मान्छे नर्छिने सडकमा ट्राफिकको सिटी, दसैँको सामान कहिले पुग्ला काठमाडौं ? 

Rasuwagadhi

हिमनाथ देवकोटा

रसुवाको टिमुरेस्थित रसुवागढि नाकामा दैनिक डेढसयको हाराहारीमा मालबाहक कन्टेनर गुडिरहेका छन् । दसैँको लागि सामान बोकेर आएका ३ सयभन्दा बढि मालबाहक कन्टेनर रसुवागढि नाकामा १५ दिनदेखि थन्किएका छन् ।

नाकामा दैनिक डेढसयको सङ्ख्यामा मालबाहक कन्टेनर आवतजावत गरेपनि रसुवा भन्सारले दैनिक २०/२५ ओटा कन्टेनरका सामान मात्र नापजाँच गर्दा समस्या दिन प्रतिदिन बढ्दै गएको हो । समयमा नै भन्सार जाँच हुन नसक्दा लामो समयदेखि गाडी आफ्नो पालो कुरेर बसिरहेका छन् । दैनिक ७५ भन्दा बढि गाडी भन्सार गर्न सकिने भएपनि २० ओटा मालबाहक कन्टेनरको मात्र भन्सार हुने गरेको सिन्धुपाल्चोकका व्यवसायी नवराज तिमिल्सिनाले बताउनुभयो ।

अघिल्लो वर्षको तुलनामा यसवर्ष चीनबाट रसुवागढि नाका हुँदै दसैँको सामान आयात बढेको छ । गएको वर्ष नाका भर्खरै सञ्चालनमा भएको र भारतले गरेको नाकाबन्दीले तेल आपूर्ति असहज बनेको कारण चीनबाट थोरै संख्यामा गाडीले सामान ल्याएका थिए । दसैँको समयमा नाकामा गाडीको उच्च चाप बढ्नु स्वभाविक भएको र दसैं सम्ममा सबै मालबाहक कन्टेनर नापजाँच भइसक्ने रसुवा भन्सारका प्रमुख केदार पनेरूले बताउनुभयो ।

व्यापारी भन्छन् – सामान चोरेर हैरान बनाए

बाहिरी जिल्लाका व्यापारी तथा चालक रसुवागढि नाकासम्म पुगेर फर्कने गरेका छन् । व्यापारी तथा चालक पारी जान नपाँउदा व्यापारीको सामग्री हराउने क्रम पनि बढ्दै गएको छ ।

नाका खुलेपछि सामानको आयात बढेको भएपनि व्यापारी आफै जान नपाउँदा सामान हराउने तथा चोरी हुने समस्याले व्यापारी आजित भएका छन् । काठमाडौंका व्यापारी बासु बस्नेतका अनुसार नाकामा नियमित फोन नचल्दा यस्तो समस्या आएको हो । ‘गाडी आएको भन्ने सुनिन्छ, भनेको बेलामा फोन चल्दैन, भोलिपल्ट गएर हेर्दा सामान चोरिएको हुन्छ ।’ अस्ती भर्खर सामान चोरेको आरोपमा एकजना पक्राउ परेको उहाँले जानकारी दिनुभयो ।

नाका एक, समस्या अनेक

चीनसँगको एक मात्र व्यापारिक नाका रसुवागढिमा सामान आयात निर्यात गर्नका लागि धेरै समस्याले सताउने गरेको छ । बाहिर जिल्लाका चालक केरूङ जान नपाउँदा चीनतर्फको बाटोमा गाडी महिनौंसम्म नफर्कने, गाडीमा क्षति पुग्ने, सामान चोरी हुने लगायतका समस्या देखिने गरेको छ भने नेपालतर्फ साँघुरो बाटो, बेलुकी ९ बजेपछि गाडी सञ्चालनमा रोक, ट्राफिक जाम लगायतका समस्या देखिएको छ ।

दसैँका सामान कहिले पुग्ला काठमाडौं ?

चीनबाट चाडपर्वका लागि आयात गरिएका सामान रसुवागढि नाकामा थन्किएका छन् । चीनमा सामान लिन गएका एकसय भन्दा धेरै मालबाहक कन्टेनर सामान लोड गरेर नेपाल आउने तयारीमा छन् ।
उज्यालोबाट

Comments

comments