भूकम्प पछिको उद्धार ,राहत र पुर्नर्निमाणमा रसुवा

Samir

माधव लामीछाने ‘समिर’

भुमिका
गत वैसाख १२ गतेको विनासकारी भुकम्प र त्यसपछिको पराकम्पनहरुका कारण रसुवा जिल्लाले ठुलो क्षति व्यर्होनुप¥यो । सायद रसुवाको जनसंख्यालाई हेर्ने हो भने भुकम्पमा भएको यो क्षती नेपाल कै पहिलो हुन सक्छ । झण्डै ६६० हाराहारीमा मृत्यु १३४ भन्दा माथी वेपत्ता र झण्डै ७०० को संख्यामा घाईते भए । ४३००० जनसंख्या भएको रसुवामा भएको यो क्षतीको अनुपात झण्डै सिन्धुपाल्चोकलाई उछिन्ने खालको छ ।

रसुवाका ९९ प्रतिसत घरहरु पुर्ण क्षति भए भने विद्यालय तर्फ १११७ कक्षा कोठा मध्ये ७३० पुर्ण क्षति र १०५ सामान्य क्षति भएको छ । अरु कैयौ मन्दिर, गुम्वा, सरकारी कार्यालय, संघ संस्थाका कार्यालय समेत ध्वस्त भए । सवै जसो जनता अस्थाई पाल वा टहरामा वसेका भएपनि हाकु लाङटाङ डाडागाउँ ठुलोगाउ राम्चेका कैयौ वडाका जनताहरू आफ्नो वर्षौदेखिको थातथलो छोडी विस्थापितको रुपमा काठमाण्डौको पहेलो गुम्वा, नुवाकोटको सिमुटार, सातविसे रसुवाको वोगटीटार, लामाटोल र धुन्चेमा शरण लिई वसेको अवस्था छ । यो लेखमा भुकम्प पछिको अवस्थामा भएको उद्धार, राहतका कामहरु तथा पुननिर्माणको सम्वन्धमा कसरी अगाडी वढ्न सकिन्छ भन्ने विषयमा केही प्रकाश पार्न खोजिएको छ ।

उद्धारको अवस्था
हाम्रो यो पुस्ता यती ठुलो विपतको बीचवाट गुज्रेको थिएन । तै पनी हामीले आफुलाई ठुलो विपद पछिको अवस्थामा कसरी उद्धारको काममा लाग्ने भन्नेकुरामा एकरुपता पैदा भयो । सवै जना सवै ठाउमा स्वतस्फुर्त रुपमा उद्धारमा सामेल भए । कोही पनी नेपाली एतिखेर चुपलागेर वस्न सक्दैन थियो । र भयो पनि त्यही । हाम्रो जिल्लाको कुरा गर्दा लाङटाङ पुरै ध्वस्त भएको थियो भुकम्प पछि आएको हिमपहिरोका कारण रसुवागडी मैलुङ क्षेत्रलगायतमा तत्काल उद्धारको काम अगाडी वढाउनुपर्ने अवस्था थियो । जसको लागी नेपाली सेना शसस्त्र प्रहरी र नेपाल प्रहरीले खेलेको भुमिकाको जति प्रशंसा गरेपनि कम हुन्छ । आफ्ना घरह भत्कीएका छन व्यारेक ध्वस्त छ । आफन्तहरु मरेका छन् । तर उनीहरु कतिपनी विचलित नभैकन तत्काल उद्धारमा जुटेको अवस्था रहयो हाम्रो जिल्लामा । नेपाली सेनाका गणपति लक्ष्मण थापा, नेपाल प्रहरीका डिएसपी प्रवीण पोखरेल र शसस्त्र प्रहरीका डिएसपी जीवन केसी, प्रमुख जिल्ला अधिकारी उद्धव भट्टराईको नेतृत्वमा जुन ढंगले युनिफाईड भएर उद्धारमा लाग्नु भयो यदि त्यसो हुन नसकेको भए रसुवामा थप हताहती निस्चित थियो ।

यसको लागी उहाँहरु सदा स्मरण योग्य हुनुहुन्छ । यो बीचमा रसुवामा सवै भन्दा धेरै हेलिकोप्टर उडे । जहाँ उद्धारमा जान्छ त्यहा जाँदा अनिवार्य आपतकालिन खाध्यान्न पठाउने काम भयो त्यसको लागी धुन्चेवजारमा भएका पसलहरुवाट सवै सामान प्रशासनले उठायो र राहतमा पठायो । यो कार्यको लागी रसुवाका तत्कालिन एलडिओ गजेन्द्र ठाकुरले पहल कदमी लिनु भयो । सुरुका दिनमा राजनैतिक दल र सामाजिक कार्यकर्ताहरु आ आफ्नै ठाउमा खटेर उद्धारमा पहलकदमी लिए सर्वप्रथम पुरिएका घाईतेहरुको उद्धार गरियो । तत्काल जुन गाडी जहासम्म लान सकिन्छ लगेर घाईतेहरुलाई उपचारको व्यवस्था गरियो यती सम्मकी विरामीलाई सडकमै सुताएर सामुहिक रुपमा स्वास्थ्यकर्मीहररू उपचार गरिरहेको देखिन्थ्यो । सडक डिभिजनलाई सडक खुलाउन विषेश निर्देशन दिन लगाईयो भने विद्युत आपुर्तीको लागी जोड दिईयो । जसका कारण तल्लो भेगमा तत्काल वाटो खुल्यो १६ गते धुन्चे सदरमुकाम सम्मको वाटो खुल्यो र २६ गते स्याफ्रुवेसी सम्मको वाटो खुल्यो । विद्युत आपुर्ती मुख्य वजारहरू कालिका स्थानमा ३ दिन पछि सुचारु भयो भने अन्य स्थानमा क्रमस जोड्ने काम भयो । चिलिमे जलविद्युत कम्पनीले १५ दिन पछि आफ्नो उत्पादन सुरु ग¥यो । गाउँमा रहेका घाईतेको उद्धारसँगै मृत्यु भएकाहरुको लास सदगत गर्न ठुलै चुनौती थियो यो काम दोश्रो र तेश्रो दिनमा सकियो ।

पोष्टमार्टम गर्न सक्ने अवस्था थिएन । कतिपय सदगत पुर्जी समेत घाटमै गएर दिने व्यवस्था भयो किनकी सवै गाउमा प्रहरी पुग्न सक्ने अवस्था थिएन । वेत्रावतीको घाटमा एकै दिन एकै ठाउमा ४६ जनाको सामुहिक अन्त्येष्ठी भयो । यो कम हृदयविदारक अवस्था थियो । जहाँ कसैले अभिभावक गुमाएका थिए भने कतिले आफ्नो प्राण भन्दा प्यारा सन्तान गुमाएका थिए । सवैको हृदय रोईरहेको थियो । आखाँ सवैको झुकेको थियो । अनी आसुले भरिएको थियो । यो दृष्य यो पुस्ताले आजसम्म देख्न नपरेको दृष्य थियो । यस बीचमा लाङटाङमा अलपत्र विदेशी र नेपालीहरुलाई उद्धारको काम भयो भने मैलुङ क्षेत्रमा रहेका घाईते र पहिरोमा फसेकाहरूको उद्धारको काम अगाडी वढ्यो । छ दिन पछि पनि सुरुङमा फसेका र आफन्त गुमाएर एकल भएका सानो वालकको सुरक्षा फौजले जिवितै उद्धार ग¥यो ।

राहतको काम
उद्धारको काम संगसंगै राहतको काम पनि जोडीएर आउदो रहेछ । असामान्य अवस्थाका कामहरु पनि असामान्य ढंगले नै हुदा रहेछन । यस्तो अवस्थामा वैज्ञानिक ढंगले योजना निर्माण गर्नेकुरा महत्वपुर्ण हुने रहेछ । रसुवा जिल्लामा यो विपतको सही व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रसुवा जिल्लालाई ५ क्षेत्रमा विभाजन गरियो र सवै क्षेत्रमा उपसचिव स्तरको कर्मचारीलाई खटाइयो ।

रसुवा जिल्लाको सवैभन्दा वढी जनघनत्व भएको क्षेत्र कालिकास्थान केन्द्र भयो जहा तल्लो भेगका यार्सा, सरमथली, भोर्ले, धैवुङ, लहरेपौवा, डाडागाउ, ठुलोगाउ र राम्चे सहितको गाविस हेर्ने काम भयो । यहाँ २ जना उपसचिव हरु रहनु भयो भने गोल्जुङ गतलाङ र चिलीमेको लागी थाम्वुचेत, टिमुरे वृद्धिम, थुमन स्याफ्रुको लागी स्याफ्रुवेसी केन्द्र धुन्चे हाकुका लागी धुन्चे केन्द्र, तथा लाङटाङ मानव विहिन भईसकेको अवस्थामा धुन्चेवाट सिधै हेर्नेगरि क्षेत्र निर्धारण गरियो र राहतको काम अगाडी वढ्यो । यो क्रममा सवै जनताको घरमा राहत पुगोस भन्ने लक्ष्य सहित प्रत्येक वडामा रहेका वडा नागरिक मञ्चलाई कृयाशिल वनाईयो र केन्द्रीकृत रुपमा राहत संकलन गर्ने र विकेन्द्रीत रुपमा वडा वडामा मात्र वितरण गर्ने गरि संयन्त्र निर्माण गरियो । हरेक संकलन केन्द्रमा उपसचिवको नेतृत्वमा राजनैतिक दल सहितको समिति रहने र त्यसले राहत सामाग्री गाविस सचिवको नेतृत्वमा रहेको सर्वदलिय समितिलाई हस्तान्तरण गर्ने र गाविसले पनि वडा वडामा वडा नागरिक मञ्चका प्रतिनिधीहरुलाई वुझाएपछि जनताकोमा राहत वितरण गर्ने गरि संयन्त्र निर्माण भयो । यसले राहत वितरणलाई यती प्रभावकारी वनाईदियो कि प्रत्यक्ष पिडित जनताकोमा राहत पुग्यो । कोही दोहोरिएनन । कसैले नपाउने अवस्था पनि रहेन । राहत वितरणको वैज्ञानिक योजना वनाउन नसक्दा कतिपय जिल्लामा मन्त्री र सांसदहरु लखेटिएको भन्ने कुरा सुनिएको थियो तर रसुवा जिल्लामा राजनैतिक दलको अगुवाईमा वैज्ञानिक ढंगले वितरण भयो ।

यहाँ सम्म की खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सामुहिक रुपमा जनतालाई कुनै गुनासो छ की भनी सोध्दा झण्डै २५० जना रहेको ठाउमा एक जना कर्मचारीले गरेको ब्रिफीङलाई राजनैतिक दल र जनताले स्विकार्नुले पनि वैज्ञानिक योजना वनेको देखियो । देशका शिर्ष व्यक्तित्वहरु राष्ट्रपती, प्रधानमन्त्री, मन्त्रीहरु र राजनैतिक दलका प्रमुखहरुले समेत रसुवाको उद्धार र राहत वितरणको कार्यको खुलेर प्रशंसा गर्नुभयो । रसुवामा यतीसम्म भयो की यो संयन्त्र वेगर आफुखुसी राहत वाढ्न पुगेका केही संघ संस्थालाई जनताले संयन्त्र मार्फत आउन भनी गाउँ गाउँवाट फिर्ता समेत गराए । सुरुको चरणमा पुरै एकद्धार प्रणालीवाट राहत वितरण सम्पन्न भएपनि पछिल्लो चरणमा सत्तारुढ दलका केही एनजिओहरुले आफ्नो पार्टीको राजनीति गर्न खोजेको पनि देखियो । केही रसुवाली जनताका मसिहा ठान्ने चरम जातीवादी नेताहरूले प्रशासनवाट लुकीछिपी आफ्ना कार्यकर्तालाई राहत वाँढेको पनि देखियो । त्यस्तो कार्यलाई रसुवाली जनताले कालो धनलाई तह लगाएको, राहत सामाग्रीमा अनियमितता गर्न प्रशासनवाट लुकाएको भन्न समेत पछि परेनन ।

जे होस उपलव्धीको तुलनामा समस्या नगन्य छ । राहत समितिको तत्कालिन सोच एक घरमा एक त्रिपाल एक कम्वल र न्युनतम एकवोरा चामल पु¥याउने रहयो । त्यो लक्ष्य पुरा पनी भयो यसका लागी रसुवामा कृयाशिल राजनैतिक दल सभासदहरू र स्थानीय विकास अधिकारी गजेन्द्र ठाकुरको महत्वपुर्ण भुमिका रह्यो । अहिले रसुवामा खाध्यान्नका अतिरिक्त प्रत्येक पुर्ण क्षति भएको घरलाई दूई वण्डल जस्तापाता र राज्यवाट प्रदान गरिने खाध्यान्न वापतको २००० र वासस्थानको लागी ५००० र ३००० सवैलाई प्रदान गरिसकिएको छ भने नगद १५००० दुईवटा गाविसका ३ वटा वडामा वितरण हुन वाँकी रहेपनी अन्यत्र सवै तिर वितरण भई सकेको छ । आगामी हप्ता नगद राहत वितरणले पुर्णता पाउनेछ ।

पुननिर्माण
रसुवा जिल्ला भुकम्पका कारण क्षतिग्रस्त छ । प्राय सवै घरहरु भत्कीएका छन । विस्थापितहरू शिविरमा छन् । यस्तो अवस्थामा अव कसरी पुननिर्माण गर्न सकिन्छ । अहिले हाम्रो ध्यान त्यता केन्द्रित भएको छ । यसको लागी हामीले रसुवाको अत्यन्त विकटमा रहेका वस्तीहरु जहाँ राज्यका स्रोत साधन पु¥याउन कठिनाई भै रहेको छ । त्यसलाई एकीकृत वस्तीका रुपमा अगाडी कसरी वढाउन सकिन्छ भनेर सोची रहेका छौ । यसको लागी रसुवाको वोगटीटार नौविसे क्षेत्र, कालिकास्थान क्षेत्र र स्याउवारी लोकिल क्षेत्र तथा धुन्चे, थाम्वुचेत, पाटीखर्कलगायतको क्षेत्र एकिकृत वस्ती विकास गर्न कती उपयागी हुन सक्छ भनेर हेर्दैछौं । भने अर्कोतिर सवै घरहरु भुकम्प प्रतिरोधी र एउटै डिजाईनमा पुनर्निमाण गर्न कति सम्भव छ भनेर छलफल गरिराखेका छौ । अर्कोतिर स्थायी आवासको लागी राज्यले दिने भनेको दुईलाखले पुग्ने अवस्था छैन ।

त्यस्तो अवस्थामा अन्य राष्ट्रिय र अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरु संग समेत कुराकानी भै रहेको छ । आवस्यक पर्दा रसुवाको कुनै पनी ठाउको जग्गा सरकारले अधिग्रहण गरेर वस्ती वसाउनु पर्ने हुन्छ । रसुवा जिल्लाका प्रशासक र राजनैतिक दलहरु विचको यो समझदारीलाई नयाँ रसुवा पुननिर्माण सम्म लैजान आवस्यक छ । यसले नै महाभुकम्पका कारण विनास भएका सवै संरचनाहरुको पुननिर्माण र नव निर्माण गर्ने उर्जा पैदा गर्नेछ ।
अस्तु
लेखक एनेकपा माओवादी रसुवाका नेताहुन् ।

Comments

comments