महामारी जित्दै आएका नेपाली

Dr Jhalak Gautam

डा. झलक गौतम

अक्सफोर्ड शब्दकोशमा कुनै एउटा निश्चित रोगका कारण निश्चित समुदायमा, उही समयमा, ठूलो सङ्ख्यामा बिरामी पर्नुलाई महामारी भनिएको छ । तर महामारीको परिभाषा काम गर्न र बुझ्न सजिलो होस् भनी स्वास्थ्यक्षेत्रका विज्ञहरूले रोग अनुसार पनि परिभाषित गर्ने गरेका छन् । महामारी विशेष अवस्था हो ।

राजनीतिज्ञ जोसेफ स्टालिनले ‘एउटा मृत्यु दुःखदायी हो तर हजारांँै मृत्युहरू तथ्याङ्क हुन्’ भने जस्तै महामारीमा हजाराँै मानिसको मृत्यु हुने गरेको छ । कतिपय जातिको वंशनाश हुने गरेको छ । नेपालमा पनि देशैभरि वा ठाउँ विशेषमा विभिन्न खालका रोगको महामारी फैलिएका तर तिनलाई पराजित गर्दै अगाडि बढिएका लिखित र मौखिक प्रमाण भेटिन्छन् ।

बिफरको महामारी
बिफर (शीतला) अत्यन्तै सङ्क्रामक रोग हो । शायद यो भारत र चीनमा देखापरेसँगै नेपालमा पनि देखियो । संसारभरि फैलिएर करोडाँै मानिसको मृत्युको कारण बनेको बिफरले धेरै नेपालीको ज्यान लिएको थियो, अपाङ्ग बनाएको थियो राजा र जनता सबै उत्तिकै पीडित थिए । राजा प्रताप मल्लका छोरा चक्रवर्तीन्द« मल्ल (१६६९ मा) बिफरले मरेको भन्ने इतिहासमा पाइन्छ । परम्परागत रूपमा सयौँ वर्ष अगाडिदेखि बिफर नआओस् भनी शीतला–माईलाई भाकल वा पूजा गर्ने चलन पछिसम्म पनि रहिरहेको थियो । राजा गीर्वाणयुद्धविक्रम शाहको मृत्यु पनि इ.सं.१८१६ मा बिफरका कारण भएको थियो । आफ्ना छोरालाई बिफर नलागोस् भनी राजा रणबहादुर शाहले बिफरको महामारी फैलिएका बेला काठमाडौँ उपत्यकामा बिफर लागेका सबै बच्चालाई उपत्यका निकाला गर्ने आदेश दिएका थिए । उनी आफैँ बिफर लागेर कुरूप भएका थिए । त्यही पीडाका बेला रचिएको वियोगान्त गीर्त शीतला माजु’ अहिले पनि नेवार समुदायका बुढाबुढीले गाएको सुन्न पाइन्छ । त्यसबेला बिफरका कारण सयौँ नेपालीको जीवन गएको बुझ्न सकिन्छ ।

नेपाल आएका बेलायती चिकित्सक ओल्डफिल्डका अनुसार जङ्गबहादुर राणाले पहिलोपटक आफ्ना जेठा छोरालाई सन् १८५० मा बिफरविरुद्धको खोप लगाउन अनुमति दिएबमोजिम उनै ओल्डफिल्डले लगाइदिए । खोप लगाइदिए वापत जङ्गबहादुरले ती चिकित्सकलाई रु. पाँच सय दिएका थिए । जबकि (चन्द«शमसेरका पालामा ) समेत नेपाली चिकित्सकले मासिक साठी रूपैया तलब पाउँथे । त्यसैले आधुनिक खोप नेपालमा भित्र्याउने श्रेय जङ्गबहादुर राणालाई जान्छ । बिफरबाट जोगाउन राजवैद्यहरूले सन् १८८६ मा बालबालिकाहरूलाई खोप दिएको पाइन्छ । सन् १९०३ तिर गण्डक प्रदेशतिर बिफरको महामारी फैलियो । धेरैको मृत्यु भयो । बिफर लागेका बिरामीहरूलाई घरमा नराखी जङ्गल र पाखातिर पठाइन्थ्यो । अहिले पनि त्यस्ता बिफरका बिरामी राख्ने पाखा वा खर्कलाई ‘बिफरे खर्क’, ‘बिफरे ओडार’ भन्ने गरिन्छ । सन् १९५७/५८ तिर कर्णाली प्रदेशतिर बिफर (गेडा आउने रोग) को महामारी फैलिएको पाइन्छ ।

सन् १९६३ को हिउँदमा नेपालभर बिफरको ठूलो महामारी पैmलिएको र ठूलो सङ्ख्यामा मृत्यु र अपाङ्ग भएको इतिहासमा उल्लेख छ । यही बिफरबाट जोगाउन १९६४ को मेमा सात लाख मात्र बिफरको खोप झिकाएर नेपाल सरकारले सबैलाई दिएपछि यो रोग नियन्त्रमा आयो । सन् १९७३/७५ सम्म गरिएको खोजी अनुसार बिफरका जम्मा एक हजार दुई सय ८६ बिरामी भेटिए । त्यही खोपको प्रयोगले सन् १९७७ अप्रिल १३ ( २०३४ वैशाख १ गते) गते नेपालबाट बिफर उन्मूलन भएको घोषणा गरियो ।

हैजाको महामारी
हैजा दूषित पानी र खानाको माध्यमबाट सर्ने सरुवा रोग हो ।
सन् १८१८ मा उत्तरी भारतमा देखिएको हैजाको महामारीले नेपाललाई पनि प्रभावित बनायो, नेपालमा हैजा देखापर्न थाल्यो । हैजाकै कारण राजा रणबहादुर शाहकी रानी ललित त्रिपुरासुन्दरीको सन् १८३२ अप्रिल ६ मा मृत्यु भयो । त्यस समयमा काठमाडौँ, तराई र देशका विभिन्न ठाउँमा हैजाको महामारी फैलिएको थियो । इतिहासको अध्ययन गर्दा सन् १८२३, १८३१÷३२, १८४३, १८५६, १८६२, १८८७÷८८ मा काठमाडौँ लगायत विभिन्न स्थानमा हैजाको महामारीले कैयौँको मृत्यु भयो । सन् १८८७÷८८ मा काठमाडौँमा भएको महामारीले नौ हजार जनाको ज्यान लिएको तथ्याङ्क पाइन्छ । त्यस समयमा काठमाडौँको जनसङ्ख्या ५० हजार थियो भनिन्छ । १८९४÷९५ तिर कर्णाली प्रदेशतिर हैजाको महामारी फैलियो, सयौँको मृत्यु भयो । अहिले पनि कर्णालीतिर त्यही पीडालाई सम्झिँदै ‘चार साउन खायाको छोरो, चार माघ खायाको थोरो’ भन्ने उखान प्रचलित छ ।
सन् १९०५ मा भएको हैजाको महामारीमा चन्द«शमसेरकी रानीको समेत मृत्यु भएको थियो । सन् १९५८ मा काठमाडौँ उपत्यकामा हैजाको ठूलो महामारी फैलियो । धेरै मानिसको मृत्यु भयो । त्यही समय काठमाडौ नगरपालिकाले ‘झिँगा मार्ने अभियान’ सञ्चालन गरेको थियो । एकमाना झिँगा मारेर बुझाए वापत साढे दुई रुपियाँ दिइन्थ्यो । धेरै झिँगा मार्नेलाई पदकको घोषणा गरिएको थियो । पाटनमा खानेपानीको सुधार गरिएको थियो । त्यस बेलासम्म ठूला ठूला दरबारमा समेत चर्पी थिएनन् । १९८६ कोे गर्मीयाममा हुम्लाको श्रीनगरतिर हैजा फैलिएर धेरै जनाको मृत्यु भयो । २००९ मा जाजरकोट, रुकुम, सुर्खेत, सल्यानमा फैलिएको हैजाको महामारीमा करिब ३० हजार मानिस प्रभावित भए भने पाँच सय जनाभन्दा बढीको मृत्यु भयो । सन् २०१४ मा रौतहटमा हैजा देखापर्यो जसमा छ सयभन्दा बढी मानिस प्रभावित भए । यही हैजाको उपचार गर्न सन् १८९० मा वीर अस्पतालको शाखाको रूपमा स्थापना भएको ‘हैजा अस्पताल’ अहिले शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका नामले परिचित छ ।

प्लेगको महामारी
संसारभर हल्लीचल्ली मच्चाएको प्लेग नेपालमा पनि छिटपुट देखापरेको इतिहास छ । सन् १७१४/१५ तिर राजा प्रताप मल्लका पनाति, भास्कर मल्लका समयमा काठमाडौँमा प्लेगको महामारी फैलियो । भक्तपुर र पाटनमा यो महामारी फैलिएन भनिएको छ । भनिएको छ– महामारीको सुरुवातका दिनहरू प्रतिदिन ३०–४० का दरले मानिसको मृत्यु हुन्थ्यो भने पछिल्ला दिनहरूमा दिनको एक सयका हाराहारीमा मृत्यु हुन थाल्यो । यो महामारी सात वर्षसम्म चल्यो । काठमाडौँका तीनवटैको कुमारीको देहान्त भयो । त्यस महामारीमा राजा भास्कर मल्लसहित १८ हजार सात सय १४ जना मानिस मरे । त्यसबेला काठमाडौँमा १८ हजार घर थिए भन्ने चौतारा झागल ठाकुरले गरेको जनगणनाले बताउँछ । रोचक पक्ष के छ भने राजा भास्कर मल्ललाई जोगाउन वसन्तपुर दरबारबाट बाहिर किम्डोल बहालमा दुईवटी रानी र नोकरसहित सुरक्षित किसिमले छुट्टै (क्वारेन्टाइन) राखिएको थियो । त्यस महामारीमा मर्ने मानिसहरूको दाहसंस्कार समेत गर्न नसकिएको भनाइ छ । यो महामारीभन्दा एक सय २० वर्ष अगाडि अर्थात् सन् १५९५ तिर पनि यस्तै महामारी फैलिएको थियो ।

सन् १९६० देखि १९६२ सम्म रूपन्देही, महोत्तरी र कर्णाली प्रदेशतिर प्लेगको महामारी फैलिएको थियो । त्यसबेला कर्णालीमा फैलिएको प्लेगलाई स्थानीयहरूले ‘कालामाता’ भन्ने गरेका थिए । यस महामारीमा कर्णालीतिर धेरैको ज्यान गएको भनाइ छ । रूपन्देही र महोत्तरीमा १९० जनामा यो रोग देखिएको थियो । औलोविरुद्धको कीटनाशक रसायन छर्केका कारण यो महामारी फैलिन पाएन । सन् १९६७/६८ मा बझाङको नाउरा र पिथोलेकमा देखापरेको थियो । त्यसलाई सहजै नियन्त्रण गरिएको थियो ।

औलो ज्वरोको महामारी
धेरै पहिले नेपालको तराई र भित्री मधेशलाई ‘कालापानी’ भनिन्थ्यो त्यसको कारण त्यस क्षेत्रमा हुने औलो ज्वरो, त्यसबाट हुने जटिलता र मृत्यु नै हो । औलो ज्वरोका कारण सन् १९५० तिर प्रतिवर्ष २० लाखभन्दा बढी मानिस बिरामी हुन्थे, जब सन् १९५४ देखि औलोविरुद्धको कार्यक्रम नेपाल सरकारले सुरु ग¥यो त्यसपछि बिरामीको सङ्ख्या क्रमशः घट्दै गयो । यद्यपि सन् १९६३÷६४, १९६५÷६६, १९८५, १९९१, २००२, २००३, २००६÷०७ मा विभिन्न जिल्लामा महामारी फैलिएको थियो । सन् १९९८ देखि २००९ सम्म गरिएको एक अध्ययन अनुसार त्यस अवधिमा ८३ हजार ३४५ जना बिरामी उपचारका लागि स्वास्थ्य संस्थामा आएका थिए । यो रोग पाँच वर्षमुनिका बालबालिकाको मृत्युको प्रमुख कारणमध्ये एक हो । हाल नेलालको औलोलाई शून्य अवस्थामा पुर्याउने लक्ष्यका साथ काम गरिएकाले यो रोग अहिले नियन्त्रणमा छ ।

जापानिज इन्सेफ्लाइटिसको महामारी
संक्रमित लामखुट्टेबाट सर्ने यो रोग सन् १९७८ मा रूपन्देही र मोरङमा पहिलोपटक देखाप¥यो । पछि तराई–भित्री मधेश र उपत्यकाका सबैजसो जिल्लामा सन् १९९४ मा महामारीका रूपमा फैलियो । सन् १९७८ देखि २००४ सम्मको तथ्याङ्कअनुसार कुल २७ हजार पाँच सय ८४ बिरामीमध्ये पाँच हजार तीन सय ८२ जनाको मृत्यु भयो । यो रोग नियन्त्रणका लागि नेपाल सरकारले सन् १९९९ मा पहिलोपटक बाँके, बर्दिया र कैलालीमा एक वर्षदेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई जे.ई. खोप दियो भने सन् २००१ मा पशु विभागमार्फत करिब दुई लाख बङ्गुरलाई समेत खोप दिइयो । सन् २००६ मा स्वास्थ्य मन्त्रालयले जे.ई. खोप नियमित खोप सेवामा समावेश गरी सबै बालबालिकालाई दिने निर्णय ग¥यो र हाल त्यही खोपका कारण यो रोग नियन्त्रणमा छ ।

दादुराको महामारी
दादुरा बालमृत्युको प्रमुख कारणमध्ये एक हो । भाइरसद्वारा हुने यो अत्यन्तै सङ्क्रामक रोग सन् १९९४ देखि २००४ सम्मको तथ्याङ्क अध्ययन गर्दा प्रत्येक वर्ष ९० हजारभन्दा वढीलाई दादुरा लागेको देखियो । यसैका कारण प्रत्येक वर्ष पाँच वर्षमुनिका हजारौँ बालबालिकाको मृत्यु हुन्थ्यो । हाल नियमित खोप सेवामार्फत सम्पूर्ण बालबालिकालाई खोप दिइएका कारण यसबाट हुने मृत्यु रोकिएको छ । यद्यपि सन् २०१९ मा देशभर चार सय ३० बालबालिकालाई दादुरा देखिएको थियो ।

कालाजारको महामारी
भुसुनाबाट सर्ने रोग सन्् १९८० मा तराईका सर्लाही र महोत्तरीमा देखापर्यो । सन् १९८० देखि २००६ सम्मको तथ्याङ्कअनुसार २५ हजार आठ सय ९० बिरामी र पाँच सय ९९ जनाको मृत्यु भएको देखियो । यस रोगबाट सर्लाही, महोत्तरी बढी प्रभावित भए पनि मध्य र पूर्वी तराईका १२ वटै जिल्लामा लामखुट्टेविरुद्ध डीडीटी छर्किएका कारण त्यस समयमा कालाजार कम देखिएको हुनसक्छ । हाल यो रोग नियन्त्रणमा छ र नेपालले यसलाई निवारण गर्ने लक्ष्य लिएको छ ।
डेङ्गुको महामारी
मौसम परिवर्तनसँगै यो रोग देखापरेको हो । लामखुट्टेबाट सर्ने यो रोग नेपालमा सबैजसो जिल्लामा देखापरेको छ । पहिलोपटक सन् २००५ मा भारत हँुदै नेपालमा प्रवेश गरेको छ । सन् २००६, २०१०, २०१३, २०१६, २०१७ र २०१९ मा महामारीको रूपमा फैलिएको । सन् २०१९ को महामारीमा चौध हजारभन्दा बढी जनालाई यो रोग लाग्यो र छ जनाको मृत्यु भयो ।

रुघाखोकीको महामारी
जानकारहरूका अनुसार सन् १९१३÷१४ तिर तराईमा रुघाखोकीको महामारी फैलियो र धेरैको मृत्यु भयो । सन् १९१८ तिर कर्णाली प्रदेशमा फैलिएको रुघाखोकी र उच्च ज्वरोको महामारीले गाउँ नै रित्तिने गरी मानिसहरूको मृत्यु भयो । लास बोकेर घाटसम्म लाने मानिससमेत भएनन् । मान्छेको काजकिरिया समेत हुन पाएन । सन् १९७० को जाडोयाममा कर्णालीमा रुघाखोकीले कैयौँको मृत्यु भयो । सन् २०१५ मा जाजरकोटमा फैलिएको रुघाखोकीको महामारीले ३५ जनाको ज्यान लियो ।

माथि भनिएका रोगहरू वाहेक धनुषटङ्कारले पनि नेपालमा धेरै नवजात शिशुको मृत्यु भएको थियो । सन् १९९० को अध्ययन अनुसार प्रत्येक वर्ष छ हजार सात सय नवजात शिशुको मृत्यु हुने देखिएको थियो । हाल यो रोग खोपका कारण निवारण भइसकेको छ । यसैगरी पोलियोका कारण सयौँको मृत्यु र अपाङ्ग हुन्थे । अहिले खोपका कारण यो रोग पनि शून्य अवस्थामा छ ।

यसरी इतिहास अध्ययन गर्दा हजारौँ नेपालीको विभिन्न कालखण्डमा, विभिन्न रोगका महामारीले जीवन गुमेको छ । यद्यपि हाल ती रोग कतिपय उन्मूलन भए कतिपय नियन्त्रणमा छन् । समयक्रममा नयाँ खालका रोगको महामारी देखिएका छन् । हाम्रो सचेत तयारी र आधुनिक वैज्ञानिक उपायहरू अपनाएर महामारीलाई पराजित गर्न सकिन्छ र अकाल मृत्युबाट जोगिन, जोगाउन सकिन्छ । चाणक्यले भने जस्तै बिरामी पर्दा, दुःख पर्दा, शत्रुबाट सङ्कट आइपर्दा जसले सहयोग गर्छ त्यसलाई मित्र भनिन्छ । त्यसै भएर अहिलेको कोरोना महामारीको दुःख पनि सबै एक भएर सामना गरौँ । सबै सबैका लागि मित्र बनौँ ।

गाेरखापत्रबाट

(लेखक स्वास्थ्यसेवा विभाग, बालस्वास्थ्य तथा खोपसेवा प्रमुख हुनुहुन्छ ।)

Comments

comments