मानवता नै आजको आवश्यकता

Deepa Ta

दिपा तामाङ

आजको २१औँ शताब्दीमा मानवता मानिसहरूमा विरलै पाइन्छ । जो पनि आफ्नो स्वार्थको लागि जीउने व्यक्ति मात्र पाइन्छन् । प्रायः सबैको सपनामा आफूमात्र हुन्छ तर मलाई लाग्छ । हामी मानव भएकोले हामीले आफ्नो सपनामा आफुसँगसगै अरुलाई पनि राख्नैपर्छ । हामी सर्वश्रेष्ठ प्राणी हौँ भने अरुको लागि पनि केही गर्नुपर्छ किनकी आफ्नो लागि मात्र त जनावर पनि जीउछ ।

मानवता भन्नाले मानिसमा हुने ईश्वरत्व हो जसअन्र्तगत भलाई,सहयोग, आदर, सहअस्तित्वकोभावना, मेलमिलाप, सद्भाव, प्रेम, नम्रता, एकता, सहनशिलता, धैर्यतालगायत सम्पूर्ण अनुकरणात्मक र अनिवार्य असल वानी व्यवहारहरू हुन् । जुन कुरा आज मानिसहरूमा पाइनु भनेको हिरा पाउनु जस्तै छ । संसारमा भइरहेको सम्पूर्ण भेदभाव, हिंसा, अत्याचार,भ्रष्टाचार, युद्धलगायत अमानवीय क्रियाकलापहरू जसले परिवार, समाज, राष्ट्र र विश्वको सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, साँस्कृतिक, शैक्षिक, आध्यात्मिक, स्वास्थ्य, समृद्धि, खुशीलगायतको पक्षहरूमा नकारात्मक प्रभाव परिरहेको छ ।

अमानवता मानिसमा रहेको ईष्या, घमण्ड, अहंकार, अभिलासी स्वभाव, देखावटी, अस्वस्थकर होडबाजी र असन्तुष्टि जस्ता स्वभावहरूबाट उत्पन्न हुन्छ । सयाद आज संसारमा हिंसा नभएको कुनै प्रहर छैन । कस्तो शैतानिक स्वभाव भएका मानिसहरू होलान् । कसरी यस्तो गर्न सकेको होला भनेर म त तिन छक पर्छु । कतै छोराले बुबाको हत्या, कतै बलत्कार, कतै एसिड प्रहार, कतै जाति, धर्म र रङ्गका आधारमा मानिसमा बिभेद जसका कारण युद्ध छ । कतै दाइजो नल्याइको कारण जीउदै आगो लगाउने, कतै हत्या, हिंसा, कतै मानव बेचबिखन, कतै हातहतियार ओसार पसार, कतै चोरी डकैती र कतै साइवर क्राइम जस्ता घटनाहरू सुन्दा हृदय नै छियाछिया हुन्छ । यस्ता अपराधहरू गर्ने र गराउनेलाई कानून अनुसार दण्ड सजायको व्यवस्था छ । तर यहाँ निर्दोषलाई सजाय र दोषीलाई छुट भइरहेको छ । याे दण्डहीनता पनि समाजमा मानवअधिकार उलंघन र ज्यादतीका घटना बढ्ने र अशान्ति फैलाउने गरेकाे छ ।  सडकदेखि सदनसम्म अनि हरेक देशको हरेक गल्लीमा खराबीले मानिसको हृदय र मस्तिष्कमा राज गरी व्यवहारमा अमानवता भइरहेको छ । कानून नै सर्वोसर्वा मानिन्छ अनि यो सबैको लागि बराबर भनिन्छ मात्रै तर व्यवहारमा पालना गरिदैन । किन ? एउटै जवाफ मानिसमा मानवदाको चेत हराउँदै गएको छ भन्न सकिन्छ ।

चेतना यस्तो चिज हो त्यो नभएको भए मानिस र पशुमा खासै भिन्नता नभेटिन सक्थ्यो । यही कारण मानिसलाइ श्रेष्ठ प्राणी पनि भनियो । हिजो जे विषयमा पनि मानिस समाज मैत्री र हितकारी काममा लागेको देखिन्थे । मानव सभ्यताको विकास क्रममा अहिले प्रबिधिको विकासले जिविकामा समेत सहजता ल्याएकोले पनि जहाँ तही स्वार्थ समूहले बिभिन्न खाले अशमता, निजी स्वार्थ, सामाजिक द्वन्द्व हत्या, हिंसा जन्माएको छ । यसले मानवता गुम्दै गएको भान हुन्छ । यता आधुनिकताले पनि सिङ्गो मानव सभ्यतामा पनि श्रेणी बिभाजन गरिदिएको छ । आधुनिकताले मानिसमा धर्म, संस्कृति, परम्परा र मानवियता युक्त गुण पाउन कठिन हुँदै गएको छ । हामी आयातित कुरा मै भुलेर पनि मानवता बिर्सन थालेका छौं ।

हरेक मानिसको रगत त रातो नै हुन्छ, भोक, शोक, रोग र निन्द्रा सबैलाई हुन्छ । सबै प्राणीले जन्मेर मर्नै पर्छ । सर्वश्रेष्ठ प्राणी भएरपनि सहयोग,सहअस्तित्वको भावना नभए अनि सन्तुष्टि हुन पनि नसके त्यो त पशुतुल्य भएन र ? कुनै मानिस अर्को मानिसको र कुनै देश अर्को देशको सहयोगविना अस्तित्वमा रहन सम्भव छ र ? अवश्य पनि छैन । गोरु पनि सुरुमा भेट्दा जुध्छन् तर पछि सँगै नारिएर मेलो लाग्छन् र जोत्ने काम गर्छन् के हामी मानिस यति धेरै अबोध छौँ र ? यति कुरा पनि नसिकी मानव जगत नै अन्त्य गर्नसक्ने परमाणु अनि अणु वमलगायत अन्य हातहतियार निर्माण गर्ने ? असहाय कमजोरको रगत बगाई शान्ति जित्ने प्रयास चल्दै छ अनि अबोध अनाथको चितामाथी मान्छेको यहाँ चुला जल्दैछ,किन ? महामारीमा त सहयोग गर्नुपर्ने ठाउँमा उल्टै कालोबजारी अनि महङगी बढाएर हुने खानेले सधैँ हुँदा खानेलाई दुःख र पीडाको भट्टीमा जीउँदो लाश बनाउने, किन ? एउटै जवाफ हो मानवताको अभाव त्यसैले प्रथम र महत्वपूर्ण आवश्यकता मानिसहरूमा मानवता नै हो । मानिसहरूमा मानवता नै सत्यको सफलता हो अनि जहाँ सत्य हुन्छ त्यहाँ अमानवताको अन्त्य भई मानिस र राष्ट्रको चौतर्फी विकास हुन्छ । जति आधुनिकता बढ्दै गयो त्यति धेरै सुख विलास पनि बढिरहेको छ अनि अमानवताले मानिसमा राज गर्दै गइरहेको छ । त्यसैले संसार परिवर्तन गर्न सर्वप्रथम आफै असल मानव बनौँ संसार निश्चय नै परिवर्तन हुनेछ किनकी हामीलाई थाहा छ फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार ।

अमानवता कुनै समस्या हैन यो प्रत्येक मानिसहरूको कमजोरी हो किनकी यो मानिसको मन मस्तिष्कबाट निस्कने कुभावना हो । सायद आजको मानिसहरूमा मानवता भएको भए आज संसारमा गरिबी, बेरोजगारी, भोकमरी, भ्रष्टाचार र अत्यचार हुँदैनथ्यो किनकी संसारका सबै धनी व्यक्तिहरूले आफ्नो आधा सम्पत्ति मात्र भएपनि नाङ्गै आयौँ नाङ्गै नै जाने त होनी बाचुन्जेल आफू खाने अरुलाई पनि खुवाउने भन्ने मानवीय सोचले बड्ने हो भने संसारमा गरिबी, बेरोजगारी र भोकमरी नै हुने थिएन अनि अत्याचारको त नाम पनि सुनिदैनथ्यो । जुकाको जस्तो स्वभाव लिई उच्च पदमा रहि पदको दुरुपयोग गरेर सात पुस्तासम्म पुग्ने धन थुपार्न भ्रष्टाचार नगर्ने हो भने प्रत्येक देशको प्रत्येक प्रजाले पनि राजा सरहको सुख, शान्ति र आनन्दको जीवनयापन गर्थे । मानव भएर जन्मेपछि सम्मान जनक तवरले आफ्नो हक र अधिकार उपयोग पाउछ तर  अरुको अधिकार बारे पनि सचेत हुन आवश्यक छ । तसर्थ मानव भएर मानवताको चेत नगुमाइकन अघि बढ्नु नै मानव जगतका लागि सार्थक जीवन जीउनु नै मानवता हो ।

लेखक कालिका हिमालय माविबाट एसइइ उतीर्ण छात्रा हुन् ।

Comments

comments