भूमि सुधार मन्त्री डा.गोपाल दहितसँग छलफल

Rasuws landRasuws land

भूमि सुधार तथा व्यवस्था मन्त्री डा. गोपाल दहितसँग भेट गरी रसुवा जिल्लामा विद्यमान रहेको भूमि सम्बन्धि समस्यामाथि छलफल गरी माग पत्र बुझाइयो । जिल्लामा रहेको भूमि समस्याहरू बिर्ता, गुठी, सुकुमबासी, पहिरो, विस्थापित परिवारको विषयमा तयार गरिएको ७ बुँदे माग पत्र पढी मन्त्री दहितलाई उनकै कार्यकक्षमा हस्तान्तरण गरियो ।

डेलिगेसनमा सहभागी टोलीसँग छलफल गर्दै मन्त्रि दहितले आफू पनि अभियानको पृष्ठभूमिबाट आएकाले भूमिसम्बन्धि धेरै मुद्दाहरू आफ्नो कार्यकालमा समाधान गरिने बताउनुभयो । उहाँले भन्नुभयो, हाल हामीले मन्त्रालयमार्फत तीन वटा ऐन निर्माण गरी पारित गर्नको लागि मन्त्री परिषद्मा लाने तयारी गरेका छौं, यो मन्त्री परिषद्बाट पारित भयो भने भूमिसम्बन्धि रहेको अधिकाशं समस्याहरू समाधान हुने छ । यस्तै, रसुवा जिल्लामा हालसम्म रहेको बिर्ता समस्या समाधानको लागि मन्त्रालयमा उच्चस्तरीय टिमसँग तत्कालै छलफल गरी यथासक्य समाधानको लागि सहयोग गर्ने बताउनुभयो, उहाँले भन्नुभयो, भूमिहीन र सुकुमबासीको समस्यामा पनि अव तत्कालै समाधान गरिनेछ र त्यसको लागि व्यवस्थित बसोबास आयोगलाई पूर्णता दिई जिल्ला जिल्लामा पनि अधिकारसम्पन्न समितिहरू बनाई अघि बढिने छ ।
डेलिगेसन छलफलमा रसुवा जिल्लाबाट माननीय सांसद् जर्नादन ढकाल, नवनिर्वाचित जिल्ला समन्वय समितिको अध्यक्ष कुलप्रसाद भट्ट, उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्साल, कालिका गाउँपालिकाकी अध्यक्ष सिता कुमारी पौडेल अधिकारी, उपाध्यक्ष भवानीप्रसाद न्यौपाने, उत्तरगया गाउँपालिका वडा नंं. १ का वडा अध्यक्ष, जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरू, जिल्ला भूमि अधिकार मञ्चका प्रतिनिधि र सामुदायिक आत्मनिर्भर केन्द्रका प्रतिनिधि, पत्रकार महासंघका प्रतिनिधि र विस्थापित परिवारका अगुवाहरू सहभागी भएका थिए ।

Comments

comments