मेरो जीवनका सिकाईहरू

Rabina Nepali

रविना नेपाली 

कुनै पनि रुख बिरुवाहरू काडाँका झाङमा फल्न र फुल्न सक्दैनन् । जुनसुकै रुख बिरुवाले राम्रोसँग बढ्न, फुल्न र फलदिनको लागि आवश्यक खुल्लाठाउँ मल, जल र पानीको ठूलो आवश्यक्ता पर्दछ । त्यस्तै कुनै पनि बालबालिकाले आफ्नो जीवनमा सफलता, प्रगति, उन्नति, ज्ञान, सीप अभिबृद्धि गर्न, आदार, सत्कार, संस्कार, प्राप्त गर्नको लागि बालबालिकालाई एउटा असल परिवार र हरेक पाईलामा साथ दिने असल अभिभावकको आवश्यक्ता पर्दछ ।

मेरो जन्म यस्तो एउटा घरमा भयो जहाँ मलाई हरेक पाईलामा साथ र अथाह माया, ज्ञान, सहयोग गर्ने मेरो अङकल हुनुहुन्छ । मलाई सानैदेखि मेरो अङ्कल(विस्वास नेपाली) ले असल कुराको ज्ञान दिनुभयो । जसले मेरो भित्रको आँखा खुल्यो । उहाँले सानैदेखि के गर्ने ? के नगर्ने ? शिक्षाको महत्व के हो ? जस्ता विषय बुझाउँनु भयो । मैले पनि सोहि अनुसार घर तथा विद्यालय जीवनमा राम्रो सगँपढ्दै गए । मैले बिस २०७५ सालमा श्री सुन्धरा माध्यमिक विद्यालयबाट १० कक्षाको परीक्षा दिए । सो परीक्षामा मैले राम्रो नम्बर प्राप्त गरेर १० कक्षा पास गर्न सफल भए । घरको वातावरण प्रतिकुल भएपनि अनुकुलता खोज्दै मेहनत गरेर ७८.५ प्रतिशत नम्बर ल्याउँन सफल भए । त्यसपछि मलाई मेरो अङकले उच्च शिक्षका लागि बाटो देखाउनुभयो । उहाँले विज्ञान संकाय पढ्नको लागि सल्लाह दिनुभयो । अङकलको सल्लाह अनुरुप आफ्नै जिल्लाको कालिका गाउँपालिका स्थित श्री कालिका हिमालय उच्च माध्यमिक विद्यालयमा पढ्न गए । मैले पहिलो दिन सरहरूले पढाउँनु भएको केही पनि बुझ्न सकिन । किनकी मैले विद्यालय तहमा सामान्य विषय पढेकोले बिज्ञान मेरो लागि बिल्कुल नयाँ थियो । त्यसपछि मेरो मनमा एक प्रकारको डर उत्पन्न भयो कि मैले विज्ञान विषयपढ्न सक्दिन भन्ने लग्यो । त्यसपछि मैले मनमा भएको डर सबै अङकललाई भने र अङकलले मलाई भन्नुभयो अझ प्रयास गर्नुपर्छ । एक दिनमा नै हार मान्नु हुँदैन । त्यस पछि म दिनदिनै नियमित बिद्यालय जान थालें । सुरुको एकदुई हप्ता मेरो परीक्षा बिग्रेको थियो । तर पछि मेरो परीक्षाहरूपनि सुधार हुँदै गयो । मैले बिज्ञान विषयपढ्न र बुझ्न सक्नुको पछाडि महत्वपूर्ण भूमिका मलाई पढाउँने तिन जना सरहरू केशबमान डङ्गोल सर, प्रबिण वली सर, भरत सिंहलगायत सर मेडमहरूको छ । उँहाहरूले मलाई धैरै राम्रोसँग पढाउँनु भयो ।

नबुझेका कुराहरू धेरै पटक बुझाईदिनुभयो । धेरै राम्रा ज्ञान दिने कथा हरू सुनाउनुभयो । आफुले जीवनमा गरेका सङघर्षहरू सुनाउँनु भयो । म उहाँहरूको पढाउने, बुझाउने सिकाउने कलाबाट म धेरै प्रभावित भए । अनि मैले विज्ञान विषयमा आफ्नो तन, मन लगाएर पढें । त्यसपछि मेरो परीक्षाहरू पनि राम्रो हुन थाल्यो । विज्ञान विषय पढ्ने क्रममा म घरबाट विद्यालय पुग्नको लागि निकै कठिन हुने भएकोले मलाई अङकलले कालिकास्थानमा कोठा व्यवस्थापन गरिदिनुभयो । म कालिकास्थानमा बसेर पढ्न थालेपछि मलाई पढ्नको लागि धैरै सहज भयो । घरमा आउँने जाने समय मैले मेरो शिक्षामा उपयोग गरे । जसले मेरो पढाई अझ राम्रो भयो । मलाई कालिकास्थानमा बस्ने बन्दोवस्त मिलाई दिनुहुने मेरो अङकल र उहाँका साथीहरू साथीहरु हेमनाथ खतिवडा, सुष्मा न्यौपाने, साथै अन्य सहयोगी हातहरू सबैलाई धन्यबाद दिन चाहन्छु । उहाँहरूको सहयोग गर्दा मैले कालिकास्थानमा बसेर पढ्ने ठूलो अवसर पाए । घरबाट टाडिएर पढ्नु पर्दा सुरुमा डर र नरमाईलो महुस भएको थियो तर समयसँगै बानी पर्दै भयो । पढ्ने वातावरण राम्राे बन्दै गयो । राम्रोसगँ पढ्दै गए । २०७७ सालमा कक्षा ११ को परिक्षा दिए । सो परिक्षामा मैले ३.६ जिपिए प्राप्त गरे । जसबाट म धैरै खुशी भए । यसबाट मलाई पढाउँने शिक्षकहरू साथै अङकल र उहाँको सम्पूर्ण साथीहरू खुशी हुनुभयो । जसले मलाई अझै धेरै पढ्न निकै उर्जा मिल्यो । त्यसपछि कक्षा १२ को पढाई सुरुभयो । कक्षा १२ मा पनि राम्रो सगँपढ्दै, बुझदै, सिक्दै गए । त्यसपछि विस २०७८ सालमा कक्षा १२ परीक्षा दिएँ । मैले श्री कालिका हिमालय माध्यमिक विद्यालयका शिक्षक शिक्षिका ज्यूहरूबाट धेरै राम्रा कुराहरू सिक्ने अवसर पाए ।

सर्ब प्रथम मलाई बिज्ञान विषय पढ्ने अवसर प्रदान गरिदिनुहुने हाम्रो विद्यालयको व्यवस्थापन समिति , प्रधानाध्यापक ज्यू , गाउँपालिका जनप्रतिनिधी ज्युहरूलाई म हृदयदेखि नै धैरै धन्यबाद दिन चाहन्छु । किनकी उहाँहरूले पढ्नको लागि निःशुल्क किताब र विज्ञान संकाय पढ्नका लागि सहजता प्रदान गरिदिनुभयो । हजुरहरूले प्रदान गर्नु भएको अवसर, माया, साथ, सहयोग म जीवनमा कहिलै भूल्न सक्दिन । मेरो जीवनमा मेरो अङकल र उँहाको साथीहरू भगवान सरह हनुहन्छ । उँहाहरूले मलाई दुई वर्षसम्म कालिकास्थानमा गास, बास, कपासको साथै स्टेशनरी सामग्रीको व्यबस्था मिलाउँनु भयो । मलाई एउटा असलबाटोमा हिंड्नको लागि सधै हात र साथ दिनुभयो । मेरो जीवनमा आएका कठिन परिस्थितिलाई समाधान गरिदिनु भयो । मैले गरेका गल्तीहरूलाई माफिदिनु भयो । मैले आजसम्म भगवानलाई देखेको छैन तर मैले देखेको, चिनेको, मेरा सम्पूर्ण कुराहरू सुन्ने मलाई सफलताको बाटो देखाउँने हजुरहरू हनुहुन्छ । हजुरहरूको त्याग, तपस्या र सहयोगको कदर गर्दै म एक असल व्यक्ति बन्नेछु । अझ धेरै राम्रो सगँपढ्ने छु । साथै अङकल हजुको सपना म एक सरकारी कर्मचारी भएको हेर्ने रहर अवश्य पुरा गर्ने छु । हजुरलाई पक्कै मैले गरेको कामले गर्व हुनेछ ।

मलाई थाहा छ अङकल घर चलाउँन म लगायत बहिनीहरूलाई पढाउँन, खुवाउँन, हाम्रा ईच्छा र चाहना पुरा गर्न हजुरले धेरै मेहनत, परिश्रम, गर्नु भएको छ । हाम्रो खुशीको लागि आफ्नो खुशी बिर्सनु भएको छ । त्यसकारण मैले राम्रो सगँपढ्नु छ । जागिर खानु छ । जीवनमा सफल र असल हुनुछ । परिवारको अवस्था सुधार्नु छ । हजुरलाई धैरै सहयोग गर्ने छु । यो मेरो जीवनको ठूलो सपना हो । मेरो गाउँ इट्पारे जहाँ दलित समुदायको बस्ती छ । यहाँ कुनै समय अशिक्षा, गरिबी, बेरोजगारीका करण द्धन्द्ध, झगडा, लागूपदार्थ दुव्र्यसन थियो । तर समयसँगै यहाँ सम्पूर्ण व्यक्तिहरू अहिले कुनै न कुनै रोजगारीमा आबद्धहुँदै आईरहेका छन् ।

गाउँका सम्पूर्ण बालबालिकाहरू शिक्षाबाट बञ्चित छैनन् । तर पनि हाम्रो यस गाउँलाई नराम्रो गाउँभनेर कुरा गरेको प्रत्यक्ष रुपमा सुन्दै र देख्दै आईरहेको छु । जसले मलाई नराम्रो अनुभब हुन्छ । जमिनमा रहेका सबै कोईलाहरू कँहा हिरा बन्न सक्छन् र ? त्यो कोईला मात्र हिरा बन्छ जसले अत्याधिक ताप र चाप सहेको हुन्छ । त्यसकारण अब मेरो गाउँका म लगायत साथी, भाईबहिनीहरू सबैमिलेर राम्रो सगँपढेर हाम्रो गाउँको नाम प्रति लागेको कालो दाग हटाउनुपर्छ । परिवार, गाउँ र समाजकै नाम राख्ने गरी राम्रो र असल व्यक्ति बन्नुपर्छ । नकारात्मक सोच बिचारलाई हटाई सकरात्मक सोच बिचार तर्फ लाग्नुपर्दछ । मलाई पढाउने, बुझाउने र मेरा सम्पूर्ण सुख दुःखमा साथ, माया सहयोग गर्नुहुने मेरो परिवार, गुरुवर्ग, सहयोग गर्नुहने सम्पूर्ण सहयोगी हातहरूलाई सधै मेरो तर्फबाट सधै धेरै सम्मान र सम्झना छ । यहाँहरुको साथ सहयोग र खेर जान दिने छैन भन्ने प्रतिवद्धता पनि गरेकी छु ।

Comments

comments