जयराम आचार्य
रसुवा जिल्ला उत्तरगया गाउँपालिका वडा नम्बर ३ ठूलोगाउँ स्थायी निवासी माधव गुरुङ चिन्तित थिए । उनको चिन्ताको कारण थियो– आफूले वर्षैदेखि बस्दै आएको घर वि.सं. २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण पूर्ण क्षति हुनु ।
६ जनाको परिवार व्यवस्थापन गर्न माधव गुरुङलाई ज्यादै मुश्किल थियो । प्रारम्भिक समयमा उनले स्थानीय सामग्रीबाट सामान्य निर्वाह हुने टहरो-गोठ बनाए । सरकारले भुकम्पपिडीतलाई आवास निर्माण गर्न सहयोग गर्ने कुरा रेडियोमार्फत सुनेका माधव गुरुङले केही राहतको सास फेरेका थिए । उनको दुःख भुलाउने साथी त्यही रेडियो नै थियो । नभन्दै सरकारले भूकम्बाट पिडीत नागरिकका लागि आवास निर्माण गर्न पहिलो किस्ता स्वरुप ५० हजार रुपैयाँ दियो ।
सरकारले पहिलो किस्ता स्वरुप ५० हजार रुपैयाँ दिएपछि उनले आफ्नो घर बनाउने योजना बनाए । उनसँग सामान्य काठ र सिमेन्टको काम गर्ने सीप पनि थियो । साथै काममा सहयोग गर्ने श्रीमति पनि । उनीहरुले दुःख सुख गर्दै छिमेकीसँग अर्मपर्म गर्दै डिपिसी लेबलसम्म काम गरे । डिपिसी लेबल पुरा गरेपछि दोस्रो किस्ता पाउने रेडियोमार्फत सुनेका माधव गुरुङ प्रक्रिया बुझ्न नजिकैको वडा कार्यालयमा गए । उनले वडा कार्यालयमा रहेका सम्बन्धित प्राविधिकका भनाई बमोजिम नै कागजपत्र बुझाए । दोस्रो किस्ता पनि उनको सेयर भर्न खोलेको बैंक खातामा आयो । उनी थप उत्साही हुँदै घर बनाउन लागे ।
उनले लोडबेरिङवाला दुई कोठे घर र शौचालय निर्माण सम्पन्न गरेपछि पुनः वडा कार्यालयमा तेस्रो किस्ताका लागि कागजपत्र बुझाए । कागजपत्र बुझाएको ३ महिना बित्दा पनि तेस्रो किस्ता नआएपछि उनी समस्यामा पर्न थाले । उनले आफ्नै वडा कार्यालयमा गर्ई सम्बन्धित प्राविधिक कर्मचारीलाई पनि समस्याबारे अवगत गराएका थिए तर उनीहरुले उपयुक्त सहजीकरण नगरिदिँदा उनी थप समस्यामा परेका थिए । एक दिन मध्यान्नमा रेडियो रसुवाबाट भूकम्पपछिको सदाचारमूलक सन्देश कार्यक्रम सुनिरहेका माधव गुरुङले कुनै समस्या भए ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल रसुवामा सम्पर्क गर्न सकिने सूचना सुने । सूचनामा दिइएको सम्पर्क नम्बरमा उनले फोन गरे । फोन कार्यालयका संयोजनले उठाए र समस्या सुने ।
समस्या सुनेपछि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल रसुवाका संयोजक जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) र स्थानीय पूर्वाधार तथा अनुदान व्यवस्थापन कार्यालय रसुवामा गई समस्या पहिल्याउन लागे । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल रसुवाको पहलमा जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मा अड्किएको माधव गुरुङको फाइल अघि बढ्यो । र उनले एक हप्ताभित्र नै तेस्रो किस्ता स्वरुपको रकम पाए ।
माधव गुरुङले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल रसुवालाई चिठी लेखी सहजीकरण गरी सहयोग गरिदिनु भएकोमा हार्दिक आभार प्रकट गर्दै भने म त ऋण गरेर ल्याएको पैसाको व्याज बुझाउन पर्ने अवस्थामा पुगिसकेको थिएँ, तपाईहरुको सहयोगले मेरो समस्या समाधान भयो, म धेरै आभारी छु ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल रसुवाको पहलले समन्वय अभावले अड्किएका कतिपय कामहरु अघि बढाउन सहयोग पुगेको हुँदा व्यवहारिक समस्या हल गर्न सजिलो भएको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन)का इन्जिनियरको बुझाई छ । यस्ता पैरवीले परिणाम निकाल्न सहयोग पुग्ने देखिएको छ ।