भोटेकोशीको बाढी दशकयताकै ठूलो, १५ घरमा क्षति, ५० मिटर सडक बगायो

badhi

असार २२, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा एक दशकयताकै सबैभन्दा ठूलो बाढी आएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार तातोपानीको लिपिङमा झण्डै १५ घरमा बाढीले क्षति पु¥याएको छ । यस्तै भन्सार कार्यालयमा रहेको दुई वटा ट्रिपर र भन्सारको क्यान्टिन बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी उपरीक्षक रवीन्द्र केसीका अनुसार मंगलबार रातिदेखि अत्यधिक वर्षाले भोटेकोशी नदीमा पानीको बहाव बढेकाले नदी किनारमा बसोबास गर्ने स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको र बाढीले हालसम्म कुनै पनि मानवीय क्षति भएको विवरण नआएको केसीले जानकारी दिए ।

तिब्बत क्षेत्रमा लगातारको वर्षाका कारण आएको बाढीले तातोपानी, बाह्रबिसे, लामोसाँघु, खाँडीचौरलगायत क्षेत्र डुबानमा पर्न सक्ने सम्भावना देखिएको छ ।

वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत जम्बु भन्ने स्थानमा बाढीले सडक ५० मिटर कटान गरेको र जुरेमा माथिबाट खसेको लेदोका कारण बन्देउ–तातोपानी सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु पाण्डेले बताए ।

Comments

comments