मालपाेत कार्यालय अनलाइनमा

Rasuwa malpot

रसुवा, जिल्ला मालपोत कार्यालयमा कार्यालय अनलाइन सेवा सुरू भएकाे छ । भूमि व्यवस्था तथा अभिलेख विभागले मुलुकका ८६ वटा मालपोत कार्यालयमा भूअभिलेख सूचना व्यवस्थापन प्रणाली विस्तार गरेको छ ।Rasuwa malpot

विभागका महानिर्देशक गोर्कणमणि दुवाडीले सुविधायुक्त नमुना मालपोत कार्यालय तथा अनलाइन सेवाको उद्घाटन गरे । देशभरका १ सय ३१ वटा मालपोत कार्यालयमा यो सेवा विस्तार गर्ने क्रममा ८६ वटा कार्यालयमा विस्तार भइसकेको हो ।  सेवा सुरू हुने रसुवा जिल्ला  ८६ औं   जिल्ला  हो ।

सेवाग्राहीलाई सरल र सहज रूपमा सेवा दिने, कार्यालयलाई प्रविधिमैत्री बनाउने र मालपोत कार्यालयलाई आम नागरिकले हेर्ने दृष्टिकोण परिवर्तन आउने अपेक्षा गरिएको छ । अनलाइन सेवाले तथ्यांक एकीकृत गर्छ । यसले सुरक्षित, वैज्ञानिक, व्यवस्थित र प्रभावकारी रूपमा सेवा दिन सहयोग पुग्ने विभागले जनाएको छ । यसबाट देशभरका जग्गा तथा जग्गाधनीको विवरण विभागको एउटै सर्भरमा केन्द्रिकृत रूपमा भण्डारण भई विभाग तथा सरोकारवालालाई आवश्यक पर्ने तथ्यांक सजिलै प्राप्त गर्न सकिन्छ ।

घरजग्गाको स्वामित्व हस्तान्तरण हुँदा मालपोत कार्यालयले उठाउने रजिष्टेसन दस्तुर, पुँजीगत लाभकर तथा सेवा शुल्कलगायत अन्य राजस्व विवरण प्रणालीमा स्वचालित रूपमा गणना हुने व्यवस्था अनलाइन सेवामा गरिएको छ । अनलाइन सेवाले तथ्यांकमा सरलता आउने, राजस्व रकम गणनामा सहजता तथा पारदर्शिता हुने, किर्ते कारोबारमा कमी आउने, जग्गाको हदबन्दी कार्यक्रम कार्यान्वयनमा सहज हुुने र अनलाइन अनुमगन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

मालपोत कार्यालय रसुवाका प्रमुख गणेश श्रेष्ठले कार्यालयलाई नमुना बनाइने बताएका छन् । कार्यालयमा अनलाइन सेवा सुरु भएकोमा खुसी व्यक्त गर्दै प्रमुख श्रेष्ठले एडिएसएलबाट काम गर्न कठिन हुने भएकाले अर्को इन्टेरनेट सेवा पनि जडान गर्नुपर्ने बताए ।

Comments

comments