मयूरको नृत्यमा बिरालोको गीत

wbhu

ढाडे बिरालो

आह्रिस गरेर मेरो कल्कीको
मेरै चल्लाहरुलाई
मेरै गुँड भत्काउन उक्साउँछ।
पालेको थें मिसाएर सँगै
केही कौवाका बच्चाहरु
ओत लागेर सप्तरङ्गी पखेटाको
ती लुछ्न खोज्छन् एक एक रङ्गहरु
तिनीहरुलाई थाहा छ
बिरालोको भान्सामा
नूनिलो बदामको स्वाद ।
पखेटा फिजाएर मैले
इन्द्रेणीमा नाचेको
देख्दा मुटु जल्छ भने
अग्लाऊ तिम्रा काँडेतारहरु
म बेग नहानी सिधै
हेलिकप्टर उडान भर्नेछु।
स्वतन्त्रताको प्राणप्रिय गीत गाउँदा मैले
तिम्रा आँखाहरुमा
ईर्श्याको पुतली नाच्दछ भने
मेरा पखेटाहरु पलाउँदा
तिम्रो मुटुको गति रोकिन्छ भने
भो चाहिएन तिम्रो ओत मलाई
चमेरा झुण्डिने ती दलिनमा छेलिनु भन्दा
झरीमा रुझेरै आकाश गुञ्जाउनेछु।
कृपाको ब्यापार गर्दछौ तिमीरु
भो चाहिएन पिँजडाभित्र
तिम्रो लाक्षागृहको ब्यञ्जन
म आकाशमै शिकार गर्न जान्दछु।
ढाडमा सुम्सुम्याउँदा ठीकै थियो
हत्केला समाउँदा सहेकै थिएँ
जब तिम्रा हत्केला सल्बलाउँदै
मेरो घाँटीतिर लम्किन्छन्
अनि हलक्क बढ्छन् नङ्ग्राहरु
निलकण्ठ भएर शम्भुझैं
तिमीले दिएको चारा
म हरिताल बनाएर पिउने छैन
तिम्रो आदेशमा फुल पार्न
तिम्रो पिँजडामा बच्चा हुर्काउन
अब मलाई मञ्जुर छैन।
बिरालो साथी!
सम्मान गर्छु म तिमीलाई
तर तिम्रो छाउरो
आची कुल्चेको चप्पल
फर्काएर बोल्छ मेरै बाको मुखतिर
मा कसम्
मर्काइदिन मन लाग्छ त्यसका पाँसुलाहरु
इज्जतको डर छ भने
खुट्टा सोझ्याएर बस्न सिकाऊ उसलाई।
चल्लाहरुले बुझेका छन्
गाउँ पस्ने स्यालको चाला
जति नै सोझा भए पनि
बुझिसकेका छौं हामीले
सर्कसमा मात्र सुहाउँछ
ढाडे बिरालो र मयूरको मित्रता।

 

Comments

comments