मोदीलाई ‘जोरका झट्का धिरेसे’

sudip
नरेन्द्र मोदीले नाकाबन्दी लगाएदेखि आमाले तीनटा काम पाउनुभयो – रातदिन नेपाली च्यानल हेर्ने, सूचनाभन्दा बढ्ता त्रास दिइरहेका समाचार सुनेर चाहिनेभन्दा बढी तर्सिने, अनि बिहान उठेदेखि राति नसुत्दासम्म ‘ग्यास खोज्न सकिनस्’ भन्दै कचकच गरिरहने।
‘फलानो नाकाबाट यतिवटा गाडी छिर्यो’– टेलिभिजनले फुक्नेबित्तिकै उहाँ उफ्रिन थाल्नुहुन्थ्यो– ‘ल ल ल गइहाल, ग्यास आयो होला!’
‘फलानो डिलरले ग्यास लुकाएको फेला पर्यो’– उहाँ फेरि कराउनुहुन्थ्यो– ‘हाम्रो डिपोले पनि लुकायो होला, नभए यतिका दिन एक सिलिन्डर नि पाइँदैन त!’
एकदिन त हदै गर्नुभयो। डिपोको नम्बर माग्नुभयो। फोन गरेर ग्यासवालालाई साफ हपार्नुभयो– ‘तिमीहरू ग्यास लुकाउने, अनि छैन छैन भन्दै ठाँट्ने!’
उता, श्रीमतीको आफ्नै ‘टेन्सन’ छ।
‘चार लिटर पेट्रोल पनि खोज्न नसक्ने!’
धन्न उनी स्कुटर चढ्छिन्। फुल–ट्यांक हाल्दा पनि त्योभन्दा बढ्ता अट्दैन।
अस्ति श्रीमतीले यसो भन्दा फ्याट्ट ट्विटरवाणी सम्झेँ। भनेँ, ‘बरु म तिमीलाई रगत दिन सक्छु, पेट्रोल दिन सक्दिनँ।’
उनी दिनभरि मुख फुलाएर बसिरहिन्।
हैन, यो त अति भो! सुत्दा, उठ्दा, हिँड्दा, बस्दा कति तेलकै टेन्सन लिइरहनु! यही सोचेर, हिजो बिहान आमा र श्रीमतीलाई सँगै राखेर भनेँ, ‘ग्यास र तेल खोजेर ‘इनर्जी’ नष्ट गर्नुको तुक छैन।’
स्वाभाविक हो, आमा कुर्लिनुभयो, ‘भोकभोकै बस्नु त!’
मैले यसरी सम्झाएँ :
अब जति नै टाउको फोडे पनि कम्तीमा एक महिना काठमाडौंमा ग्यास पाइँदैन भनेर ढुक्क भए हुन्छ। मोदीले आजै बोर्डर खोलेर तेलका ट्यांकर र ग्यासका बुलेट धमाधम नेपाल पठाउन थाले पनि कम्तीमा एक महिनाअघि बजार आपूर्ति सहज हुनेवाला छैन। यसको मतलब, यसपालिको दसैं (वा, तिहारसमेत) तेल र ग्यास अभावमै बित्ने पक्का छ।
किन त?
पछिल्लो दस दिनको प्याकप्याक अभावले बजार पूरै निख्रिएको छ। उपत्यकाका सबैजसो घर र होटलमा रित्ता सिलिन्डर थुप्रिएका छन्। कति साना होटल त ग्यास नपाएर बन्दै भइसके। यस्तो हाहाकार बजारमा ग्यास आयो भन्नेबित्तिकै सारा रित्ता सिलिन्डर एकैचोटि बाहिर निस्कन्छन्। घरमा दुइटा–तिनटा सिलिन्डर जगेडा राखेकाहरू एकैचोटि भर्न आइपुग्छन्।
ग्यास भनेको भारतबाट आज भित्रिएर भोलिपल्टै उपभोक्ताको घर–घरमा बाँडिने होइन। एउटा बुलेट (ट्यांकर) रक्सौल बोर्डरबाट छुटेपछि काठमाडौं आइपुग्न लगभग तीन दिन लाग्छ। त्यसपछि उद्योगमा लगेर बुलेटबाट सिलिन्डरमा भर्नुपर्छ। यसका लागि थप चार दिन लाग्छ। उद्योगीहरूले अहिलेको अभाव हेर्दै घुँडा धसेर काम गरे पनि ट्यांकर भित्रिएको कम्तीमा एक साता उपभोक्ताले ग्यास पाउँदै पाउँदैनन्।
यो भयो बाटोको म्याद।
आयात भएको एक सातामा छेलोखेलो ग्यास पाइन्छ भन्ने होइन। अन्य अदृश्य जटिलता छन्, जसले सहज आपूर्तिमा बाधा ल्याउँछ।
पहिलो, हामीलाई महिनाभरिमा २१ हजार टन ग्यास चाहिन्छ। यो भनेको ४५ लाख सिलिन्डर हो। एउटा बुलेटबाट १ हजार २ सय ५० सिलिन्डर ग्यास तयार हुन्छ। अर्थात्, महिनाभरिको माग पूरा गर्न हामीलाई ३ हजार ६ सय बुलेट चाहिन्छ। अब सोचौं, यति धेरै ट्यांकर नेपाल भित्रिन कति दिन लाग्ला?
दोस्रो, हाम्रो बजार माग ४५ लाख सिलिन्डर भए पनि उद्योगीहरूले आफ्नो नाफाका लागि योभन्दा बढी सिलिन्डर बेचेका छन्। निगमका अनुसार बजारमा ५१ लाख सिलिन्डर घुमिरहेका छन्। उद्योगीहरूले दिने तथ्यांक त झन् बढी छ। उनीहरूका अनुसार ६१ लाख सिलिन्डर बजारमा छन्।
मागभन्दा बढी सिलिन्डर बिक्री हुनुको कारण केही उद्योगको ठगीधन्दा हो। उपभोक्ता सकेसम्म ठूला र नाम चलेका उद्योगकै ग्यास किन्न चाहन्छन्। सानातिना उद्योगको ग्यास तबसम्म बिक्दैन, जबसम्म बजार अभाव हुँदैन। अभावको मौका छोपेर साना उद्योगहरू ठूला कम्पनीको सट्टा आफ्नो सिलिन्डर भिडाइदिन्छन्। र, उनीहरूका सिलिन्डर लुकाइदिन्छन्। वा, आफ्नो नयाँ सिलिन्डर किने मात्र ग्यास दिने सर्त राख्छन्। अभावले आलसतालस उपभोक्तालाई रामे होस् कि श्यामे, ग्यास पाए त्रिलोकै पाए बराबर हुन्छ।
सहज आपूर्तिका बेला यसले केही फरक पार्दैन। जब अर्कोचोटि अभाव हुन्छ, तिनै सिलिन्डर घाँटीमा हाड बनेर अड्कन आइपुग्छन्। न ओकल्न मिल्छ न निल्न। लुकाइएका, भिडाइएका, थोपरिएका रामे–श्यामे सबै कम्पनीका लाखौं सिलिन्डर एकैचोटि बजारमा थुप्रिँदा माग कृत्रिम रूपमा बढ्ने भइहाल्यो। अनि त, जति आपूर्ति गरे पनि अभाव ज्यूँका त्यूँ।
पेट्रोल–डिजेलको समस्या पनि यस्तैयस्तै हो।
देशभरिमा दिनको ३ लाख ५० हजार लिटर पेट्रोल र ४ लाख ५० हजार लिटर डिजल खपत हुन्छ। एउटा ट्यांकरमा १६ हजार लिटर अट्छ। एक दिनको माग पूरा गर्न पेट्रोल मात्र २१ ट्यांकरभन्दा बढी भित्रिनुपर्छ।
तेल आयो भन्नेबित्तिकै अहिले सुख्खा याममा घरै थन्किएका गाडी एकैचोटि पम्पबाहिर झुम्मिन आइपुग्छन्। त्यो बेला गाडीको लश्कर अहिलेभन्दा निकै बढी हुनेछ। केही दिन जति तेल खन्याए पनि मरुभूमिको बालुवामा पानी हालेबराबर हो। दिनकै ५ लाख लिटर पेट्रोल आयात गरेर बाँड्दा पनि आपूर्ति सहज हुन कम्तीमा दुई साता लाग्ने विगतको अनुभवले देखाउँछ।
त्यसमाथि भारतबाट एक थोपा नआउँदा समेत आयल निगमले दिनका दिन अलिअलि बाँडेको बाँड्यै छ। यो भनेको निगमले आफ्नो ‘डेड स्टक’ (जगेडा भण्डारण) बाट तेल दिन थाल्यो भन्ने बुझ्नुपर्छ। यस्तोमा अलिअलि तेल त निगमले आफ्नो ‘डेड स्टक’ निम्ति जगेडा राख्न परिहाल्यो।
त्यसैले, जुन दिन नाकाबन्दी खुल्छ, त्यसको पन्ध्र–बीस दिनपछि बल्ल ग्यास–तेल पाइन थाल्छ। पूरै सहज हुन त महिनादिनै लाग्छ। त्यतिञ्जेल आयल निगम र आपूर्ति मन्त्रालयले जेसुकै दाबी गरून्, त्यो सबै जनतालाई ढाडस दिन मात्र हो। उनीहरूको दाबी न कहिले पूरा भएको थियो न अब पूरा हुनेछ।
त्यसो भए विकल्प के त?
बिजुली।
‘ग्यास पाइएन भन्दै टेन्सन लिएर रोग बढाउनु सट्टा खुरुक्क बिजुलीबाट खाना पकाउने,’ मैले भनेँ, ‘यसपालिको दसैंमा बिजुलीबाटै भान्सा चलाउने हो।’
‘महँगो पर्दैन?’ आमा र श्रीमती दुवैले शंका गरे।
धेरै उपभोक्तालाई यही डर छ – बिजुलीमा खाना पकाउँदा बढी मूल्य तिर्नुपर्ने त होइन!
जबदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार २ सय रुपैयाँ नाघ्यो, तबदेखि ऊर्जाविज्ञहरूले भान्साको निम्ति बिजुली नै सस्तो पर्ने बताउँदै आएका छन्। इञ्जिनियरिङ अध्ययन संस्थान, ऊर्जा अध्ययन केन्द्रका प्राध्यापक अमृत नकर्मीले केहीअघि यसबारे लामो कार्यपत्रै प्रस्तुत गरेका थिए। समाचार पनि लेखिएकै हो। तर, न समाचार लेख्ने हामी बिजुलीको विकल्पतिर लाग्यौं न सरकारले नै यसलाई प्राथमिकतासाथ प्रचारप्रसार गर्यो।
यसको कारण के भने, जतिसुकै सस्तो परे पनि लोडसेडिङ बेला घरमा बत्ती आउने तालिका हेर्दै भात पकाउने झन्झटतिर को लागोस्!
वास्तवमा, ग्यास र बिजुलीको प्रचलित बजार मूल्य दाँज्दा बिजुलीबाट भात पकाउन सस्तो पर्छ।
बिजुलीबाट चल्ने राइसकुकर र माटोको सामान्य हिटरमा भात, दाल, तरकारी पकाउँदा एकचोटिमा दुई युनिटभन्दा बढी खपत हुँदैन। यसअनुसार दुई छाक पकाउन औसत दिनको चार युनिट खर्च हुने ऊर्जाविद्हरूको भनाइ छ। बिजुलीको भाउ प्रतियुनिट सालाखाला १० रुपैयाँ लिने हो भने दिनको ४० रुपैयाँ पर्यो। यो भनेको महिनाको १ हजार २ सय रुपैयाँ हो। तपाईंलाई बारम्बार चिया पिइरहनुपर्छ, पानी तताइरहनुपर्छ, खाजा पकाउनुपर्छ भने पनि महिनाको थप २-३ सयभन्दा बढी खर्च हुँदैन।
यसको मतलब, जतिसुकै बिजुली फुरमाइस गर्दा पनि लगभग एक सिलिन्डर ग्यास बराबर मोलमा राइसकुकर र हिटरबाटै मज्जाले महिनावारी भान्सा चल्छ। छ–सात जनाको सामान्य परिवारका लागि एक सिलिन्डर ग्यास टिक्ने भनेको एक महिना नै हो। मट्टीतेल उपभोक्ताका हकमा पनि भान्साका लागि बिजुली नै सस्तो पर्ने ऊर्जाविद्हरू बताउँछन्।
भारतबाट ग्यास र मट्टीतेल नआए पनि चीनबाट आउने हिटर र राइसकुकरको बजारमा अभाव छैन। अहिलेको परिस्थिति हेरेर आयात बढाउन सकिन्छ। खाना छिटो पाक्ने र बिजुली खपत कम हुने अत्याधुनिक हिटर पनि झिकाउन वा प्रयोग गर्न सकिन्छ। चीनबाटै आउने दुई हजार किलोवाटको ‘इन्डक्सन हिटर’ मा लगभग एक घन्टाभित्रै भात, दाल, तरकारी सजिलै पाक्छ। पानी उमाल्न दुई मिनेटभन्दा बढी लाग्दैन। सुरुमा किन्दा महँगो भए पनि समयको हिसाबले यो किफायती नै देखिन्छ।
रह्यो, लोडसेडिङको कुरा।
लोडसेडिङ तालिका हेर्दै खाना पकाउन गाह्रो हुन्छ भन्ने हाम्रो मनको भ्रम मात्र हो। मेरो घरको तालिका हेर्दा हामीलाई सबभन्दा बढी लोडसेडिङ हुने सोमबार साँझबाहेक अरू बेला खासै गाह्रो पर्दैन। त्यही दिन पनि लोडसेडिङअगावै खाना पकाएर ठिक्क पार्न नसकिने होइन। एक दिन छिटो पकाएर छिटो खाने बानी बसाले आकाश खस्नेवाला छैन। वा, एक दिन ढिलो पकाएर ढिलो खाने गरे पनि भुइँचालो जाँदैन। सक्दै सक्दैनौं भने लोडसेडिङ बेला ब्रिकेट वा भुसको चुह्लो प्रयोग गर्न सकिन्छ।
हामीले हरेक दिन लोडसेडिङ तालिका हेर्दै खाना पकाउने हो भने केही समय झन्झट अवश्य होला, अन्ततः हामीलाई बानी पर्दै जानेछ। र, बानी पर्दै गएपछि त्यही तालिका हाम्रो दैनिकी बन्नेछ। अहिले नै लोडसेडिङ तालिकाले हाम्रो घरव्यवहारका अन्य दैनिकी निर्धारण गरेको छँदैछ।
सबभन्दा ठूलो कुरा, यसले इन्धनमा भारतप्रतिको निर्भरता स्वाभाविक रूपमा कम हुने निश्चित छ। आयातीत महँगो तेलको सट्टा बिजुली प्रयोग गर्न सके बर्सेनि ठूलो परिमाणको विदेशी मुद्रा बचत हुन्छ।
वर्षौंदेखि ग्यास वा मट्टीतेलमा निर्भर उपभोक्तालाई बिजुलीतिर आकर्षित गर्न सरकारले सहुलियत दिनमा कञ्जुस्याइँ गर्नुपर्दैन। अहिलेको प्रतिकूल समयमा घरायसी प्रयोजनका लागि बिजुलीको भाउ थोरै घटाउन सकिन्छ। उद्योगी, व्यापारीलाई कर फछ्र्यौटका नाममा लाखौं, करोडौं छुट दिनसक्ने सरकारले जनताको सुविधाका लागि अलिकति कोष रित्याउँदा अर्थतन्त्र धराशयी हुन्छ, बजेट सन्तुलन बिग्रन्छ भन्नु ढोंग मात्र हो।
भाउ घटाउन सकिन्न भने पनि प्रतिकूल अवस्था विचार गरेर लोडसेडिङ त घटाउनै सकिन्छ। वा, लोडसेडिङको समय हेरफेर गरेर भान्सामा बिजुली चाहिने बिहान र साँझ लाइन नकाट्न सकिन्छ।
उद्योगधन्दा, कलकारखाना, बन्दबेपार ठप्प रहेको यो समय धेरै बिजुली बचत भएकै छ। बर्खा याम त्यसै पनि बढी बिजुली उत्पादन हुने समय हो। त्यही भएर जुनदेखि नोभेम्बरसम्म बिजुलीको भाउ सस्तो गर्न सकिन्छ भनी ऊर्जाविद्हरूले बताउँदै आएका छन्।
सरकारले यी सबै विचार पुर्याएर ‘भान्साका लागि बिजुली प्रयोग गरौं’ भनी सार्वजनिक अपिल गर्ने र सहुलियत दरसहित नयाँ लोडसेडिङ तालिका ल्याउने हो भने तेल रोक्ने भारतलाई योभन्दा शालिन र संयमपूर्ण जबाफ अरू केही हुनेछैन।
भान्साको गर्जो टरेपछि गाडीको निम्ति तेल नपाएर पिरलो लिनु त बेकारै कुरा हो। जिन्दगीमा अरू केही कामै नभएजस्तो रातदिन तेलकै लाममा किन उभिने! दिनमा आठ–दस किलोमिटर हिँड्दा कसैको उचाइँ घट्दैन, बरु ज्यानलाई फाइदै हुन्छ।
खाँटी कुरा के भने, यो दुई–चार दिनको मरिहत्तेले देश न स्विट्जरल्यान्ड बन्नेवाला छ न सिंगापुर। केही दिन कामधाम छाडेर विकासको चिन्ता लिएनौं भने पनि देश कहीँ अन्धकारमा जानेवाला छँदै छैन। म त हाम्रा नेता, प्रशासक, विकासविद् र अर्थशास्त्री देखेर पो छक्क पर्छु। रातदिन टेलिभिजनमा अनुहार फेरेर यति घाटा भयो, उति घाटा भयो भन्दै अन्तर्वार्ता दिएका दियै छन्। उनीहरूका अर्ती–उपदेशले काम गर्दो हो त जाबो एक साता तेल नआउँदा हामीले यस्तरी सुर्ताउनुपर्ने नै थिएन। अनेक विकल्पतिर माथापच्ची गर्नुपर्ने नै थिएन।
अबको दस दिनमा त्यसै पनि दसैं विदा सुरु हुँदैछ। तेल खपत कम गर्न बरु आजैदेखि स्कुल, कलेज र अत्यावश्यकबाहेकका सबै अफिसलाई दसैं विदा किन नदिने!
उपाय अनेक छन्। खाली स्वाभिमानका साथ संकट सामना गर्ने हिम्मत हुनुपर्यो। उहाँ भने आकाशै थर्किने गरी राष्ट्रिय स्वाभिमानको नारा लगाउने, अनि चौबीसै घन्टा पेट्रोलको सुर्ता लिएर आफ्नै प्रेसर किन बढाउने! बरु तिमीले जति पेल्न खोजे पनि हामी ‘बिन्दास’ छौं भन्ने देखाएर भारतकै सातो किन नलिने!
उनकै देशको ‘मुन्नाभाइ’ स्टाइलमा नरेन्द्र मोदीलाई टाढैबाट ‘जादूकी झप्पी’ दिँदै ‘गेट वेल सुन’ किन नभन्ने!
हामी एक हुने हो भने, हाम्रो यही शालिनता र संयम भारतलाई ‘जोरका झट्का धिरेसे’ हुनेछ।
र, जति आत्तिन्छौं, हड्बडाउँछौं, हामीलाई अत्याउने र पेल्न खोज्नेको मनोबल उति बढ्नेछ।
यसरी लगभग एक घन्टा सम्झाएपछि आमा र श्रीमतीले कुरा बुझे। घरमा माटोको पुरानो हिटर थियो। बनाएर ल्याएँ। दुई दिनदेखि दाल र तरकारी त्यसैमा पाकिरहेको छ। भात पकाउन राइसकुकर छँदैछ। मलाई चिया धेरै पिइरहनुपर्छ। त्यसको लागि रातो आगो बल्न थालेको ग्यास चुह्लो प्रयोग गरिरहेको छु। दुई–चार दिनमा त्यो पनि निख्रिएपछि चिया पकाउन छुट्टै बिजुली हिटर किन्ने विचार गर्दैछु।
अचेल मलाई घरमा धेरै कचकच छैन। श्रीमतीको पेट्रोल रोइलो त ठप्पै भइसक्यो। उनी दिनको ६ किलोमिटर हिँड्न थालेकी छन्। शरीरलाई व्यायाम भएको छ, इन्जिनलाई आराम। म पनि लगभग दस किलोमिटर त हिँडेकै हुन्छु।
आमा भने अझै बेलाबेला गनगन गरिरहनुहुन्छ।
रातदिन तेलको संकट देखाएर चाहिनेभन्दा बढी तर्साउने टेलिभिजन समाचार जो हेरिरहनुहुन्छ!

Comments

comments