मानव अधिकार आयोगको सरकारलाई ध्नाकर्षण

भूकम्प पीडितको समस्या समाधान चाँडो गर 

१८ कात्तिक । राष्ट्रिय मानव अधिकार आयोगले भूकम्प पीडितहरुको आवास, स्वास्थ्य, शिक्षा र जीवनयापनसम्बन्धी अधिकार पुनर्स्थापित गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले भूकम्प प्रभावित जिल्लाहरुको अनुगमन गर्दा पीडितको स्थिति झनझन नाजुक बन्दै गइरहेको भन्दै तत्काल कदम चाल्न आग्रह गरेको छ ।

जाडो मौसम, इन्धन अभाव, महंगी, कालाबजारी र उपभोग्य सामानको अभावका कारणबाट भूकम्प प्रभावितहरुको मानव अधिकारको स्थिति दिनप्रतिदिन नाजुक बन्दै गइरहेको आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ ‘भूकम्प पीडितहरुको मानवीय समस्याको निराकरणका लागि तत्काल आवश्यक प्रबन्ध गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।’

आयोगले नेपाल बार एशोसिएशन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघको सहकार्यमा भूकम्प अति प्रभावित भनी नेपाल सरकारले घोषणा गरेका जिल्लाहरुमा घुम्ती शिविर स्थापना गरी अनुगमन गर्दै आएको छ ।

अझै पनि कयौं व्यक्तिले भूकम्प पीडित परिचयपत्र नपाएको, टहरा तथा पालमै जीवन निर्वाह गर्नुपरेको र तत्कालीन राहत स्वरुप प्राप्त हुने भनिएको १५ हजार रुपैयाँ नपाएको जानकारीमा आएको आयोगले जनाएको छ ।

पुनर्निर्माण सम्बधी विधयेकलाई अविलम्ब अन्तिम रुप दिइ प्राधिकरण गठन गर्न पनि आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

Comments

comments