मिडिया, अन्तरवस्तु र पत्रकार

Kundan

 डा.कुन्दन अर्याल

विश्वमा मानवजातिले कोभिड–१९ सँगसँगै बाँच्न थालेको पनि छ महिना भइसक्यो तर अहिलेसम्म यसका असरहरूका बारेमा जानकारी हासिल गर्ने क्रम सुरुवातकै चरणमा रहेको देखिन्छ । मानिसलाई यतिखेर हरेक दिन, अझ हरेक क्षण यसले पु¥याइरहेको क्षतिका सम्बन्धमा अद्यावधिक हुनुपरेको छ । त्यसैले समाजमा आमसञ्चार माध्यममाथिको निर्भरता झन् बढेको छ ।
आज सबैभन्दा पुरानो, छापा माध्यम उत्पादन, वितरण र प्रयोगकर्ताको सजिलोको मामिलामा नयाँ माध्यमहरूभन्दा पछाडि परेको छ । अखबारहरू सयौँ वर्षसम्म हरेक दिन संसारलाई सुसूचित गर्ने सबैभन्दा प्रमुख माध्यम थिए । नेपालमा समेत अखबारका दिवा र सन्ध्याकालीन संस्करण प्रकाशन हुन्थे । अहिले मोबाइल फोनका एपहरू र वेबसाइटले नै अखबारलाई पन्छाउने बाटो खोलेका छन् । त्यसैले सूचना, मनोरञ्जन, शिक्षा, अभिप्रेरणा, अन्तरसम्बन्ध, सभ्यताको निरन्तरता यावत् भूमिका निर्वाह गर्ने पत्रकारिताले पनि नयाँ माध्यमहरूलाई अँगालिरहेको छ । सत्रौँ शताब्दीको सुरुवातदेखि नै कुनै न कुनै रूपमा अखबारहरू विश्वका विभिन्न भूभागमा छापिँदै आएका छन् । ती छापा माध्यमले विश्व समुदायका सामु पस्किँदै आएका सामग्री समय अनुसार नयाँ–नयाँ साधनमा उपलब्ध हुँदैछन् । सूचना र धारणामा मानव रुचि झन्झन् बढ्दैछ र मानिसहरू अति जरुरी, कर्णप्रिय र जीवनोपयोगी सूचना तथा धारणाहरूको खोजीमा उपलब्ध साधनहरूमा झन्झन् निर्भर हुँदै गएका छन् ।
रेडियो भर्खर सुरु भएको बेला अर्थात् खासगरी बीसौँ शताब्दी सुरुका वर्षहरूदेखि छापासहित आमसञ्चार जगत्को भूमिकाको समीक्षा हुन थाल्यो । उन्नाइसौँ शताब्दीको करिब–करिब मध्यतिर आइपुग्दासम्म पश्चिमा देशमा अखबारहरूको प्रसार उल्लेखनीय रूपमा बढिसकेको थियो तर खासगरी सनसनीपूर्ण समाचारको खेती गर्ने त्यसबेलाका अखबारले समाजमा भय र संशय उत्पन्न गराउन थालिसकेका थिए । त्यही अन्योलपूर्ण अवस्थालाई देखाउँदै यथास्थितिका पक्षधरले आमसञ्चार माध्यमहरू अर्बुद रोगजस्तो वा सबै परम्परा र अनुशासनका विध्वंसक हुन्छन् भन्ने आरोप लगाएका थिए तर समाज अग्रगतितर्फ बढ्दै गयो र माध्यममार्फत हुने आमसञ्चार समाजको अभिन्न पक्षका रूपमा विकसित हुँदै गयो । त्यही समयको हाराहारीमा आमसञ्चार र पत्रकारिताको जिम्मेवारीबोध र नैतिकताका पक्षमा गृहकार्य हुन थाले । त्यसपछि पत्रकारिताले सम्मान हासिल गर्दै गयो, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक समाजको आधारभूत शर्तका रूपमा स्थापित भए ।
चार शताब्दीभन्दा लामो पत्रकारिता, समाजमा यसको भूमिका र प्रभाव अध्ययन–चिन्तनको क्षेत्रमा झन्झन् गहन विषय बन्दै गइरहेका छन् । सुरुवातकालमा आमसञ्चार माध्यमका मनोवैज्ञानिक प्रभावका बारेमा बढी आँकलन गरियो । जसले गर्दा माध्यमहरूलाई कब्जा गर्न जो सफल हुन्छ वा जसले बढी प्रयोग गर्न सक्छ उसैले शक्ति आर्जन गर्न सक्छ भन्ने सोच प्रभावशाली हुन पुग्यो । त्यही कारण छापा र श्रव्यदृश्य माध्यमलाई प्रोपागाण्डाको साधन बनाइयो । दुई–दुईवटा महायुद्ध सकिएपछिका दिनमा जसरी शान्ति र विकासको नारा उरालियो, त्यसैगरी बहुसङ्ख्यक मानिसको खुसियालीका लागि आमसञ्चार माध्यमको भूमिकाको खोजी गर्न थालियो ।

आज कोरोना भाइरसले विश्वलाई आर्थिक–सामाजिक रूपमा तहसनहस पार्ने दिशामा डो¥याइरहेका बेला आमसञ्चार माध्यमउपरको निर्भरता झन् बढ्दैछ । हरेक क्षण सूचना चाहिएको मात्रै छैन, महामारीसँग लड्ने मनोबलका लागि व्यापक रूपमा अभिप्रेरणा जगाउने माध्यम चाहिएकै छ । जीवनोपयोगी शिक्षाको असीमित प्रसार आमसञ्चार माध्यमबाटै हुनसक्छ । अनि कोरोना भाइरसबाट बच्दै जीवनलाई सार्थक ढङ्गले अघि बढाइरहेका निडर र अनुशासित मानिसहरूको असल अभ्यासका कथा पनि त माध्यमहरूबाटै फिँजाउनुपरेको छ । कोरोनाले जीविका र दैनिक जीवनलाई दुष्प्रभावित पारेपछि निराश भएका मानिसलाई अवसादबाट बाहिर निकाल्न उत्साहप्रद सामग्रीहरू चाहिएको छ । यसबीच उत्पन्न जटिल परिस्थितिका कारण आफ्नै जीवन समाप्त पार्ने मानिसहरूको सङ्ख्या पहिलेको तुलनामा बढेको चर्चा चल्न थालेको छ । यसरी समग्रतामा हेर्दा विश्वभरका मानिसहरूको सञ्चारसम्बन्धी आवश्यकता झन् बढेका छन् । अनि आमसञ्चार माध्यमले पनि विश्व समुदायसामु आइपरेको भयानक सङ्कटको सामना गर्न जीवनोपयोगी सूचना सामग्रीको आपूर्ति गरेर ठूलो योगदान पु¥याउन सक्छन् । यही आधारमा अपेक्षा गर्नैपर्दछ, सङ्कटको यो घडीमा आमसञ्चार माध्यमले सामाजिक उत्तरदायित्वलाई सर्वोपरि महत्व दिन्छन् ।
शीतयुद्धकालमा, दुई महायुद्धपछिका वर्षहरूमा मिडिया र सरकारबीचका अन्तरसम्बन्धका विषयमा बहस र अध्ययन हुन थाले । पचासको दशकमा खासगरी अमेरिकी र तत्कालीन सोभियत सङ्घका शासन व्यवस्थालाई केन्द्रमा राखेर विश्वभरका मिडिया प्रणालीका सम्बन्धमा एउटा निष्कर्ष प्रस्तुत गरियो । प्रेसका चार सिद्धान्तका रूपमा चर्चित त्यस निष्कर्षमा विश्वभरका पत्रकारिता प्रणालीलाई अधिनायकवादी, सोभियत कम्युनिस्ट, उदारवादी र सामाजिक उत्तरदायी गरी चार भागमा विभक्त गरिएको थियो । सरकार र मिडियाबीच अमेरिकी संविधानको पहिलो संशोधन, १७९१ अनुसारको उदार सम्बन्धलाई प्रेसको उदारवादी सिद्धान्तको आधार मानिएको छ । अमेरिकी संविधान बिल अफ् राइट्सको त्यो पहिलो संशोधनमा काँग्रेसले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामा बन्देज लगाउने गरी कुनै कानुन बनाउन नपाउने प्रावधान थपिएको थियो । तर पे्रसका चार सिद्धान्तमै समाविष्ट सामाजिक उत्तरदायित्वको सिद्धान्तको उदय भने उदारवादी सिद्धान्तबाट मात्रै समाजमा मिडियाले प्रतिष्ठा हासिल गर्न सक्दैन भन्ने मान्यताका आधारमा भएको थियो ।
दोस्रो महायुद्ध सकिएको वर्ष दिनपछि अमेरिकामा प्राध्यापक रोबर्ट हचिन्सको अध्यक्षतामा गठित आयोगले चार वर्ष लगाएर तयार गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसबेला हचिन्स कमिसनको प्रतिवेदनको प्रारम्भमै अमेरिकामा प्रेस स्वतन्त्रता तीनवटा कारणले खतरामा परेको निष्कर्ष प्रस्तुत गरिएको थियो । पहिलो, आमसञ्चारको माध्यमका रूपमा प्रेसको विकास भएसँगै प्रेसका माध्यमबाट आफ्ना धारणा र सोच अभिव्यक्त गर्न पाउने जनताको सङ्ख्या भने झन्झन् कम हुँदैछ । अर्थात् त्यही बेला प्रेस आममानिसको पहुँचभन्दा टाढा पुग्दै थियो । दोस्रो, जो सीमित मानिस प्रेसको संयन्त्रलाई आमसञ्चार साधनका रूपमा प्रयोग गर्न सफल भएका छन्, उनीहरूले समाजको आवश्यकताअनुसार पर्याप्त सेवा उपलब्ध गराउन सकेका छैनन् । अर्थात् मिडिया वा त्यो बेलाको अखबार, जीवनोपयोगी हुन सकेको थिएन । तेस्रो, जो प्रेसका संयन्त्रलाई निर्देशित गर्दैछन्, तिनीहरू बेलाबेला समाजले भत्र्सना गर्ने अभ्यासमा लागेको देखिन्छ, जुन प्रवृत्ति निरन्तर कायम रह्यो भने जनताबाटै प्रेसमाथिको नियन्त्रणको माग हुनेछ ।
हचिन्स कमिसनले वस्तुतः आमसञ्चार माध्यम खासगरी पत्रकारिताका विभिन्न किसिमका उत्पादन र उत्पादनका साधनहरू वा ती साधनामाथिको सीमित मानिसको स्वामित्वको प्रसङ्ग अघि सारेको थियो । प्रेसका चार सिद्धान्तमा त्यही प्रतिवेदनलाई प्रेसको सामाजिक उत्तरदायित्वको सिद्धान्तको जन्मदाता ठह¥याइएको छ । कुनै पनि अखबार वा अन्य मिडियालाई प्रथमतः त्यसमा समेटिएको अन्तरवस्तुकै आधारमा पहिचान गरिन्छ तर त्यसभन्दा परको अध्ययनको विषय अन्तरवस्तु त्यस्तै किन भयो भन्ने नै हुने गर्दछ ।
अहिलेको कोरोनामय विश्वमा प्रेस वा मिडिया समाजको दर्पण हो भन्ने आदर्शवादी मान्यताका आधारमा मात्र सामग्रीको तयारी वा प्रस्तुति गरेर समाजको सञ्चार आवश्यकता पूरा गर्न सकिन्छ कि सकिँदैन ? यो विषयमा सबैभन्दा पहिले स्वयं पत्रकारले नै मनन गर्नुपर्दछ । यो समयमा सामाजिक उत्तरदायित्व भनेको के होला ? यस प्रसङ्गमा पूरक प्रश्न पनि आउँछ । आमसञ्चार माध्यमका उत्पादन वा सामग्रीका सम्बन्धमा केही दशकयता निकै छलफलमा ल्याइएको राजनीतिक अर्थशास्त्रको सिद्धान्त पनि हो । जसलाई अति साधरणीकरण गरेर जसको सिता खायो, उसैको गीता गाउने पनि भन्ने गरिएको पाइन्छ तर कुनै पनि अन्तर्वस्तु कुनै मिडिया आउटलेटमा त्यस्तै किन भयो भन्ने विषयमा कुनै निष्कर्षमा पुग्न त्यस्तो अति साधारणीकृत बुझाइ मात्र पर्याप्त हुँदैन ।
आमसञ्चार माध्यमका प्रस्तुति राजनीतिक अर्थशास्त्रबाट निर्देशित अवश्य हुन्छन् तर मिडिया उत्पादनका अन्य आयामलाई बेवास्ता गर्नुहुँदैन । पत्रकार वा लेखकहरूको सामाजिकीकरणको प्रक्रिया पनि कुनै अन्तर्वस्तुको रूप र सारका लागि कम महŒवपूर्ण हुँदैन । त्यसैले समाजले आज अपेक्षा गरेका सामग्री वा समाजका सञ्चार आवश्यकताको परिपूर्तिका लागि पत्रकारहरूले पनि आफ्नो सामाजिकीकरणको दायरा फराकिलो पार्नेछन् भन्ने अपेक्षा गर्नैपर्दछ । कोरोनाबाट आक्रान्त मानिसका सञ्चार आवश्यकताको पहिचान गर्न पत्रकारहरूले समाजको सूक्ष्म अध्ययन गर्नेछन् भन्ने आशा गर्नैपर्दछ ।

गाेरखापत्रबाट
(लेखक केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागमा आबद्ध हुनुहुन्छ ।)

Comments

comments