महिना दिनमै लक्ष्यको २४ प्रतिशत राजश्व असुली

Rasuwa Bhansar
रसुवा, २२ भदौ / रसुवागढी भन्सार कार्यालय टिमुरेले चालु आर्थिक बर्षको भदौ महिना पुरा नहुदै लक्ष्य भन्दा २४ प्रतिशत राजश्व असुली गरेको छ । २९ करोड राजश्व असुली लक्ष्य राखेको कार्यालयले भदौ महिना पुरा हुन १० दिन बाँकी छँदै  ३६ करोड राजश्व असुली गरेको भन्सार प्रमुख केदार पनेरुले जानकारी दिए । उनले भने पछिल्लो एक हप्तामा २३ करोड राजश्व असुली भएको छ, बुधबार एकै दिन ५ करोड ६९ लाख राजश्व असुली भएको छ ।

पछिल्लो समय रसुवा भन्सार कार्यालय टिमुरेले दैनिक करोड राजश्व असुली गर्दै आएको छ । चालु आर्थिक बर्षको पहिलो महिनामा १९ करोड घाटा व्यहोरेको कार्यालयले यो महिनामा उक्त घाटा रकम उठाउने बताएको छ । गत महिना २५ करोड राजश्व असुली राखेको कार्यालयले ६ करोड मात्र राजश्व असुली गरेको थियो । चिनिया भन्सार मुल्य बृद्धि र नेपालतर्फ व्यापारिहरुले समयमै भन्सार नगरिदिदा ठुलो मात्रामा राजश्व असुलीमा गिरावट आएको थियो  ।

साउनमा लक्ष्य अनुसार नपुगेको रकम यो महिनामा उडाउने तयारी भईरहेको भन्सार प्रमुख पनेरुले बताए ।  रसुवागढी भन्सारमा अहिले ३ सय भन्दा बढी मालबाहक सवारी रहेको रसुवा भन्सार कार्यालयले जनाएको छ  । यस्तै निकट भविष्यमा रसुवा भन्सार कार्यालयले अनलाईन मार्फत मालबस्तुको घोषणा गर्न सक्ने गरि एसिकुडा वल्ड जडानका लागि तयारी भईरहेको भन्सार प्रमुख पनेरुले बताए ।

यस्तै पछिल्लो समय अन्तराष्ट्रिय नाका घोषणा भएको रसुवागढीबाट तस्करी बढेको भन्दै भन्सार कार्यालयले सुरक्षाकर्मिसँगको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिएको भन्सार प्रमुख पनेरुले बताए । उनले भने यो नाकाबाट तस्करी बढेसँगै भन्सार प्रशासन सजक भएको छ, अहिले खालि ठाउँमा अधिकृतको नेतृत्वमा सुरक्षाकर्मिको टोलि खटाई सुरक्षा व्यवस्था कडा पारिएको छ, अहिले भिआईपि तथा चिनिया व्यक्तिले प्रयोग गर्ने गाडिमा समेत बिशेष निगरानि राखि सुरक्षा व्यवस्था कडा पारेका छौँ ।

तातोपानी नाका बन्द भए पछि रसुवागढी नाकाबाट निकासी, पैठारी बढेसंगै भन्सार असुली पनि ह्वात्तै बढेको छ । कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्त शुल्क भ्याट लगायतका शुल्क बापत भन्सार असुली गर्ने गर्दछ । अहिले केरुङ बाट नेपाल तर्फ रेडिमेड कपडा, जुत्ता, चप्पल, स्याउ, लगायतका सामाग्रीहरु भित्रिने गरेको छ भने नेपालबाट केरुङ तर्फ जडिबुटी, चाउचाउ लगायतका सामाग्रीहरु जाने गरेको छ ।

Comments

comments