महिलाविरोधी मानसिकता

Photo Sushma

सुष्मा न्यौपाने

उदाहरण १, केही समयअघि रसुवाको एक गाउँपालिकाले बाटो बनाउन बजेट विनियोजन ग-यो। त्यसका लागि उपभोक्ता समिति बनाउन छलफल भयो। छलफलमा प्रायः पुरुष थिए। समितिमा बस्नेमा पनि सबै पुरुषकै नाम आए। पछि उनीहरूले सम्झे– ओ हो ! महिलाको नाममा हुने समितिको पालिकाले कन्टेन्जेन्सी रकम काट्दैन। त्यसो भए के गर्ने ? फेरि छलफल भयो। निष्कर्ष निस्कियो– जुन–जुन पुरुषका नाम आएका छन्, तिनकै महिलाको नाम राखी समिति बनाउने, काम पुरुषले गर्ने, पालिकामा सम्झौता गर्न र भुक्तानी लिन महिला लिएर जाने। छलफल टुंगियो। काम पनि त्यसरी नै भयो। पुरुषले गर्नु नराम्रो भन्न खोजेको होइन। तर त्यही काम महिलालाई नै जिम्मा दिएको भए, उनीहरूको क्षमता बढ्ने थियो।

उदाहरण २, एकजना महिला जनप्रतिनिधिले सुनाइन्– ‘गाउँपालिका कार्यालयमा कार्यपालिका बैठक भइरहेको थियो। अध्यक्षका लागि गाडी किनिएको थियो। वडाध्यक्षलाई बाइक। थप मोटरसाइकल किन्ने विषयमा छलफल भयो। मोटरसाइकल पहिल्यै सबैलाई छ। बरु किन्ने नै भए अर्को एउटा गाडी किनौं, सबैलाई फाइदा हुन्छ। बैठकमा आउन हामीजस्ता टाढाका सदस्यलाई पनि कहिलेकाहीं काम लाग्छ।  तर उनको प्रस्ताव सकिनासाथ प्रमुख प्रशासकीय अधिकृत झोक्किए– सदस्य भएर गाडी चढ्नुपर्ने ? सुविधा पाउन त ठूलो पदमा उठ्नुप-थ्र्यो। जित्नुपथ्र्यो। कुनै पुरुष जनप्रतिनिधले उनका पक्षमा बोलेनन्। उनको कुरा हाँसोमा उडाए। यसो गरेपछि अब महिलाले आफ्ना कुरा राख्ने आँट गर्छन् ?

उदाहरण ३, अर्की महिला जनप्रतिनिधिका अनुसार कार्यपालिका बैठकमा पुरुष सदस्य आपसमा कुरा गरिरहेका थिए। महिला सदस्य भने मौन थिए। बैठक सकिएपछि एकजना वडाध्यक्षले महिला जनप्रतिनिधि नबोलेको भन्दै हकारे। ती वडाध्यक्षले– यी महिलाका केही काम छैन, यस्तालाई नि के जनप्रतिनिधि बनाएको होला ? घरमा काम नपाएर मासु, चिउरा खानकै लागि यहाँ आएका, भने।

‘महिला जनप्रतिनिधिले आफ्नो विषय राखे पनि थर्काउने, कसैले नसुन्ने, नबोले पनि थर्काउने ! कस्तो परिबन्द ?,’ उनले गुनासो गरिन्, ‘त्यति नभएर महिला जनप्रतिनिधले लगाउने चप्पल, कपडा र मेकअपका विषयमा पनि छेडछाड हुने गरेका छन्।’

उदाहरण ताजै छ। सभामुख छनोट प्रक्रिया। योग्यता नभएर, समय नदिएर, शिक्षा नभएर मात्र महिलाले अवसर नपाएका होइनन्।

उदाहरण ४, जनप्रतिनिधको भेला थियो। एकजना पुरुष जनप्रतिनिधिले महिलालाई संकेत गर्दै भने, ‘महिलालाई यो भन्दा धेरै अधिकार के मा चाहियो ? सबै महिलाकै त छ नि !’ महिला जनप्रतिनिधिलाई तोकेरै उनले अगाडि भने, ‘फलानोले आफ्नै श्रीमान्लाई ड्राइभर बनाएर हिँड्नुभएकै छ।’

यो भन्दा धेरै अधिकार के चाहियो ? कति पुरुष जनप्रतिनिधिका पत्नीले उनीहरूका लागि गरेका योगदान, परिश्रम, जुत्ता/मोजादेखि भित्री कपडासम्म धोएर ठिक्क पारेको, उनीहरूको खुसी र सफलताका लागि गरेको त्यागको अर्थै मूल्यांकनै हुँदैन। कहीं–कतै उल्लेख गरिँदैन। उल्टो आफ्नो काममा समस्या पर्दा, आफूले भनेको नहुँदा घरमा गएर श्रीमतीलाई रिस पोख्ने, झपार्ने कैयौं पुरुष छन्। तर आफ्नी श्रीमतीलाई केही दिन मोटरसाइकलमा हालेर कार्यालय लगिदिँदा यसरी आक्रोश पोखिन्छ।

उदाहरण ५, एक गाउँपालिकामा आयोजित छलफलमा सहभागी भएकी थिएँ। परिचय क्रममा सबैले आआफ्ना नाम, ठेगाना, पद वा जिम्मेवारी भने। एकजना दाजुले म पनि जनप्रतिनिधिजस्तै हो भने। के भनेका होलान् भनेर सोचिरहें। कसैले प्रश्न गरेनन्। बाहिर निस्केपछि उनलाई सोधें। थाहा पाएँ– उनी निर्वाचित महिला जनप्रतिनिधिका श्रीमान् रहेछन्।
‘श्रीमती बैठकमा आउन भ्याउँदिनन्, कुरा पनि बुझ्दिनन्, त्यसैले म आएको,’ उनले एकै सासमा भने। यस्तो अन्यत्र पनि हुने गरेको हामीले सञ्चारमाध्यमबाट थाहा पाएका थियौं।

उदाहरण ६, एकजना पुरुष जनप्रतिनिधिसँग कुनै विषयमा छलफल हुँदै थियो। यस्तैमा राजनितिक कुरा चल्यो। निर्वाचनको प्रसंग पनि आयो। टिकट बाँडफाँड, पैसाको चलखेल आदिबारे कुरा हुँदै थियो। यस्तैमा उनले फ्याट्टे भने, ‘राजनीति गर्ने हो भने कि पैसावाल पुरुष कि रूपवान् महिला चाहिन्छ। अनि मात्र टिकट पाइन्छ र चुनाव जितिन्छ पनि। जसरी पनि नेतालाई खुसी पार्नुपर्ने हो। नेतालाई रक्सी खुवाउन र पैसा दिन सक्ने पुरुष र भनेको मान्ने, रूपवती महिला भए सबै कुरा हुन्छ।’

विभिन्न मानिसको नाम लिँदै ती पुरुष जनप्रतिनिधिले दिएको अभिव्यक्तिले राजनीतिप्रति भएको थोरै चासो पनि माटोमा मिल्यो मेरो। उनको भनाइमा कत्तिको सत्यता छ वा छैन जान्दिनँ तर एउटा जिम्मेवार व्यक्तिको भनाइले मनमा चिसो पसिरह्यो।

उल्लिखित उदाहरण त प्रतिनिधिमूलक घटना मात्र हुन्। यसरी हरेक कुरामा, हरेक तह र तप्कामा महिला विभेद भोग्न बाध्य छन्। अवसरबाट वञ्चित गरिएका छन्। यसको जल्दोबल्दो उदाहरण ताजै छ। सभामुख छनोट प्रक्रिया। योग्यता नभएर, समय नदिएर, शिक्षा नभएर मात्र महिलाले अवसर नपाएका होइनन्। महिलालाई हेर्ने दृष्टिकोण नफेरिएकाले हो।

कानुनमा केही परिवर्तन आए पनि व्यवहारमा सच्याउनुपर्ने अझै थुप्रै विषय बाँकी छन्। महिलाका कुरालाई हाँसोमा उडाउने, हकार्ने आदि हिंसा जारी छन्। यस्ता विभेद हटाउन आवश्यक छ। यसका लागि वर्षाैंदेखि हाम्रो दिमागमा जरा गाडेर बसेको पितृसत्तात्मक सोच हटाउनुपर्ने हुन्छ। महिलाले पनि आफ्नो जिम्मेवारी पूरा गर्न दिनुपर्ने समय, बढाउनुपर्ने शिक्षा र क्षमता, सुधार गर्नुपर्ने कुरा पक्कै छन्। त्यसमा ध्यान दिनुपर्छ तर महिला भएकै कारण विश्वास नगर्ने, हाँसोको पात्र बन्नुपर्ने, गाली खप्की खानुपर्नेजस्ता व्यवहार सह्यै छैनन्।

घर, समुदाय, कार्यालय, राजनीतिक दल, संघ/संस्था, समिति, निकाय हरेक स्थानमा केही न केही विभेद छ। समस्या हेराइमा छ। दृष्टिमा छ। सोचाइमा छ। यो फेर्न मानसिकता फेराैं। दिमाग र मनलाई हलुका बनाऔं। अरूलाई पनि विश्वास गरौं। अवसर दिऔं।

  • नागरिकबाट

Comments

comments