मानव अधिकार सुधार गर्न एक भएर लागौँ-सरोकारवाला

insec lalitpur

मानव अधिकारको अवस्था सुधारका लागि सबै सरोकारवालाहरू एक भएर लाग्नुपर्नेमा ललितपुरमा चैत २२ गते आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।

विश्वव्यापी आवधिक समीक्षा (यूपिआर)का लागि गैरसरकारी संस्थाहरूको सञ्जालको सचिवालय अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), राष्ट्रिय मानव अधिकार आयोगलगायत नौ वटा संस्थाको संयुक्त आयोजनामा गरिएको यूपिआरबाट प्राप्त सुझावहरूको राष्ट्रियस्तरको फलो अप बैठकमा वक्ताहरूले सो कुरमा जोड दिएका हुन् ।

कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले मानव अधिकारको अवस्थालाई सुधार गर्न मानव अधिकारसम्बन्धी राष्ट्रिय संयन्त्रहरू स्वतन्त्र र बलियो हुनुपर्ने बताए । संवैधानिक आयोगका रूपमा गठित मानव अधिकारका संयन्त्रहरूको भूमिका स्वच्छ र पारदर्शी हुनुपर्ने बताए ।

यूपिआर प्राविधिक भन्दा पनि राजनीतिक दस्तावेज भएकाले यसलाई सोही अनुरूप बुझनुपर्नेमा उनको जोड थियो । ‘सामाजिक जागरणले राजनीतिक जागरण ल्याउँछ । तसर्थ सामाजिक जागरणका लागि हामी क्रियाशील हुनैपर्छ ।’

संविधान राम्रो दस्तावेज भएको बताउँदै अध्यक्ष प्याकुरेलले भने-‘यसको प्रगतिशील व्याख्याबाट मात्रै समानताको प्राप्ति हुन्छ ।’

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले मानव अधिकारका पक्षमा केही काम भएको भएपनि धेरै काम गर्न बाँकी नै रहेको बताइन् ।

मानव अधिकार अवस्थाको सुधारका लागि यो अत्यन्तै महत्वपूर्ण संयन्त्र भएको बताउँदै अन्सारीले भनिन्-‘राष्ट्रिय मानव अधिकार संवैधानिक निकाय भएकाले यसले यूपिआर प्रतिवेदन र प्राप्त सिफारिस कार्यान्वयनको अनुगमन गरिरहेको छ ।’

‘पछिल्लो समय हाम्रो ध्यान शान्ति प्रक्रिया, संविधान लेखन र निर्वाचनमा बढी केन्द्रित भएकाले मानव अधिकार सुधारका लागि सोचेजति काम गर्न नसकिएको हो ।’

Comments

comments