महिनावारी सुक्ने कारण

bhola-rijal

डा. भोला रिजाल स्त्री तथा प्रसूति रोग विशेषज्ञ

उमेरअनुसार शरीरका विभिन्न अंगले विशेष काम गरिरहेका हुन्छन् । उमेर बढेसँगै विभिन्न अंगको पनि विकास हुँदै जान्छ र सोहीअनुसार काम गर्न थाल्छ । महिलामा हुने महिनावारीको हकमा पनि यो लागू हुन्छ । खासगरी किशोर अवस्थामा महिलामा महिनावारी सुरु हुन्छ । जुन एक–एक महिनाको अवधिमा हुने गर्छ । नियमित महिनावारी स्वस्थ शरीरको सूचकांक पनि हो । तर, प्रौढ अवस्थामा महिनावारी बन्द हुन्छ । जसका कारण महिलाले बच्चा जन्माउन पनि अक्षम हुन्छन् । यी हुन् महिनावारी सुक्ने कारण र त्यसले निम्त्याउने परिणाम :

यसरी सुक्छ
महिनावारी सुक्नु महिलामा आउने सामान्य परिवर्तन हो । सामान्यतया ४०–४५ वर्षको उमेर पार गरिसकेपछि महिनावारी सुक्ने हुन्छ । उमेर बढ्दै जाँदा अण्डाशयमा डिम्बको संख्या घट्दै जान्छ र रित्तिन्छ । डिम्ब रित्तिएपछि अण्डाशयबाट अण्ड निस्कन बन्द हुन्छ । फलस्वरूप रजोनिवृत्ति हुन्छ । ४० वर्षको उमेर पार गरिसकेका महिलामा यस्ता डिम्बको संख्या न्यून हुन्छ । अण्डाशयबाट डिम्ब रित्तिने क्रममा महिनावारी अनियमित हुन थाल्छ र बिस्तारै सुकेर जान्छ ।

सुक्ने समय समस्या
महिनावारी सुक्ने समय महिनावारी गडबड हुन्छ । यस्तो गडबडी महिनावारी सुक्नुभन्दा तीनदेखि पाँच वर्षपहिलेबाट नै सुरु हुन्छ । यस्तो वेला महिलामा कमजोर भएको अनुभूति हुनुका साथै अन्य समस्या पनि देखिन्छन्, जस्तै : थकाइ लाग्ने, शरीर तात्ने, पोल्ने, औडाहा हुने, पसिना आउने, रातमा निद्रा नपर्ने, कोही मानिस बोल्दा झन्झट लाग्ने, चिडचिडापन हुने आदि । कतिपयलाई त डिप्रेसनको समस्यासमेत देखिन सक्छ ।

यति मात्र नभएर महिनावारी सुकेका महिलामा हाडजोर्नी खिइने समस्या बढी हुन्छ । त्यस्तै ढाड, जोर्नी दुख्ने, मेरुदण्डको हाड खिइएर नसा च्यापिनेजस्ता समस्या पनि निम्तिन्छ । जसका कारण हातगोडा झमझमाउनेलगायतका समस्या देखिन थाल्छन् ।

महिनावारी सुक्ने समय योनि सुक्खा हुने, योनिको बाहिरी भाग चिलाउने र पोल्ने हुन सक्छ । महिनावारी सुकेपछि यौनेच्छा पनि कम भएर जान्छ । सुक्खा हुने कारण महिनावारीपछि शारीरिक सम्पर्क गर्दा योनिमा दुखाइ हुन्छ ।

महिनावारी सुकेपछि पिसाब तथा हाडजोर्नीसम्बन्धी समस्या बढेर जान्छ । हाडजोर्नी खिइएमा नियमित योग, व्यायाम तथा फिजियोथेरापी गरेर यसको समाधान गर्न सकिन्छ ।

हाडजोर्नी र पिसाबसम्बन्धी समस्या बढेर जाने भए तापनि अन्य समस्यामा भने बिस्तारै सुधार हुँदै जान्छ । व्यवस्थित जीवनशैली अपनाएर कतिपय समस्याको समाधान गर्न सकिन्छ ।

नयाँ पत्रिकाबाट

Comments

comments