेशी पर्यटक आउने गरेको तामाङले सुनाइन् ।

सर्कीले २ सिजन भया,े होमस्टे एक्लै चलाउछिन् । पहिला उनले खाना पकाउन एक जना कुकलाइ तलब दिएर राखेकी थिइन् । सिजनको समय स्कुल विदा भएको बेला छोराछोरीहरू काठमाडौँबाट सघाउन आउँथे । अहिले ९ वर्षको कान्छी छोरीमात्र उनीसँग छन् । पति आफ्नै काममा व्यस्त छन् । पाहुनालाई खाना बनाउने, सरसफाइ गर्ने सबै काम उनी आफै गर्छिन् । आजभोली उनका दिन पर्यटकके पर्खाइ मै बितिरहेका छन् ।‘पर्यटक (पाहुना) आउँछन् कि भनेर दिनभर कुरेर बस्छु, कहिलेकहिँ दिनभर कुर्दा पनि पाहुना आउँदैनन्, त्यो बेलाचाहिँ निकै गाह्रो हुन्छ, आफ्नो समय पनि खेर गइरहेको हुन्छ, चिन्ता लाग्छ, पेशा नै परिवर्तन गर्नुपर्छ कि जस्तो लाग्छ, तामाङ भन्छिन् ।’

गत्लाङमा होमस्टे सञ्चालन गर्ने प्रायः महिलाले आफ्नै खेतवारीको उत्पादन पर्यटकलाई खुवाउँछन् । तरकारीका लागि घर घरमा ग्रीन हाउस भएकोले धेरैजसो किन्नु पर्दैन । आफ्नै बारीमा आलु, सिमी, चम्पा बोडी, मकै लगाउछन् । बहिरबाट उनीहरूले प्रायः चामल मात्रै ल्याउछन् । गत्लाङमा उत्पादन हुने आलु र सिमी घुम्न आउने पर्यटकहरूले मिठो छ भन्दै किनेर लैजाने पनि गर्छन् । कतिपय पर्यटकहरू गाउँ राम्रो लाग्यो भन्दै फेरी पनि आउने गरेको कर्साङ तामाङ बताउँछन् । ग्रीन हाउस भित्र गोलभेडा, सागपात, बन्दा, काउली, मुला, खुर्सानी, धनियाँ, लसुन, प्याजलगायत धेरै तरकारी लगाउँछन् । एक पटक लगाइएको तरकारी ६ महिनासम्म खान मिल्छ ।

Gatlang Himpat

गत्लाङमा पर्यटकलाई आकर्षण गर्ने धेरै कुरा छन् । यहाँ एकसय आठ ओटा मन्दिर तामाङ भाषामा छ्र्योतेनहरू छन् , गुम्बा छ । यहाँबाट पार्वतीकुण्ड, गणेश हिमाल र लाङटाङ हिमालको दृश्य निकै राम्रो देख्न सकिन्छ, तामाङहरूको एउटा छुट्टै पहिचान छ । तर यी सवै कुराको प्रचार नभएकोमा पर्यटन व्यावसायी निराश छन् । ‘यो गाउँलाई अरु धेरै गाउँमा चिनाउन पाएहुन्थ्यो, होमस्टे सञ्चालन गरेका कर्साङदावा तामाङले भने । कहिले वडा अध्यक्ष र सदस्यहरूसँग कुराहरू राख्ने गरेको उनले सुनाए । ‘पहिलाको जस्तो गाउँ बनाउनु प¥यो भनेर उहाँहरूले पनि हामी प्रयास गरिरहेका छौँ भन्नुहुन्छ, संघ संस्था , वडा कार्यालय, गाउँपालिकाहरूको सहयोगमा बिस्तारै गत्लाङगाउँ फेरिपनि कालोगाउँ ‘ब्ल्याक भिलेज’ को रुपमा फर्कउन सकेहुन्थ्यो । पुनः परम्परागत तवरकै काठैकाठका घर बनउन सके हुने । न्यानो घर बनाउने र बस्न पाए कालोगाउँ सपना पनि पुराहुने अझै आशा छ । होमस्टे व्यवसायी कर्साङ तामाङले भन्छन् ।’ कालोगाउँ अर्थात ब्ल्याक भिलेज’ रातोहुँदै रङ्गीचङ्गी भएकोमा वडा अध्यक्ष दावागोम्बो तामाङलाई पनि निको लागेको छैन । ‘ पहिले त यस्तो लेकको ठाउँमा जस्तापाताको छाना उपयुक्त नहुने रहेछ । हिँउ पर्ने समयमा धेरै चिसो हुने, भएकोले उनले सुनाए ।’ पुर्खा बाउबाजेहरूले घर बनाउन पाङ्लेपको प्रयोग गरेकै कारण यो हिमालको मुनि बस्न सकेका रहेछौं भन्नेपनि उनले बल्ल अनुभव गरे ।

छानाचहिँ पाङलेपकै लगाउनुप¥यो भनेर वडा कार्यालयबाट कार्यक्रम अगाडि ल्याएपनि वन कार्यलयबाट काठ नदिने भएपछि रोकिएको जानकारी वडा अध्यक्ष दावा गोम्बो तामाङले दिए । सबै घरहरूमा काठको छाना हालेर एकै पटक ब्ल्याक भिलेज बनाउन नसके पनि बर्षको दश पन्ध्र वटा घरमा भएपनि पाङ्लेपको प्रयोग गर्न सहयोग गर्ने योजना रहेको वडा अध्यक्ष तामाङले सुनाए । भूकम्प जानुअघि पाङ्लेप अर्थात् काठको छाना भएको घर बनाउन तीन दिन सबै गाउँले प्रत्येक घरबाट काम गर्न एक एक जना जानुपर्ने नियम थियो । बर्षमा दुई, तीन, ओटा घर बनाउथ्यो, फलेक ओर्सानलाई एक दिन, पाङ्लेप ल्याउन एक दिन र ढुङ्गा माटो गर्दा तीन दिन प्रत्येक घरबाट एकजना जानुपर्ने नियम स्थानीयले बनाएका थिए । ‘अहिले भूकम्पपछि त्यो परम्परा पनि हरायो, आफ्नो घर पनि भत्किने अर्काको घर पनि भत्किने भएपछि कसको के बनाउने, के गर्ने भन्ने भयो यतिकै हरायो, तामाङले भने ।’ नेपाल भ्रमण बर्ष २०२० मा गत्लाङ गाउँमा धेरै स्वदेशी तथा विदेशी पर्यटकहरू ल्याउने लक्ष्य रहेको वडा अध्यक्ष तामाङले बताए ।

लाङटाङ राष्ट्रिय निकुञ्जका रेन्जर रमेश बस्नेतले यो सिजनमा दैनिक एकसय पचासको हाराहारीमा पर्यटक आइरहेको जानकारी दिए । उनका अनुसार निकुञ्जमा आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्ने रहेका छन् । गोसाँईकुण्ड, लाङटाङ र तामाङ सम्पदा मार्गमा पर्यटक जानका लागि कुनै पनि समस्या नरहेको निकुञ्जका रेन्जर रमेश बस्नेतको दावी छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार प्रमुख लेखनाथ पोखरेल यहाँको मौलिकता बचाउन गत्लाङका तामाङ समूदाय नै अघि सर्नुपर्ने बताउँछन् । परम्परागत बस्तीको मौलिकता कायम राख्न, कालोगाउँ गत्लाङको मौलिक संरचनालाई जोगाउनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईले पुननिर्माण प्राधिकरणको केन्द्रिय कार्यालयमा त्यसको संरक्षण, व्यवस्थापन, मौलिक पहिचानको संरक्षणको लागि स्थानीय तहबाट लिखित रुपमा प्रस्तावहरू आउनुपर्ने हुन्छ जुन अहिलेसम्म आएको छैन । कालोगाउँको नामले चिनाउने गत्लाङगाउँको पहिचान पुन: फर्काउन पहल गर्ने प्रतिवद्धता छ प्रमुख पोखरेलको बताउनुभयो ।

नेपाल सरकारले ऐतिहासिक गुम्बा, परम्परागत बस्ती संरक्षण गर्न आवश्यक बजेट व्यवस्था गर्ने बताउँदै स्थानीय जनता, राजनीतिकदलका प्रतिनिधी, जनप्रतिनिधीहरू, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, बुद्विजीवीहरू, पुनर्निर्माणसँग सम्बन्धित कार्यलयहरू सबै मिलेर पहल गरेमा गत्लाङलाई पुनः कालो गाउँको नामले चिनाउन सकिने विश्वास रहेको स्थानीय बताउँछन् ।

कविता रेडियाे लाङटाङमा कार्यरत पत्रकार हुन् ।

Comments

comments