मातृभाषामा शिक्षाको आवश्यकता : एक अनुभव

RasuwaRasuwa

ल्हाक्पा तामाङ

अहिलेको शिक्षा व्यापार भएको छ । धनीले छानी छानी निजी क्षेत्रबाट संचालित महंगो स्कुलमा आफ्ना छोराछोरीलाई पढाउँछन् । गरीवले आफ्ना सन्तानलाई सरकारी स्कुलमा पढाउँछन् । शिक्षाको व्यापारिकरणले गर्दा समाज ध्रुविकृत हुँदै गइरहेको छ भने अर्को भाषिक असहजता बीच बालबालिकाहरूले शिक्षा आर्जन गरिरहेका छन् । यी दुई भिन्न अवस्था बीच नेपाली बालबालिकाहरूले आफ्नो भविष्य कोर्ने प्रयास गरिरहेका छन् ।

शिक्षा महंगो र सस्तोको आधारमा खरीद बिक्री भइरहेको छ । महंगो शुल्क तिर्नु पर्ने निजी विद्यालयहरूमा सानै देखि विदेशी (अंग्रेजी) भाषामा पढाइ हुन्छ । सस्तो भनिएको सरकारी विद्यालयहरूमा देवनागरी लिपिमा लेखिएको नेपाली भाषामा पढाइ हुन्छ । सामान्यतय नेपाली भाषामा आफ्नो मातृभाषा हुने बालबालिकाहरूलाई नेपाली भाषामा पढाइ लेखाइ गरिँदा खासै समस्या पर्दैनन् । तर, गैर नेपाली मातृभाषा भएका आदिवासी जनजातिका बालबालिकाहरूमा भने अंग्रेजी भाषा मात्र होइन नेपाली भाषाको पनि बुझाइमा समस्या छ । व्यक्तिको सर्वाङ्गीण विकासको लागि महत्वपूर्ण ज्ञान मानिने शिक्षा सर्वसुलभ हुन सकेन भने शिक्षाले विभेद निम्ताउँछ भन्ने त सबैले बुझेकै कुरा हो । तर, शिक्षा दिने भनी स्थापना गरिएका विद्यालयहरूमा गएर पढ्ने विद्यार्थीहरूले भाषिक समस्याका कारण शिक्षकले पढाएका विषयवस्तुहरू बुझेनन् भने यसले के प्रतिफल दिन्छ ?

शिक्षा भनेको ज्ञान आर्जन गर्ने कुरा हो । यस्तो ज्ञान आर्जन आफूले जन्मेदेखि घर परिवार र समुदायमा बोलिने भाषामा भयो भने त्यो सजिलोसंग सिक्न र बुझ्न सकिन्छ । भाषा नै बुझ्न सकिएन भने शिक्षा वा ज्ञान कसरी सिक्ने ? यो महत्वपूर्ण कुरा हो । भाषा त माध्यम मात्र हो । शिक्षा वा ज्ञान साध्य हो । शिक्षा केका लागि ? जीवन सजिलो र सहज ढंगले संचालनको लागि हो । सभ्य र सुसंस्कृत जीवन यापनको लागि शिक्षा आर्जन गरिन्छ । सचेत नागरिक उत्पादनका लागि गरिन्छ । तर, शिक्षा सिक्ने सिकाउने शुरुवात नै मातृभाषाको सट्टा अन्य भाषामा दिने कार्यले सिक्ने विद्यार्थीहरूले सहज रुपले बुझ्न सकेको पाइँदैन । मातृभाषाको सम्बन्धमा Cambridge Advanced Learner’s Dictionary & Thesaurus © Cambridge University Press)  यस्तो भन्छन्–’the first language that you learn when you are a babyrather than a language learned at school or as an adult‘. यसैगरी Collins COBUILD Advanced English Dictionary ले मातृभाषाको सम्बन्धमा यसरी उल्लेख गरिएको पाइन्छ  । 

उपरोक्त दुईवटा शव्दकोषले मातृभाषाको महत्वको विषयमा बढो राम्रो परिभाषा दिएको पाइन्छ । यी दुई परिभाषाका अनुसार मानिस जन्मेपछि शुरुमा घरपरिवारमा बोलिने र अभिभावकबाट सिकिने भाषालाई मातुभाषा भन्छन् ।

नेपाल बहुभाषी, बहुधार्मिक, बहुसंस्कृति र बहुजातीय देश हो । सयभन्दा बढी भाषाभाषीहरू बोल्ने नेपालीहरू बस्छन् । सबै जातजातिले नेपाली भाषा बोल्दैनन् । सबैले नेपाली भाषा जानेका हुँदैनन् । उनीहरूको आआफ्नो भाषा छन् । विशेषगरी आदिवासी जनजातिहरूको आफ्नै भाषा, भेषभूषा, धर्म, संस्कृति र परम्परागत मान्यताहरू रहेका छन् । धेरै आदिवासी जनजातिहरूले नेपाली भाषा बुझ्दैनन् । यदि उनीहरूले नेपाली भाषा बुझ्दैनन् भने के गर्ने ? के उनीहरूका बालबालिकाहरूलाई शिक्षा नै नदिने हो त ? सबै नेपाली नागरिकले शिक्षा पाउने अधिकारबाट बन्चित गरिनु हुँदैन भनेर संविधानले नै संवैधानिक अधिकारको व्यवस्था गरिदिएको पनि छ । तर, संविधानमा गरेका व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गरेन भने त्यसको के नै अर्थ रहला ?

मातृभाषामा शिक्षा दिनुको प्रमुख उद्देश्य आफ्नो मातृभाषालाई कालान्तर सम्म जोगाइ राख्नु हो । भाषासँग लिपि, संस्कृति, भेषभूषाको पहिचान गराउनुका साथै समुदायमा लोक संस्कृतिको अपनत्व बढाउनु पनि यसको कार्यक्षेत्रमा पर्छ । बालबालिकाको दृष्टिकोणबाट हेर्दा, मातृभाषामा शैक्षिक कार्यक्रम संचालनको उद्देश्य विद्यार्थीको अध्यापनमा सरलता र सहजता साथै कक्षा छाड्ने दरमा कमी ल्याउनु र आधारभूत तहसम्म बालबालिकाहरूलाई बालमैत्री वातावरण पनि सिर्जना गर्नु हो । महत्वपूर्ण रुपमा, मातृभाषामा शिक्षा दिने कार्य समुदायमा सह—अस्तित्वको वातावरण सिर्जना गर्दै जातीय सदभाव कायम राख्ने लक्ष्यका साथ अगाडी बढिरहेको छ ।

नेपालका केही स्थानमा मातृभाषामा शिक्षा संचालन गर्दाका उपलब्धिहरू भेटिएका उदाहरणहरू छन् । बहुभाषिक शैक्षिक कार्यक्रम अन्तर्गत फिन्ल्यान्ड सरकारको प्राविधिक सहयोगमा नेपाल सरकारले मातृभाषामा पाठ्य सामग्री प्रकाशन गर्ने र शिक्षकको व्यवस्था गरेर तालिम दिने सहमतीमा १५ जनवरी २००७ देखि १५ जुलाई २००९ सम्म कार्यक्रम सन्चालन गर्न पाइलट प्रोजेक्टको रुपमा रसुवा, धनकुुटा, पाल्पा, झापा, सुुनसरी र कन्चनपुर गरी छ वटा जिल्लामा सातवटा मातृभाषी माउ विद्यालयहरू छनौट गरेका थिए । विद्यालय छनौटका लागि हिमाल, पहाड र तराई गरी नेपालका भोटबर्मेली परिवार, भरोपेली परिवार, एस्ट्रो—एसियाटिक परिवार र ड्राभिडियन परिवार गरी ५ परिवारका ८ भाषाको प्रारम्भिक छनौट गरिएको थियो । शैक्षिक सत्र २०६७/०६८ मा पाइलट प्रोजेक्टको रुपमा रसुवामा मातृभाषा तामाङमा अध्ययन अनुसन्धान शुरु गरेको थियो । रसुवा जिल्लाको धुन्चे गा.वि.स. वडा नं. २, ठाडे स्थित सरस्वती प्रा.वि. र .स्याफ्रु गा.वि.स. वडा नं. ५, ठ्लो भार्खुको भिमसेन प्रा.वि. छनौट भएका थिए । त्यहाँका अभिभावक, स्थानीय लामा, मणी उम्चे, बोम्बो –झाँक्री), शेबा–शेमेन, ह्वाइ÷ल खेबा, वुद्घिजिवि, जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति, शिक्षक तथा विधार्थीहरूको बृहत छलफलबाट तामाङ मातृभाषामा कक्षा १ देखि नेपाली र अंग्रेजी विषय बाहेक अन्य विषय तामाङ मातृभाषाको माध्यमबाट पठन—पाठन शुरु गर्ने निधो गरियो । ठाडे स्थित सरस्वती आधारभूत विद्यालयमा मातृभाषाको प्रभावको कारणले क्रमागतरुपमा कक्षा छाड्ने दरमा कमी आई २७ जना नियमित विद्यालय आउने विद्यार्थीको संख्या बढेर ७७ पुग्यो । निकै कम संख्यामा रहेको छात्राको संख्यामा समेत वृद्धि भई शत प्रतिशत विद्यार्थीहरू नियमित विद्यालय आउन थालियो ।

विज्ञान र गणित लगायतका विषयहरू तामाङ भाषामा पढाउँदा विद्यार्थीले सहजै बुझ्ने भएकाले परिक्षाको नतिजा पनि सुधार हुँदै गइरहेको छ । फलस्वरुप त्यहाँ २०६६ देखि प्रत्येक वर्ष कक्षा अपग्रेड गर्दै कक्षा ८ सम्म सन्चालन भैरहेको छ । ०७२ सालमा गएको महाभ्म्प पछि ११ वटा विधालय गाभिएर जिल्लाभरी हाल ९८ वटा मात्र समुदायिक विद्यालयहरू सन्चालनमा रहेको रसुवामा मातृभाषाकै कारणबाट यो विद्यालय अन्य टाढाका विद्यालयसँग गाभिनबाट जोगिएकोमा स्थानीय तथा अभिभावकहरू खुसी छन् । भूकम्प पश्चात लाङटाङ क्षेत्र सरोकार समाज lacoss धुन्चे, रसुवाको समन्वय र छायाँ नेपाल नामक गैरसरकारी सामाजिक संस्थाको सहयोगमा ८ वटा कोठा, तामाङ सम्भोटा लिपि विकास प्रतिष्ठान केन्द्रिय कार्यालयको सहयोगमा २ कोठा गरी १० कोठाको पक्की भवन निमार्णाधीन अवस्थामा छन् । जसमध्ये ७ वटा कोठाको निर्माणकार्य सम्पन्न भई मातृभाषा तामाङमा कक्षा संचालन भइरहेको छ । यस विद्यालयको सकारात्मक प्रभाव गोसाँइकुण्ड गाउँपालिका वडा नं. ६ स्थित श्री भिमाली प्रा.वि. र बोकेझुण्डाको गाउँफर्क राष्ट्रिय प्राविमा कष्कतभच विधालयको रुपमा समेत तामाङ मातृभाषामा अध्ययन—अध्यापन शु्रु भएका छन् ।

नेपालको संविधान २०७३ को धारा ७ अनुसार नेपालको सरकारी कामकाजीको भाषा रहेको देवनागरी लिपिमा लेखिने नेपाली भाषाको अत्तिरिक्त प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एक भन्दा वढी अन्य भाषालाई कानुन वमोजिम प्रादेशिक सरकारको कामकाजको भाषा निर्धारण गर्न सकिने संवैधानिक व्यवस्था रहेको छ । यद्यपि मातृभाषामा शिक्षा दिनु निकै चुनौतीपूर्ण छन् । अधिकाशं अभिभावकहरू अशिक्षित भएको कारण आफ्नो मातृभाषा बारे यथेष्ट सूचना तथा जानकारी पाउन सकेका हँदैनन् । यो प्रमुख चुनौती नै भन्नु पर्छ । अंग्रेजी भाषामा पढाइ गर्दा जागिर पाउने आशले गर्दा पनि मातृभाषाको शिक्षामा असर पुगिरहेको छ । कतिपय अवस्थामा विद्यालय प्रशासक, प्रधान अध्यापक र शिक्षकहरू समेतले चासो दिँदैनन् । मातृभाषा तामाङ र गैरमातृभाषा दुवै जानेका स्थानीयस्तरमै जनशक्ति उपलव्ध नहुनु अर्को समस्या हो ।

सरकारी व्यवस्थापन हेर्ने हो भने मातृभाषाको शिक्षक दरबन्दी राज्यले समय अनुकुल नतोकेको, राज्यका जिम्मेवार पक्षका व्यक्तित्वहरूबाट मातृभाषाबारे उत्तरदायित्व वहनमा कमी, संविधानले व्यवस्था गरे पनि मातृभााषामा शिक्षा दिने पूर्वाधार विकास तथा कार्यान्वयनमा ढिलाइ, शिक्षा विभागमा रहेको समहित शिक्षा डेस्क निस्क्रिय अवस्थामा रहेको र स्वदेशी भन्दा आयातित विषयलाई राज्यले प्राथमिकता दिनुले पनि

मातृभाषामा शिक्षामा रहेको चुनौतीको सामना गर्दै उपलव्धी र समाजको हितमा केन्द्रित रहेर हामीले अबको योजना अझ सफलता र हौसलाका साथ निर्माण तथा कार्यन्वयन गर्दै जानुपर्छ । विश्वमा सन्चार र आधुनिक प्रविधिले विज्ञानको क्षेत्रमा फड्को मारेको वर्तमान समय भए तापनि ‘त्जष्लप न्यिदबििथ, म्ग ीयअबििथ’ भन्ने पनि बिर्सनु हुँदैन । तामाङ भाषाको उखान यस्तो छ–‘केसा क्युर्ना केलु माक्युर’ अर्थात आफ्नो जन्मभूमि छोडेर अन्त कहीं पुगे पनि मातृभाषा नत्याग्नू रे । भनाइको तात्पर्य के हो भने यो पहिचान र भाषिक मौलिक संस्कृतिसंग पनि सम्बन्धित छ । आदिवासी जनजातिहरूको सन्दर्भमा मातृभाषाको संरक्षण हुनु आवश्यक छ । संयुक्त राष्ट्र संघको युनेस्कोकोले समेत पुराना भाषा, संस्कृति, कला आदिको संरक्षण हुनु पर्नेमा जोड दिएका छन् । हो, हामीले गैरमातृभाषामा पनि समय सापेक्ष शिक्षा दिइनु पर्छ तर आफूले शिशु अवस्था देखि जानेको बुझेको भाषामा शिक्षा शिक्षण क्रियाकलापहरू गराउँदा बालबालिकाहरूले छिटै सिक्ने र बाल मस्तिष्कले बुझेका र सिकेका कुराहरू पछि सम्म सम्झिन सक्ने कुरालाई कदापि बिर्सन मिल्दैन । अतः अन्तराष्ट्रिय भाषा अंग्रेजीलाई पनि समेटेर आफ्नो लोकभाषा, नाचगान, सँस्कृति, भेषभुषा, रितीरिवाज, बाजागाजा, आदिवासीहरूको हस्तलिखित, ऐतिहासिक धरोहरहरू, अलिखित इतिहास जस्ता समुदायका सांस्कृतिक पक्षहरूलाई पूर्खाको चिनोको रुपमा लिनु पर्छ ।

एउटा भाषा हरेक चौध दिनमा लुप्त हुने अनुमानका साथ विश्वमा कुल ७००० हजार भाषाहरू मध्ये आधाजति भाषाहरू यो शताब्दीमा लोप हुने अवस्थामा रहेको युनेस्कोको तथ्याङ्कले देखाएको छ । नेपालमा पनि १४४ वटा जातजाति, ९२ वटा भाषाभाषीहरूलाई भविष्यमा ठोस कदम चलाइ संरक्षण र सम्बद्र्घन नगर्ने हो भने विस्तारै लोप भएर यिनको अस्तित्व नै समाप्त हुने चुनौती बढ्दै गइरहेको छ । समुदायका भाषा, लिपि, संस्कृति, भेषभूषा, धर्म एक अर्काका परिपुरक भएको कारणले राज्यले हरेक विद्यालयहरूमा हप्तामा ४ पाठ्यभारबाट ६ पाठयभार बनाइ नेपाली भाषा सरह मातृभाषालाई मान्यता दिइ १०० पूर्णाङ्कको व्यवस्था अनिवार्य गराउनु समयको माग देखिन्छ ।

जातीय जनसंख्याको आधारमा कुनै ठाउँमा विषयगत हुन सकिन्छ भने कुनै ठाउँमा माध्यम भाषाको रुपमा लागू गर्न सकिन्छ, जस्तै रसुवा जिल्लामा ४२ वटा विद्यालयमा विषयगत र ५६ वटा विद्यालयमा माध्यमको रुपमा सन्चालन गर्न सकिन्छ । यसरी एक अर्काबीच, सदभाव र समन्वय कायम गर्दै, अल्पसंङ्ख्यकले बोल्ने भाषाको संरक्षण र बहुसंख्यकले बोल्ने भाषाको कदर गर्दै वर्ग, क्षेत्र, लिङ्ग र पिछडिएको क्षेत्रलाई समेटिएर शिक्षामा व्यवहारिक परिवर्तन ल्याउन सक्नु आजको आवश्यकता रहेको छ । आई एल ओ १६९ को धारा १३ र ग्ल्म्च्क्ष्ए (संयुक्त राष्ट्र संघले आदिवासी जनजातिहरूको अधिकारको सम्बन्धमा गरिएको घोषाणापत्र) मा पनि आदिवासीहरूको इतिहास, भाषाहरू, मौखिक परम्पराहरू, दर्शनहरू, लेखन प्रणालीहरू तथा साहित्यहरू पुनः जिवित गर्ने प्रयोग गर्ने तथा भावी पुस्तालाई हस्तान्तरण गर्ने तथा समुदाय, स्थान, र व्यक्तिहरूका आफ्नै नाम राख्ने र तिनीहरूलाई कायम राख्ने अधिकार लेखिएको छ । देश संघीयतामा प्रवेश गरेर स्थानीय तहको सरकार (प्रदेश नं. २ बाहेक) समेत गठन भइसकेकोले केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहकै सरकारले आदिवासी जनजाति बाहुल्य भएको विद्यालयहरूमा मातृभाषामा आधारभूत तहसम्म शिक्षा दिन सकियो भने शिक्षण सिकाइमा सहजता हुने देखिन्छ ।

Comments

comments