‘युट्युबे’ होइन ‘युट्युबर’ बनौँ

Kundan

डा. कुन्दन अर्याल

अस्पतालको शैयामा जीवन–मरणको सङ्घर्ष गरिरहेका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीका छोराले ट्वीटमा लेखे– भारत फेक न्युजको कारखाना नै बन्न पुगेको छ । भर्खरै, सामाजिक सञ्जालमा अनुमानका भरमा उनका पिताको स्वास्थबारेमा अफवाह फैलाउने किसिमका सामग्री आउन थालेपछि उनी त्यो तीखो टिप्पणी गर्न बाध्य भए । सामाजिक सञ्जाल व्यक्ति–व्यक्तिको निर्वाध अभिव्यक्ति स्वतन्त्रताका लागि अत्यन्त प्रभावकारी माध्यम अवश्य हो । तर, यसबाटै अफवाह फैलाउन पनि गाह्रो छैन । त्यसैले हिजोआज ‘फ्याक्ट चेक’ अर्थात् सत्यापनको निकै चर्चा हुन थालेको छ ।
सामाजिक सञ्जालहरूकै बीच भिडियोको प्रसारका लागि ‘युट्युब’ अत्यन्तै लोकप्रिय छ । युट्युब संसारको अगुवा ‘भिडियो सेयरिङ प्लेटफार्म’ हो । यसमार्फत कसैले पनि भिडियो सेयर गर्न वा विमर्शका लागि अरूलाई उत्प्रेरित गर्न सछ । यसले संसारका धेरै युवालाई ज्ञानसँग साक्षात्कार गर्ने मौका दिएको छ । अनुभवी प्राध्यापकहरूलाई युवाबीच ज्ञान बाँड्ने प्रभावकारी उपाय दिएको छ । यो केवल हल्का मजाक वा रमाइलो गर्ने वा समय बिताउने साधनमात्र होइन । यो यस्तो सामाजिक सञ्जाल हो, जसले टाढा–टाढाका मानिसलाई जोडेको छ । युट्युब यसप्रकारको पहिलो वेबसाइट हो, जहाँ प्रयोगकर्ताहरूले स्वतन्त्रतापूर्वक भिडियो अपलोड गर्न सक्छन् । ती प्रयोगकर्ताका मौलिक हुन वा नहुन पनि सक्छन् । यसले मानिसलाई धर्मनिरपेक्ष सोच र साँस्कृतिक सद्भावलाई विस्तार गर्ने मौका पनि दिएको छ । धेरै युवाले नवप्रवद्र्धनात्मक सोचहरू यसैमार्फत फिँजाएका छन् । औपचारिक शिक्षा वा अनौपचारिक सिकाइका लागि पनि युट्युब प्रभावकारी साबित भएको छ ।
कतिपय मानिस यो प्लेटमार्फलाई हेर्नमात्र प्रयोग गर्छन् भने कतिपय मानिस अझ खासगरी युवाले यसमा आफ्ना सामग्री पनि कुनै शुल्क नबेहोरी प्रसार गरिरहेका छन् । त्यसबाटै वाहवाही र प्रशंसा बटुलिरहेका छन् । त्यतिमात्र होइन, युट्युबमा कसैको सामग्री धेरैभन्दा धेरै मानिसले हेर्दै गए भने पैसा पनि पाइन्छ । हो, यही पैसा पाइने लोभ वा प्रसार ‘मनिटाइज्ड’ हुने प्रणालीका कारण युवा प्रतिस्पर्धामा कस्सिएका छन् । अनि यही प्रतिस्पर्धाका क्रममा ‘क्लिकवेट’ भन्ने शब्द निकै प्रचलनमा आएको छ । उन्नाइसौँ शताब्दीको उत्तराद्र्धमा अमेरिकी अखबारहरूको केवल पाठकलाई आकर्षित गर्ने होडका क्रममा यस्तै एउटा शब्दावलीको उत्पत्ति भएको थियो । त्यो बेलाको येल्लो जर्नालिजम (पीत पत्रकारिता) र अहिलेको क्लिकवेट उस्तै हुन् । समयक्रममा आमजनता वा उपभोक्ता, पत्रकार र सरकारहरूबीच मतैक्य कायम भयो– त्यस्तो पत्रकारिताले कसैको हित गर्दैन, समाजको आवश्यकता पनि पूरा गर्दैन ।
युट्युबसँग सम्बन्धित कैयौँ सामाजिक र कानुनी समस्याहरू पनि छन् । केही समस्या निर्वाध अभिव्यक्तिको अधिकारको दुरुपयोग वा प्रयोगकर्ताहरूको असामाजिक व्यवहारका कारण पनि उत्पन्न भएका छन् । आउँदा दिनहरूमा पनि विवाद उत्पन्न भइरहने प्रस्टै देखिन्छ । किनकि व्यक्ति–व्यक्तिबीचको कुराकानी जस्तै यस माध्यमबाट व्यक्तिले आफूलाई लागेको विनारोकटोक अभिव्यक्त गर्न सक्छन् ।
सुरु भएको केवल १५ वर्षको अवधिमा आज सबैलाई लाग्दै छ, युट्युबमा दर्शक बटुलेर आर्थिक लाभ लिने प्रवृत्तिउपर कुनै न कुनै नियन्त्रण आवश्यक छ । अहिलेको क्लिकवेट र ऊबेलाको पीत पत्रकारिताबीचको आधारभूत भिन्नता के छ भने त्यो बेला अन्तर्वस्तु पस्कने काममा पत्रकारहरूको एकाधिकार थियो । तर, आजका युट्युबजस्ता सामाजिक सञ्जालका लागि हरेक व्यक्ति अन्तर्वस्तुका सर्जक र उपभोक्ता हुन् । मूलधारका टेलिभिजन पत्रकारहरू पनि युट्युबको प्रयोग गरिरहेका छन् । आम रूपमा उनीहरू समाजप्रति जिम्मेवार छन् र उनीहरू सम्पादनका क्रममा पत्रकारिताका व्यावसायिक मर्यादा र विवेकको सम्मान गर्ने गर्छन् । सामाजिक सञ्जालका रूपमा व्यक्ति–व्यक्तिले मात्र युट्युबको प्रयोग गरिरहेका छैनन् । पत्रकारिताको माध्यमका रूपमा अनुभवी वा प्रशिक्षित पत्रकारहरूले पनि युट्युबको प्रयोग गरिरहेका छन् ।
केही समययता तेस्रो थरीको जमात तयार भएको छ, जो आफूलाई पत्रकार मान्दैनन्, जो आफूलाई सोखका लागि मात्र यस माध्यमको प्रयोग गर्ने उपभोक्ता पनि ठान्दैन । जसको यसै मेलोबाट ठूलो आम्दानी गर्ने महŒवाकाङ्क्षा छ । जसलाई जसरी–तसरी धेरैभन्दा धेरै दर्शक बटुल्नु छ । हिंसा, अश्लील, आँसु, वीभत्स जेसुकै देखाएर होस्, सत्यतथ्यसँग कुनै सरोकार छैन, बनावटी दृश्य छ । त्यसैगरी, क्लिकवेट बढाउनु छ, मनिटाइज्ड गराउनु छ, कमाउनु छ । यहीक्रममा त्यो जमात नेपाली समाजमा युट्युबे भनेर चिनिन थालेको छ ।
कतिपय मानिसलाई युट्युबको गलत प्रयोगले निकै आतङ्कित बनाएको छ । त्यस्ता मानिसलाई लाग्छ, समाजका सारा मूल्य–मान्यता, सामाजिक रीतिथिति यसैले तहसनहस पारिदिनेछ । तर, त्यस्तो पनि होइन, युट्युबे भन्ने विशेषण पाएका हाम्रा युवाले पनि युट्बुबर भनेर आम रूपमै अन्य देशहरूमा जस्तै सम्मान पाउने दिन आउन सक्छ । तर, त्यसका लागि युट्युबमा नियमित रूपमा सामग्री अपलोड गर्ने उत्साही युवाले कम्तीमा यति त बुझ्नैपर्छ, यो माध्यमलाई प्रयोग गरी जब कुनै पनि सामग्री आममानिस वा मासमा लैजाने कर्ममा संलग्न भइन्छ, सामाजिक–नैतिक मूल्य–मान्यता र देशको कानुनको पनि ख्याल गर्नैपर्छ । धेरैजसो अवस्थामा विश्वव्यापी अवधारणा र अन्तर्राष्ट्रिय कानुनको पनि ख्याल गर्नैपर्छ । आजको विश्वमा कुनै पनि जाति, लिङ्ग वा पेसाका मानिसविरुद्ध घृणाका शब्दावली प्रयोग गर्नु गलत मानिन्छ । युट्युब एक्काइसौँ शताब्दीको प्रविधि हो, यसको प्रयोग पनि मानव जातिले हासिल गरेको मूल्य–मान्यता र सभ्यताअनुकूल हुनैपर्छ ।
अत्यधिक दुरुपयोग, घृणाका शब्दावली, सेन्सरसिप, पूर्वाग्रह र अफवाह, इन्टरनेट र युट्युबयस्ता कैयौँ समस्याबाट मुक्त छैनन् । तर, नकारात्मक पाटोको मात्रै चर्चा गरेर त्यतिविघ्न आत्तिनुपर्दैन । युट्युब वा यसको सञ्चालन गर्ने गुगल कम्पनीले पनि ‘गाइडलाइन’ बनाएको छ, उजुरी गर्ने व्यवस्था गरेको छ । दबाब समूह, नागरिक समाज अग्रसर हुनुपर्छ । जागरुक उपभोक्ताले सर्जकहरूलाई ठीक ठाउँमा ल्याउन सक्छन् । युट्युबको दाबी छ– यसले विश्वभरका उपभोक्ताहरूलाई अभिव्यक्ति र सूचनाको अवसर प्रदान गर्दै आबद्धता प्रदान गरेको छ । तर, कम्पनी यसको दुरुपयोगप्रति पनि सजग छ भन्ने दाबी गर्छ । त्यहीक्रममा जारी गरिएको छ– पोलिसिज एन्ड सेफ्टी ः रुल्स एन्ड पोलिसिज कम्युनिटी गाइडलाइन्स ।
युट्युबका अनुसार यसको ‘कम्युनिटी गाइडलाइन्स’ उपभोक्ता समाजको संरक्षणका लागि तयार गरिएको हो । ती गाइडलाइन्सले युट्युबमा के प्रसार हुन दिने र के नदिने तय गर्छन् । ती गाइडलाइन युट्युबको प्लेटमार्फमा भिडियो, कमेन्ट, लिङ्क र थम्बनेलजस्ता सबै किसिमका अन्तर्वस्तु वा क्रियाकलापका सन्दर्भमा लागू हुन्छन् । यसले भ्रामक र सरासर झुटो वा सत्यजस्तै लाग्ने भ्रामक सामग्री वा लिङ््कसमेत हटाउने गर्छ । त्यसैगरी, हिंसाजन्य र खतरनाक, बलजफ्ती वा साइबर बुलिङ, हानि गर्ने वा खतरनाक वा घृणाका शब्दलाई वर्जित गरेको दाबी गर्छ । हिंस्रक अपराधी समूह वा त्यस्ता भिडियोलाई पनि यसले आफैँ वर्जित गरेको छ । बालबालिकाको सुरक्षामा ध्यान पुयाइएको दाबी गाइडलाइनमा गरिएको छ । नग्नता र यौनजन्य, आत्महत्या वा कुनै व्यक्तिले आफैँलाई हानि पु¥याउँदै अपलोडगरेको दृश्यजस्ता संवेदनशील विषयलाई समेत निषेध गर्ने नीति छ । यसले फायर आर्म (घातक हतियार) वा अन्य गैरकानुनी सामग्रीको बिक्री वितरण वा नियमन गरिएका वस्तुको खुला विज्ञापनमा समेत रोक लगाउने गरेको छ । युट्युबका आधिकारिक वेबसाइटका अनुसार यसले यस्ता सबै किसिमका हानिकारक अन्तर्वस्तुलाई प्लेटफार्मबाट हटाउने गरेको छ । यसले समस्या उत्पन्न गर्न सक्ने सामग्रीको निरन्तर अनुगमन मानिस र यन्त्रका माध्यमले गरिरहेको हुन्छ । त्यस्तो अन्तर्वस्तु फेलापरेको अवस्थामा विज्ञहरूले समीक्षा गर्छन् ।
युट्युबको निर्देशिका अनुसार समस्याग्रस्त देखियो भने त्यस्तो अन्तर्वस्तुलाई हटाइन्छ र भविष्यमा त्यस्तो नआओस् भनेर यन्त्रलाई त्यहीअनुकूल ‘प्रोग्रामिङ’ गरिन्छ । युट्युबको ग्लोबल पब्लिक पोलिसी टिमले पोलिसीका विषयहरूमा निर्णय गर्ने आधार तय गर्छन् । तर, त्यति हुँदाहुँदै पनि अपराधलाई दुरुत्साहित गर्ने वा व्यक्तिको निजत्व हनन गर्ने किसिमका सामग्री पनि आउने गरेका कारण नेपाली समाजमा यसप्रति नकारात्मक धारणासमेत बन्न थालेको छ । यसको मूल कारण हामीमा रहेको मिडिया साक्षरताको कमी नै हो । अर्थात् हामीले नेपालबाट अपलोड गरिएका त्यस्ता सामग्रीबारेमा युट्युबमा पर्याप्त उजुरी गरेका छैनौँ । सबै प्रयोगकर्ताले युट्युबका सर्तहरूको पालना गर्न स्वीकार गरेका हुन्छन् । त्यसैले सचेत व्यक्तिहरूले उजुरी गरेर युट्बुबरहरूलाई ठीक बाटोमा ल्याउने सक्रियता देखाउनुपर्छ ।
विज्ञान र प्रविधिको विकाससँगै मानव सञ्चारका नयाँ–नयाँ आयाम देखापर्दै जानेक्रममा नयाँ–नयाँ मिडिया प्रविधिप्रतिको आकर्षण बढ्दै जान्छ । प्रयोग र सन्तुष्टिका दृष्टिले पनि युट्युबको लोकप्रियता बढ्दै जानु स्वाभाविकै हो । यो नयाँ मिडियाप्रतिको आकर्षण यतिविघ्न बढेपछि यससम्बन्धी विमर्श अघि बढ्नु पनि स्वाभाविकै हो । यो माध्यमलाई धेरै मानिसले प्रयोग गरेकै कारण केही मानिसलाई आर्थिक फाइदा भइरहेको छ । अनि कैयौँ मानिसको क्षति भइरहेको छ भने सोधखोज पनि हुनुपर्छ ।
(लेखक त्रिवि पत्रकारिता तथा आमसञ्चार
केन्द्रीय विभागमा आबद्ध हुनुहुन्छ ।)

गाेरखापत्रबाट

Comments

comments