मदन भण्डारी र आजको नेकपा

dayal-bahadur-sahi

दयालबहादुर शाही

 

झापा बिद्रोह र जनयुद्ध दुबैको विरासत कुनै न कुनै ढंगले जनताको बहुदलीय जनवादमा आएर ठोक्किन र मिसिन पुगेपछि अब नेकपा जननेता मदन भण्डारी र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको त्रिवेणी बनेको छ ।

सबैथोक पाएर पनि एमालेलाई माओवादी र प्रचण्डको अभाव खड्किएको थियो भने माओवादीलाई पनि ओलीकालीन एमाले बिनाको यात्रा रुखो हुन्छ जीवन मायालु बिनाको भैरहेको थियो । लामो समयदेखिको इगो र प्रतिशोधले भने यस सत्यलाई आत्मसात गर्न दिएको थिएन ।

समय र मान्छे अक्सर छुट्टा छुट्टै हिड्ने गर्दछन्, जब एकै ठाउँमा पुग्छन् तब इतिहास निर्माण हुन्छ भन्ने जनरल प्रबेज मुसरफको कथन ओली र प्रचण्ड मिलनपछि निर्माण भएको नेकपाको पुर्नएकीकरणको इतिहासमा लागु भएको छ । अब झापा आन्दोलन, जनयुद्ध र जबजका बिरासतहरु रुखमा बेरियो लहरो र लहरोमा जेलियो रुख भएर एकाकार भैसकेका छन् । मदन, केपी र प्रचण्डको व्यक्तित्व, नेतृत्व, देन, गुण तथा कुशलताको समस्टीले ओदानका तीन खुट्टा जस्तै वा धनुष, वाण र तीरले जसरी एकअर्काको पूरकको रुप लिएको छ । अब यी तीन बिरासतहरु मध्ये एकको अभावमा दुईको औचित्य र महत्तामाथि ग्रहण लाग्ने देखिदै छ । मदनको पिठ्युँ पछाडि केपी र प्रचण्डले लिने हुर्मत वा दुई अध्यक्षले एकअर्कालाई ताछ्न लिने सरल बाटोको अन्ततः आफ्नै खुट्टामा बन्चरो हुने अवस्था छ ।

भूपू हवाल्दारले जुँगामा ताउ लगाएर कड्किएपछि थुरथुर काम्ने अवस्थाको समाजलाई गणतन्त्र, सामाजिक जागरण र रुपान्तरण थमाउने प्रचण्डको भूमिका र योगदान, संसदीय लोकतान्त्रिक प्रतिष्पर्धाको राजनीतिमा सिकसिके पाराले लर्खराइरहेको नेपालको वामपन्थी आन्दोलनलाई सैद्धान्तिक आधार, तर्कपूर्ण बहश र निष्ठापूर्ण अभ्याससहितको जनताको बहुदलीय जनवादी मार्गचित्रको प्रतिपादन गरी कम्युनिष्ट पार्टी स्वयंको लोकतान्त्रिकरणमा भण्डारीले दिएको देन र आफ्नो मह बिर्सिएर अरुका उखुमा राल काडेर बिभिण्डन लागेको एमालेलाई जबजको मियोमा अटल राख्ने क्रममा आस, त्रास, भ्रम, जाल, निन्दा र प्रशंसाबाट अप्रभावित रहेर ओलीले दिएको त्राण नेकपाले जोगाइराख्नु पर्ने विरासतहरु हुन् । यसरी नेकपारुपी मानस पुत्रको सोच्ने दिमाग मदन भण्डारी, उभ्याउने मेरुदण्ड केपी ओली र चलायमान राख्ने पाउ प्रचण्डलाई मान्न सकिन्छ ।

मदनको विचार, केपीको अडान र प्रचण्डको गतिशीलता रुपी सत्यसँगको साक्षात्कार नेकपाको अटल सौभाग्यको आधार हो । यी मध्ये कुनै एक, कुनै दुई वा सबैप्रतिको उपेक्षा र विस्मृतिले नेकपाको चेतनास्तरमा क्षति पुग्ने छ । भण्डारीले जागृत पारेको जनताको बहुदलीय जनवादी संवेगबाट नेकपा चाहेर पनि तरंगित रहनबाट मुक्त हुन सक्ने छैन । झापा बिद्रोहको उठान, सुरक्षित अवतरण, माले एमालेको उत्कर्ष अवस्था, धक्का, उतारचढाब, लोकप्रियता र निन्दावर्षादेखि पुनरोदयसम्मको अविश्रान्त नायक र नेकपाको एकतामा खेलेको भूमिकाले केपी ओलीको वामपन्थी आन्दोलनमा विशिष्ट स्थान छ । चौथो महाधिवेशको जीर्णोद्धार, मशाल हुँदै एकता केन्द्रकालको शक्ति संचय, नेकपा माओवादीको गठन, जनयुद्धको उठान, संचालन, उत्कर्ष, सुरक्षित अवतरण, शान्ति प्रकृयाको सफलता र मूलधारको राजनीतिमा सामेली, माओवादीका उतारचढाब हुँदै नेकपाको पुनः एकीकरणसम्म तन्किएको दीर्घ राजनीतिक यात्राले पुष्पकमल दाहाललाई जुन प्रचण्ड तेज, गति र शक्ति प्राप्त भएको छ, विरलाकोटीको छ । यसर्थ व्यक्ति पूजा र गुणग्राही नहुने जस्ता दोहोरा खतराबाट जोगिदै सन्तुलनमा रहेर नेतात्रयप्रतिको वस्तुवादी मूल्यांकन र बुझाइले नेकपाको उत्कर्षलाई जोगाइराख्न सघाउ पुग्ने छ ।

मदन र नेकपाको विचार शक्ति

नेपालको वामपन्थी आन्दोलनलाई विचार, जनाधार र सदाचारको त्रिवेणी बनाउने श्रेय मदन भण्डारीलाई जान्छ । मदन भण्डारीको मति, गति र सरस्वतीको पोषण पाउनु अघि नेपालका वामपन्थीहरु चुलिएको महत्वाकांक्षा र ओछो राजनीतिक संस्कारले खडा गरेको दरारमा फसेको स्थिति थियो ।

फुट्न पनि रुचाउने र संगठन निर्माणका लागि जीवन समर्पित गर्ने जस्तो दोधारे जीवन शैली र पागलपन वामपन्थीको वास्तविकता थियो । दुई कम्युनिष्ट तीन चिरा कम्युनिष्ट नेताहरुको मिल्नै नचाहने कुलत झल्काउने सटिक अभिव्यक्ति थियो । बर्मा, मानन्धर, अमात्य आदि व्यक्तिविशेषको आधारमा वामघटकहरुको बिस्कुन लाग्दै गरेको अवस्थामा मदन भण्डारीको उदय नेकपाको यो सफलताको जग थियो ।

झापा बिद्रोहको सुरक्षित अवतरण, नेकपा(माले)को मूल प्रवाहीकरण, माले र माक्र्सवादीको एकीकरण गरी दुबै पार्टीको एकैसाथ गरिएको उद्धार, २०४६ सालको जनआन्दोलनका लागि नेपाली कांग्रेससँगको सहकार्य, उत्कर्ष कालको कांग्रेससँग नेपाल कम्युनिष्टहरुको तर्फबाट विचार, राजनीति, संगठन, जनपरिचालन, जनमत र वाक्युद्ध समेतका हिसाबले पहिलो पटक लिएको हातेपाईले २०३५ सालदेखि २०५० साल सम्म डेढ दशक लामो मदन भण्डारीको राजनीतिक जीवन आँधिबेहरीको कथा जस्तो रहेको छ ।

छोटो समयमा अतिवृष्टि गर्ने आँधिबेहरीको स्वभाव हुन्छ । भण्डारीले पनि ४१ वर्षको जीवनकालमा नेपालको वामपन्थी आन्दोलनलाई वैचारिक, राजनीतिक, नैतिक, संस्कारगत, आचरणगत, संगठनात्मकदेखि जनलहरको बिस्तारका हिसाबले धनकुबेर बनाएको पाइन्छ । बरु सशस्त्र संघर्षमा होमिएको कम्युष्टि पार्टीका लागि रुसी, चिनियाँ, पेरु, प्रचण्डपथ, बिप्लब आदि विभिन्न मोडेल र विचार आउन सक्छन् तर संसदीय लोकतन्त्रमा हेलिन खोज्ने हरेक वामपन्थीले मदन भण्डारीबाट प्रतिपादित जनताको बहुदलीय जनवादको अग्राधिकारको सामना गर्नुपर्ने हुन्छ । प्रतिशोधका कारण वा प्रतिष्ठासँग जोडेर जबज उच्चारण गर्न संकोच माने पनि शक्ति पृथकीकरण, आवधिक निर्वाचन, वहुलवाद, संसदको उपयोग या त जबजको चोरी गर्नु हो या अलिखित जबजको अवलम्बन हो ।

आम जनसमुदायबाट अलग्गिएर एकांकी र संकीर्ण बन्दै गएको वामपन्थीहरुलाई व्यापक जनसमुदायको बीचमा गएर परीक्षण हुने गुण र कुशलता आर्जन गराउने सैद्धान्तिक मार्गचित्र जनताको बहुदलीय जनवादले नै आम जनता र कम्युनिष्ट पार्टीलाई जोड्ने काम गरेको छ । मदन भण्डारीपूर्वका माक्र्सवादी चिन्तकहरुले कि त संसदको निन्दा मात्र गरेका छन् कि बाध्यताले थचारिएर नचाहँदा नचाहँदै संसदको उपयोग गर्नु परेको भनेर पीडा पोख्ने गरेका छन् । जसरी ढुंगे युगको औजार सिलौटो मानव जातिको साझा उपलब्धि हो, त्यसरी नै संसद, लोकतन्त्र, शक्ति पृथकीकरण पूँजीवादीहरुका मात्र बपौती होइनन्, मानवजातिका साझा उपलब्धि हुन् भनेर वामपन्थीका तर्फबाट हकदाबी गर्ने र यसलाई माक्र्सवादी दर्शनसँग जोड्ने पहिलो चिन्तक र नायक मदन भण्डारीका तर्कमा युवाहरुको हरेक पुस्ता सहमत हुने गरेको छ ।

जबजको जमिन, मैदान जस्तै व्यापक त छ नै कसरतका लागि प्रयोग गरिने ट्रेडमिल को सतह जस्तै गतिशील पनि छ । जसरी ट्रेड मिलमा रहेको मान्छेले ट्रेडमिलको सतहलाई उछिन्न खोज्दा पनि सतह त्यहीँ पुगिसकेको हुन्छ त्यसरी नै चुनाबमा सामेल भएको कम्युनिष्ट पार्टी जबजबाट भागेर गए पनि जबज उसका प्रत्येक पाइलाका लागि जमिन खडा गरिरहेको हुन्छ । तपाइँ जहाँ भए पनि टुबोर पुगोस् कि नपुगोस् तर जबज पुगेको हुन्छ । यसरी नेपालको वामपन्थी आन्दोलनरुपी कस्तुरीलाई शोभा र सुबास दिने बिना जनताको बहुदलीय जनवाद हो ।

प्रतिशोधका कारणले, मन नपरेर, यसका प्रतिको निष्ठा त परैको कुरा भयो, मौसमी भक्ति र ओठे समर्थनमा पछि परेका कारणले वा जबज बिरोधीसँगको साँठगाँठले प्राप्त हुने क्षणिक लाभ हेरेर वा इगो र प्रतिष्ठासँग जोडेर यस महान् विरासतमाथि गरिने अरुचिले आधुनिक राजनीति र चेतनारुपी रेल छुटाएर व्यक्ति स्वयंलाई मात्र पछि पार्ने छ । जबजबाट बिभिण्डिएर नेपालका कुनै पनि वाम घटकले गरिखान नसकेको इतिहासको ऐनाले यही सत्यमाथि प्रकाश पारेको छ ।

माक्र्सवादको नयाँ व्याख्या मानिने जबजको प्रतिपादन एक युगान्तकारी घटना थियो । अग्रजको अपमान र प्रतिभामाथि दमनको भाषा बोलेर सबैलाई बेलनाझै बेल्न र डोजरझै पेल्न रमाएर अधिनायकवाद बम्किने र चम्किने युगको अन्त्य जबजले नै गरेको थियो । मदन भण्डारीको उदयपूर्वको नेपालको वामपन्थी आन्दोलनमा अग्रजको अपमान हुने र नवप्रतिभाको टहल नहुने पशुन्याय बहाली थियो । पशुतन्त्रमा वरिष्ठको सम्मान नयाँपुस्तालाई सुरक्षा, उत्प्रेरणा, मार्गदर्शन र उत्तराधिकारको सहज र लोकतान्त्रिकढंगले हस्तान्तरणको कल्पना हुँदैन । आफुसँग शक्ति छँदासम्म त्यो शक्तिलाई परपीडा पुगाउनमा खर्चने र आफु कमजोर भएर अरुबाट ढाडस पाउनु पर्ने बेला चारैतिरबाट मारमुग्री भोग्नु पर्ने पशुतन्त्रको नियति हुन्छ ।

नेपालको वामपन्थी आन्दोलन जबज युगमा प्रवेश गर्नुअघि क्रान्तिमा होमिएका सपूतहरुले यस्तै नियति भोग्नु आम बन्दै गएको थियो । जालझेल गरेर एउटाले पार्टीसत्ता हत्याउने र केही वर्षपछि उसका हत्कण्डालाई मात चखाउदै अर्काेले झन् ठूलो चर्तिकला देखाएर नेतृत्व हत्याउने होड चलेको थियो । महाधिवेशन संस्कृति र निर्वाचित कमिटी प्रणालीको बलियो जग मदन भण्डारीले नेपालका वामपन्थीलाई लगाएको बिर्सनै नसकिने गुन हो । संशयरहित जब्बर आन्तरिक लोकतान्त्रिक जीवनशैली हेरेर नै कम्युष्टिलाई व्यापक जनसमुदायको साथ र समर्थन बढेको हो । जनताले खानतलासी गर्दा मुखमा लोकतन्त्रको राम राम र बगलीमा अधिनायकवादको छुराको छलकपट जबजमा नभेटाएपछि नै नेपालका वामपन्थीमाथि जनबिश्वास बढेको हो । यसरी कम्युनिष्टहरुका चारै दिशा उज्याला भएर आउनु, माग्यो भिक लाग्नु र बोली बिक्नुमा मदन भण्डारीको जनताका प्रतिको उपासना र तप मूल आधार हो ।

जनताको बहुदलीय जनवाद एकप्रकारको पशुराजबाटको मुक्ति र मानवराज तिरको यात्रा हो । सबै मानव चेत मध्येमा जबजको चेत उत्कृष्ट चेत हो । यस वैचारिक सम्पदाको उपयोग गरेपनि मदनसँगका वैचारिक प्रतिष्पर्धीहरुको संसद र शक्ति पृथकीकरणका प्रतिको सिकसिके बानी पूर्णरुपमा हटिसकेको छैन । जबजको अभियानको केन्द्रमा जनता छन् । जनताको परीक्षणमा सफल हुनेले मात्र शासन गर्न पाउने कुरा जबजको चुरो हो । परिपक्वता र पहलकदमी नै जनताको नेता उत्पादन गर्ने कारखाना हो । त्याग र तर्क राजनेताको शोभा बढाउने गहना हो । राजनीति ढाँटछलको विषय होइन, खुला र स्पष्ट हुनुपर्छ । जनता नै राजनीतिक दल र राजनीतिकर्मीका भगवान हुन् । यस्ता कुरामा जोड दिएर जबजको चेतनाले आत्मकेन्द्रित चिन्तनलाई निषेध गरेको छ ।

लक्ष्मीप्रसाद देवकोटाले खोज्छन् सबै सुख, सुख त्यो कहाँ छ, आफु मेटाइ अरुलाई दिनु जहाँ छ भनेर कवितामा अघि सारेको सत्यलाई मदनले राजनीतिक स्कुलका रुपमा बिकास गरेकाले जबजको इस्कुलिंले त्याग र अरुको कदरको भाषा बोल्दछ । गुटफुटको राजनीतिका कारण ढल्दो उमेरमा एक्लै हिँडिरहेका थिए मनमोहन अधिकारी । उनलाई समाहित गरेर एकीकृत पार्टीको अध्यक्ष मान्दै आफु दुई नम्बर बरियताको नेता बन्ने मदनको त्याग माग्न जान्ने दिन नजान्ने रोगले थलिएको वामपन्थी आन्दोलनका लागि विस्मयकारी घटना थियो ।

राजनीतिको कखरा सिकाउने गुरुलाई एम्बुसमा पारेर व्यक्ति व्यक्तिको नाममा पार्टी खोल्ने होड चलेको बेला आफुलाई मेटाउन सक्ने मदनको यही गुण र कौशलताले लोभीपापीहरु लुकेर हिड्नु पर्ने स्थिति आएको हो । नेपालको बामपन्थी आन्दोलन टुटफुट, छलकपट, धुत्याइँ र घमण्डको रछ्यानबाट माथि उठेर तर्क, बहस, चिन्तनमनन् र सुदृढ लोकतान्त्रिक अभ्यासको उचाइमा पुग्नुको श्रेय जननेता मदन भण्डारीलाई जान्छ ।

हिम्मत भएको सिंहले मात्र शिकार हेतु आफुभन्दा अतिशय ठूलो हात्तीमाथि आक्रमण गर्ने हिम्मत गर्दछ । विचार, जनाधार र सदाचारको त्रिवेणीका रुपमा वामपन्थी आन्दोलनलाई उभ्याएर प्रतिष्पर्धी राजनीतिक दलमाथि मुखले होइन व्यवहारले दबाब पार्नमा पनि मदनको भूमिका अग्रेणी रहेको छ । वामपन्थीभित्रका रैला माचा सुनाएर उत्कर्षकालको कांग्रेससँग नजिकिदै आफ्नो निम्ति रोटी सेक्ने वामघटक र वामपन्थी नेताहरुको भीडबाट पृथक रहेर उल्टै कांग्रेसको ओठतालु सुकाउनु मदनको रचनात्मक राजनीतिको श्रीमणि थियो ।

बोल्नेको पिठो बिक्ने र बाल्न नजान्दा कम्युनिष्टहरुको चामल नबिक्ने नियतिको अन्त्यका लागि पनि इतिहासले मदन भण्डारीको आगमनलाई कुर्नु पर्यो । व्यवस्थित विचार सृंखला र तर्कपूर्ण बहशमा आत्मविश्वास र साधना बिना वक्ताले जनतासँग प्रत्येक्ष संम्वाद गर्न सक्तैन । राजा कांग्रेसलाई कटाक्ष गर्दै धाराप्रवाह भाषण गर्दै जनताको शक्ति र वामपन्थी साधनालाई जनजनमा स्थापित गर्नुको श्रेय पनि भण्डारीलाई नै जान्छ ।

बहालमा रहेका प्रधानमन्त्री एबं कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई २०४८ सालको आम चुनावमा जनसमर्थनको बलले मदन भण्डारीले पराजित पारेको घटना बामपन्थीहरुको विजय अभियानको सुरुवाती घटना थियो । नेपाल एकीकरणको इतिहासमा गोर्खाले नुवाकोट कब्जा गरेपछि अन्य विजयको ढोका खुले जस्तै मदनको यस विजयसँगै वामपन्थीहरुको विजयको ढोका खुलिसकेको थियो । उत्कर्ष कालमा रहेको कांग्रेसको पार्टी प्रमुख एबं बहालवाला प्रधानमन्त्री पराजित पारेको यसै घटनाले सशस्त्र संघर्ष र संसदीय संघर्षको दोबाटोमा उभिएको नेपालको वामपन्थी आन्दोलनलाई सही बाटोको रोजाईमा सहजता ल्याइदियो । यसले जनताको साथ र समर्थनबाट के संभव छ छैन भन्ने सत्य स्थापना गरिदियो । मदनको सिको गरेर काठमाण्डौंबाट चुनाब जितेर पिर्कामाथि चढेर अग्लो देखिने कसरत धेरै भए तर उत्कर्षकालको पार्टीको प्रमुख र बहालवाला प्रधानमन्त्रीलाई चुनाबमा हराउन सकेको कीर्तिमान मदन भण्डारीका नाममा मात्र दर्ज छ । यसरी के देखिन्छ भने आधुनिक यानचालकले पहिलो पटक वायुयान चलाउने विल्भर राइट र ओर्भिल राइट दाजुभाइको खिल्ली उडाउनु र मदन भण्डारीको कालजयी चेत र पौरखलाई बासी साबित गर्ने कासिस गर्नु समान खाले कृतघ्नता हुन जान्छ ।

केपी र नेकपाको मेरुदण्ड

औसत भीडबाट मानिस विशिष्ट बन्नुमा उसमा रहेका तीन वटा खास गुणले काम गरेको हुन्छ । ती हुन् अ, आ, इ गुण ः (१) अडान (२)ं हिम्मत र (३) ईख ।
नेपाल एकीकरण सुरु हुुनु अघि एक एक थान राजा, श्रीपेच, गद्दी सबै राज्यसँग थिए तर अडान, आँट र ईख भएको पृथ्वीनारायण शाहरुपी पारषमणि पत्थर गोर्खाले मात्र पाएको थियो । नुवाकोट र तनहुँमाथि गरिएका हमलाकोअसफलताबाट विरक्तिएका पिता नरभूपाल शाह र आँट गुमाएको गोर्खालाई उठाएर पृथ्वीनारायण शाहले विजेता शक्तिका रुपमा स्थापित गरेको इतिहास र माधव एण्ड झलनाथ कम्पनीका कारण हतास अवस्थामा पुगेको एमालेलाई केपी ओलीले दिएको पुनर्जागरण र पुनरोदयको त्राणमा समानता छ ।

जनगणतन्त्रात्मक संविधान र जातीय राज्यको आराले कांग्रेस र एमालेको वैचारिक, राजनीतिक मूल मर्मलाई छिनाल्ने उत्कर्षकालका माओवादी आँधी सामु सोतरझै सुतेर सजिलो बाटो रोज्नेको भीडबाट पृथक पहिचान कायम गर्न सकेकाले नै ओलीको कद आजको नेकपामा जबजका प्रणेता मदन र जनयुद्धका महानायक प्रचण्डको हाराहारीमा पुगेको हो ।

उत्कर्षकालको माओवादीको आश, त्रास, भ्रम, जाल र निन्दाबाट प्रभावित हुनेको सुनामी आयो । २०५६ सालको चुनाब हारेर पनि अन्तरिम व्यवस्थापिका संसदमा माओवादीकै सदासयताले प्रवेश संम्भव भएपछि झलनाथ खनाल र वामदेव गौतमको माओवादी प्रतिरोधी शक्ति शून्यमै झरेको थियो । प्रधानमन्त्री र उपप्रधानमन्त्रीको पुरियाले त झन् नेताद्वयलाई माओवादीलाई हरप्रकार सघाउने सुडेनी अवतारमा अवतरित गरायो । सबैको नजरमा राम्रो देखिने क्रममा मूल मुद्दालाई छोडिदिने माधव नेपालको बानीले पनि माओवादीलाई नै लाभ पुगायो । माओवादीरुपी डढेलोबाट एमालेरुपी घासे मैदानको रक्षा गर्नुपर्ने बेला माओवादीको अनुकम्पामा राष्ट्रपति हुने लालच त नेपालको एमालेका प्रतिको निम्छरो निष्ठाको एक पछिल्लो प्रतिनिधि घटना मात्र थियो । यसरी आस गरेका हस्तीहरु चुनौतीका अगाडि मैन जस्तै पग्लिएपछि एमालेपंतीको हालत कुशल र हिम्मतिलो सेनापति बिनाको सेनाको जस्तो थियो । यही प्रतिकूल घडीमा इतिहासले केपी ओलीको अग्निपरीक्षा लियो ।

पानीरंगको एमालेलाई जिउँदोजाग्दो नौजवानरंगमा ढाल्नुको एक्लौटी श्रेय केपी ओलीलाई जान्छ । माओवादीसँग सम्मानित एकतासहित थमाएको सौभाग्य ओलीले पूर्वएमालेलाई लगाएको बिर्सनै नसकिने गुन हो । एक थान ओली मात्र नभएको भए या त शान्ति प्रक्रियाले सेनापतिकाण्ड भन्दा ठूलो दुर्घटना बेहोर्ने थियो या जनगणतन्त्र र जातीय राज्य कांग्रेस एमाले नेताहरुलाई दलाई लामा बनाउने कारखाना बन्ने थियो । भलादमीले गाउँ बचाएको र बुढापाकाले घर बचाएको नदेख्ने कमजोरी समाजसँग हुन्छ । देश एकदलीय अधिनायकवाद र जातीय राज्यमा नगएपछि वर्तमान संविधान ओलीको चट्टानी अडान र लोकतन्त्रका प्रतिको अटल निष्ठाको उपज हो भन्दा अत्युक्ति हुने छैन ।
भीमं वनं भवती तस्य पुरंप्रधान
सर्वाे जनः सुजनतामुपयाति तस्य
कृत्सना च भूर्भवति सान्निधिरत्नपूर्णा
यस्यास्ति पूर्वसुकृतं विपुल नरस्य ।

पहिले गरिएको महान् कार्यले गर्दा पुण्यकमाएको मानिसका लागि बाघ, भालु आदि हिंश्रक जनावरले भरिएको जंगल पनि धनजनले भरिपूर्ण राजधानी भैदिन्छ, आम जनता आफन्त बन्छन् र धरती खनिज पदार्थले परिपूर्ण भैदिन्छ । माधव नेपाल झलनाथ खनाल बटालियन र प्रचण्ड नारायणकाजी बटालियन गोलगठ्ठा पारेर ओलीको उठिबास लगाउनेको भीडबाट अलग्गिएर घनश्याम भुसाल, लेखराज भट्ट र योगेश भट्टराई ओलीका रक्षाकबच बन्नु भर्तृहरिले भनेजस्तै पुन्यवानका लागि बनजंगल राजधानी भैदिनु सरहको घटना हो । हुन पनि नेपालको वामपन्थी आन्दोलनमा अर्काे घटक र अर्काे धारलाई बाघ, भालु जत्तिकै भयंकर ठान्ने अन्धबिश्वास जब्बर छ ।

नेकपाको एकीकरण अघि एमाले र माओवादी दुबैतिरका सहकर्मीहरुको छिपछिपे प्रकारको तुष र ईश्र्याले ओलीको उठिबास लगाउन सक्ने खतरा नदेखिएको होइन । परे आफुमात्र धरापमा पर्ने तर बचे देश बच्ने र भए नेकपाको एकीकरण हुने देखेर जोखिम मोल्ने ओलीको त्यागको जति सराहना गरे पनि कमै हुन्छ । जन्म दिने आमाको ऋण तिर्न नपाए पनि नेपाल आमा र नेकपा आमा दुई आमाको सेवाको लागि नौजवान शरीर समर्पित गरेर जीर्ण बनाउने ओलीको भाषा त्यागको थियो, नाफा हेर्ने व्यापारीको थिएन । धर्म रक्षति रक्षितः अर्थात् धर्मको रक्षा गर्ने धर्मरक्षकको रक्षा धर्मले गर्छ । देशको मियोको रुपमा नेपाललाई उध्याएर रक्षा गर्ने ओलीको रक्षा र सुनकुखुरीको गला रेट्ने लोभीपापीको दुष्चक्रलाई विफल पार्ने संकल्प नेकपाको नसा नसामा रगत भएर सल्बलाउँदै छ । राजनीतिक स्थिरता र समृधिको महानायकका रुपमा नेकपालाई उभ्याउने ओलीको हुटहुटीलाई इसारा बुझ्ने युवापुस्ताले ओली लागि होइन हाम्रो भोलिका लागि भन्दै ग्रहण गरिसकेको छ । यसैले ओलीलाई कमजोर पार्नु भनेको नेकपा आफै पक्षघातको शिकार हुनु हो ।

प्रचण्ड र जागरणधर्म

जनयुद्धकालीन पार्टीको प्राधिकार व्यक्तित्व, वृहत शान्ति संझौताको एक मात्र जीवित हस्ताक्षरकर्ता, गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री प्रचण्डसँग नेकपाको भूत, वर्तमान र भविष्य जोडिएको छ । वन भएर बाघ बलियो र बाघ भएर बन बलियो भनाई जनयुद्धका सारथी र जनताको बहुदलीय जनवादीहरुको दोहोरो साथ पाएर अबका दशकमा प्रचण्डको नेतृत्व र व्यक्तित्वले थप निखार पाउने छ र नयाँ उचाइ लिनेछ ।

मोहनबिक्रम सिंह र निर्मल लामासँगै सेलाउन थालेको चौथो महाधिवेशन स्कुलिंगलाई प्राण भरेर नेपाल र नेपालीको पोल्टामा प्रचण्डले गणतन्त्र, जागरण र सामाजिक रुपान्तरण जस्ता उपलब्धि थमाइ एक मानिसले कतिसम्म योगदान दिन सक्छ भन्ने कीतिमान् हो । एक समय थियो प्रचण्डको मुक्तकण्ठले प्रशंसा गर्दा र जनयुद्धका नायकहरुको सराहना गर्दा अन्य राजनीतिक दलको अस्तित्व समाप्त भएर बहुदलभित्रै एक दल हुने खतरा थियो । निष्ठा, सौर्य, हिम्मत र वलिदानको पक्षमा बोल्दा र लेख्दा उत्कर्षकालको माओवादीमा जनमत खनिने खतरा भएकाले जनयुद्धका अटल नररत्नहरु पाउनै पर्ने सम्मान र अभिनन्दनबाट बन्चित रहेकै हुन् । मूलधारको राजनीतिले यसमा कन्जुसाइ गर्नु परेको थियो । आज समय बदलिएको छ । एमाले र माओवादीको योगले नेकपा जोश र होशको दोभान बनेको छ ।

पूर्वएमालेमाथि जोश गुमाउँने र वर्गीय चिन्तन छोड्छ कि भन्ने शंका गरिन्थ्यो भने पूर्व माओवादीमाथि होश गुमाउँने र बलजफ्तीको बाटो लिन्छ कि भन्ने संशय थियो । कुशल ड्राइभरको परीक्षा यु टर्न मोडनेर हुन्छ । एमालेसँग एकताको लागि मिलाएको हातले प्रचण्डको व्यक्तित्वले थप उचाइँ मात्र लिएको छैन, विराट संभावनाको ढोका खोलिदिएको छ । नेकपामा एमाले र माओवादीका अवगुणहरु नदोहरिने र गुणहरु नछुट्ने जुन संभावना बलियो देखिएको छ, यो प्रचण्डले दिएका देन मध्येमा विशिष्ट देनमा दर्ज हुनेछ ।

जनयुद्धमा मोहन बैद्य, शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइराला, माक्र्सवादको रचनात्मक विकासमा मदन भण्डारी र पार्टी एकतामा केपी ओलीसम्म जोडिएर तन्किएको प्रचण्डको जीवनको डु और डाइ रेड नेकपाको एकतालाई बचाउनु र मुलुकलाई राजनीतिक स्थिरताको त्राण दिनु हो । जनयुद्धको विरासत र बहुदलीय प्रतिष्पर्धाको यथार्तलाई जोडेर जनताको वहुदलीय जनवादकै हाराहारीमा प्रचण्डपथको रचनात्मक विकास गरी एक्काइसौ शताब्दिको जनवादको प्रतिपादनले प्रचण्डको वैचारिक र डाइनामिक व्यक्तित्वलाई निखार दिएको छ । द्रव्यमान र गतिबृद्धि नै शक्ति हो भन्ने पाठ प्रचण्डको गतिशील जीवनरुपी खुला किताबमा पढ्न सकिन्छ । सानो समूहबाट उठाएर माओवादीलाई युद्धकालमा राज्यपक्षको ओठमुख सुकाउने औकातमा पुगाउनु र चुनाबमा संसदीय राजनीतिका मसिहा कांग्रेस र एमालेलाई एकैसाथ जोरलात्ती हानेर पछार्न सक्ने बनाउनु प्रचण्ड करिष्माको कीर्तिमान थियो । आरोह र अबरोह शक्तिरुपी रथका दुई पांग्रा हुन् । माओवादीको उत्कर्षमा हामी पनि के कम भनेर प्रचण्डसँग निहुँ खोज्नेको कमी थिएन । जब संकट आयो, दोष प्रचण्डको टाउकोमा थोपरेर भागेर विभिण्डिने लहर चल्यो । कांग्रेससँग मिलेर एमालेलाई गलाउनेदेखि एमालेप्रतिको जनलहरलाई स्वीकार गरेर चुनावी तालमेल र पार्टी एकतासम्मको यो फट्कोले प्रचण्डलाई देखाइदिन्छु भन्दै विभिण्डिएका जतिलाई मुखभरिको जवाफ दिएको छ । जहाँ राम उही अयोध्या गर्न सक्ने प्रचण्ड कलाले छाडेका सहायकहरुलाई चुकचुकी लगाइदिएको छ ।

प्रशंसा गर्ने जति मित्र होइनन् र गाली गर्ने जति शत्रु होइनन् । गिरिजाप्रसादको गाली, वैद्यको सुझाव र ओलीको आग्रहभन्दा असफल चौकडीको चिल्लो घसाइप्रतिको भरोसाले पुगाएको क्षतिबाटको पाठले प्रचण्डलाई चुनौती चिर्न सक्ने शक्ति प्रदान गर्ने छ । नेकपालाई उभिने र चलायमान राख्ने सबल खुट्टाको आपूर्ति प्रचण्डले दिएको महत्वपूर्ण देन हो । नेकपारुपी महासमून्द्रको एक हिस्सा प्रचण्डको उपेक्षाले नेकपा डेग चल्न सक्ने छैन । चिल्लो घसेर चिप्ल्याउन खोज्ने अवसरवादप्रतिको असावधानीले पनि नायकरुपी पूर्णचन्द्रमाथि ग्रहणको खतरा बढाउने गर्दछ ।

  • राजनीतिक विश्लेषक शाही नेकपाका युवा नेता हुनुहुन्छ । khulanepal.com

Comments

comments