रसुवाका कुनाकाप्चाहरू

phurpa Tamang 2012

फुर्पा तामाङ, काठमाडौरसुवाका कुनाकाप्चाहरू

चैत्र २९, २०७०-उहिले सहरमा बस्नु रमाइलो हुन्थ्यो रे । हिजोआज ठयाक्कै उल्टो भएको छ । मानिसको घुइँचो, ठुल्ठूला भवनहरू, गाडीको ध्वनि, हावापानीको अभाव, प्रदूषण र दैनिक कार्यबोझले सहरमा निस्सासिँदो छ । यसै कारण विकसित देशका मानिसहरू पर्यटक बनेर शान्त ठाउँ खोज्दै नेपालका गाउँघर, हिमाल, पहाड घुम्न आएका हुन्छन् । हामी सहरमा बस्नेले पनि यो बानी बसाल्न सकेका छैनौं । बधुवाँ गाईभैंसीझैं बस्दा र एकमुठो धनियाँ किन्न पनि सवारीसाधन प्रयोग गर्दा मोटाएर भुँडी ठूलो भएका देखिन्छन् । हामीले चीनको अनुभव लिने हो भने आन्तरिक पर्यटनको विकासका लागि सहरियहरू गाउँघर घुम्न जाने बानी बसाल्नुपर्छ । स्थलगत यात्रा-भ्रमणले विभिन्न ठाउँको प्रत्यक्ष जानकारी मिल्छ । शारीरिक र मानसिक रूपमा स्वस्थ र स्फूर्त भइन्छ । काठमाडौं, पोखरा, विराटनगरजस्ता सहरमा बस्नेहरू सबैभन्दा नजिकको पर्यटकीय गन्तव्य रसुवामा गएर लाभ लिन सकिन्छ । रसुवाका विभिन्न ठाउँ घुम्दा तपाईंलाई रमाइलो नै रमाइलो अनुभूति हुनेछ । रसुवा टाढा छैन । काठमाडौंबाट जम्मा १२० किमी । सरकारी कर्मचारी, उद्योग व्यवसायी, गृहिणी र युवायुवतीहरू गाडी वा बाइकमा हुइँकिएर रसुवाको प्राकृतिक सौन्दर्यमा रम्न सकिन्छ ।

लाङटाङ-क्याङजेन

यो रुट सबैभन्दा पुरानो हो । टोनी हेगन यो रुटका पहिलो विदेशी पर्यटक हुन् । उनैले नेपालमा स्विस प्रविधिको पहिलो याकचिज उत्पादन केन्द्र क्याङजेनमा बनाए । क्याङजेन (३८७० मि) रसुवा जिल्लाकै सबैभन्दा अग्लो स्थानमा रहेको बस्ती हो । काठमाडौंबाट बस चढेर स्याफ्रुबेंसी पुगेपछि पैदलयात्र सुरु हुन्छ । क्याङजेन पुग्नेले धर्तीमै स्वर्ग पुगेको अनुभूति गर्न सक्छन् । हिमालसँग मित लाउन क्याङजेन जानुपर्छ । अलिकति माथि उक्लिएर क्याङजेन री, चेर्को री, यालापिक र लाङसिसासम्म पुग्ने हो भने ज्यान थाकेर फतक्कै गले पनि मनले अझै माथि चढूँ जस्तो लाग्छ । तल फर्किन मन मान्दैन । नीलो आकाशमुनि सेतम्यै हिमाल र वासनायुक्त लेकाली घाँसमा श्वास लिन पाउँदा त्यहीं बसिरहूँजस्तो लाग्छ । गन्जला पास गरेर सिन्धुपाल्चोकको तार्केघ्याङ निस्किएर काठमाडौं जान सकिन्छ । तर यात्रा जोखिमपूर्ण हुन्छ । फर्किएर ठूलोस्याफ्रु हुँदै गोसाइँकुण्ड पार गरेर पनि काठमाडौं जान सकिन्छ । यो रुटका आकर्षणहरूमा भोटेली शैलीका तामाङ जाति, गुम्बाहरू, मानी, क्षोर्तेन, भोटेली तामाङ शैलीको नाचगान, चाडपर्व, लाङटाङे सल्लो, याकचौंरी, डाँफे, मुनाल, काँडे भ्याकुर आदि छन् । काठमाडौंबाट क्याङजेनसम्म पुगेर फर्किन ६ दिन लाग्छ ।

गोसाइँकुण्ड 

गोसाइँकुण्ड लाङटाङ पदयात्रा अन्तर्गत पर्दछ । समुद्री सतहदेखि ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको यो कुण्ड स्याफ्रु गाविस-६ को भार्खु गाउँको सिरानमा पर्दछ । हिन्दु, बौद्ध र बोन्पो धर्मको संगमस्थल हो । वर्षेनि दुई पटक ठूलो मेला लाग्छ । जेठ महिनामा पर्ने गंगादसहरा मेला र साउन पूणिर्मामा पर्ने जनैपूणिर्मा । हजारौंका भक्तजनहरू कुण्डमा नुहाउन आउँछन् । स्थानीय तामाङहरू साउन पूणिर्माको दिन झाँक्री (बोन्पो) सहित सेसे बोन्पो गीत गाएर नुहाउन जान्छन् । विदेशी पर्यटकहरू पुस, माघ र फागुन महिनाबाहेक घुम्न पुग्छन् । गोसाइँकुण्ड जानेले सरस्वती कुण्ड, भैरव कुण्ड र सूर्य कुण्ड आदि देख्न सक्छन् । जिल्लाभरि जम्मा १०८ कुण्ड छन् । काठमाडौंबाट जाँदा पहिलो बास हुन्छ- धुन्चे । हिँड्न सक्नेहरू दोस्रो दिन लौरीबिना बसेर कुण्डमा स्नान गरी चन्दनबारी फर्किन सक्छन् । तेस्रो वा चौथो दिन काठमाडौं । सूर्यकुण्ड पार गरेर सुन्दरीजल वा मेलम्ची निस्किएर पनि काठमाडौं फर्किन सकिन्छ । गोसाइँकुण्ड पार गरेर जाँदा ७ दिनमा काठमाडौं पुगिन्छ । बाटोमा बस्ने र खानेको समस्या हुँदैन । होटल र लज भेटिन्छन् । बाटोमा हिँड्दै जाँदा हिमाल, पहाड, कुण्ड, चराचुरुंगी, थरीथरीका गुराँस, बुकी, रेडपान्डा, याकचौंरी, भेडीगोठ, भोटे कुकर, गुम्बा, क्षोर्तेन, मानी आदि देख्न पाइन्छ ।

चिलिमे तातोपानी  

यो तातोपानी २ हजार ५ सय ६० मिटर उचाइमा रहेको छ । चिलिमे गाविसमा पर्दछ । तामाङ भाषामा तातोपानीलाई क्षुरेन भनिन्छ । तामाङ हेरिटेज ट्रेलको मुख्य आकर्षणमध्ये एक हो । तातोपानी नुहाउन स्थानीय, छिमेकी जिल्ला र टाढाबाट मानिसहरू कात्तिकदेखि चैत महिनासम्म आउने गर्छन् । बाथ, नशा, छाला र गानोगोला रोगलाई निको पार्ने विश्वास गरिन्छ । जमिनबाट भकभक उम्लेर निस्केको तातो पानीको मुहानदेखि केही तल ६ वटा धारो बनाई तीनवटा पोखरी बनाइएको छ । नुहाउन सजिलो छ । विदेशीहरू तातोपानीमा नुहाउन रमाउँछन् । काठमाडौंबाट साढे एक दिनमा पुग्न सकिन्छ । बिहान ६ बजे बालाजुबाट चिलिमेको बस चढेर थाङ्माच्ये बास । भोलिपल्ट ३ घन्टा उकालो चढेपछि पुगिन्छ । आफ्नो सवारीसाधन हुनेले सिम्पु गु गाउँमा गाडी राखेर एक घन्टा उकालो चढेपछि तातोपानी पुगिन्छ । खाना र बस्नको सुविधा छ ।

पार्वती कुण्ड

पार्वती कुण्डलाई स्थानीयहरू छेदिङ्मो भन्छन् । कुण्ड समुद्री सतहदेखि २ हजार ५ सय मिटर उचाइमा छ । वर्षेनि साउने पूणिर्मामा बोन्पो (झाँक्री) सहितको ठूलो मेला लाग्ने गर्छ । यो क्षेत्रका गाउँहरूबाट तामाङहरू कुण्डमा स्नान गर्न आउँछन् । कुण्डलाई गाउँको ठूलो देवीको रूपमा लिइन्छ । कुण्डलाई बोझोले छोपिदै आएको छ । यो हटाउन सके कुण्डको आकर्षण बढ्नेछ । कुण्डमा फैलिएको बोझो खाँदा घाँटी दुखेको, स्वर बसेको निको हुने विश्वास गरिन्छ । कुण्डका वरिपरि बाक्लो जंगल भएकोले कुण्डमा खस्ने पातहरू टिप्ने काम चराले गर्छन् भन्ने स्थानीयको भनाइ पाइन्छ । हुन पनि कुण्डमा कुनै पातहरू तैरिरहेको देखिन्न । कुण्डको छेवैमा मन्दिर र पुरानो गुम्बा रहेको छ ।

गत्लाङ गाउँ  

झुरुप्प बस्ती छ । काठे छानो भएका घरहरू देख्दा विदेशीहरू गत्लाङ गाउँ (२३०० मि) लाई ब्ल्याक भिलेज भन्छन् । पश्चिम (नुप हयुल) का तामाङहरूको मौलिक संस्कृति जीवन्त देख्न सकिन्छ । यहाँ होमस्टेको सुविधा पनि छ । यो गाउँमा १ सय ८ वटा मानी र क्षोर्तेनहरू छन् । घरको छानो काठ र गारो ढुंगाले बनेको छ । हेर्दैमा आकर्षक देखिन्छ । गाउँबस्ती र मानिसहरूको रहनसहन हेर्दा पुरानो युगझैं देखिन्छ । यो गाउँ मानवशास्त्री र समाजशास्त्रीका लागि जीवन्त संग्रहालय हो । गत्लाङको सिमी, आलु, जौको रक्सी, छयाङ, फेजुङ (जाँड), करुको पीठो, ढिँडो र साखिने कुखुराको मासु विशेष खाना हुन् । बौद्धमा बेचिने करुको पिठो गत्लाङकै हुन् । यो गाउँमा मंसिर र वैशाख पूणिर्मामा ठूलो मेला लाग्छ । ७ देखि १० दिनसम्म मानी (मन्त्र) नाच नाचिन्छ । काठमाडौंको बालाजुबाट बिहान ६ः३० बजे बस चढेर स्याफ्रुबेसी वा बक्कोङ डाँडासम्म गएर त्यहाँबाट दुई घन्टा हिाड्नुपर्छ । आफ्नो सवारीसाधन भए गत्लाङ एकै दिनमा पुग्न सकिन्छ ।

थुमन गाउँ र नकथली डाँडा  

काठमाडौंबाट स्याफ्रुबेसीसम्म बसमा जान सकिन्छ । स्याफ्रुबेसीबाट उकालो तीन घन्टा हिँडेर थुमन पुगिन्छ । थुमनमा होमस्टे छ । यो गाउँ तामाङहरूको बस्ती हो । भोटेली तामाङ संस्कृति देख्न सकिन्छ । थुमनको रातो चामलको भात, गान्टेमुला, आलु, सिमी, जौको रक्सी, ढिँडो र साखिने कुखुराले जिब्रोलाई नयाँ स्वाद थपिदिन्छ । भोलिपल्ट ३ घन्टा उकालो चढेपछि नकथली पुगिन्छ । तामाङ हेरिटेज अन्तर्गत नकथली सबैभन्दा अग्लो स्थानमा रहेको छ । यो समुद्री सतहदेखि ३१०० मि उचाइमा छ । अग्लो डाँडा माथिको समथर मैदानले सबैलाई आनन्द दिलाउँछ । १८० डिग्रीमा गणेश, चिनियाँ, लाङटाङ हिमाल र गोसाइँकुण्ड रेन्जका पूरै हिमाललाई एकैथलोबाट देख्न सकिन्छ । तरुच्येसम्म उक्लिने हो भने केरुङ आसपासका गाउँहरू पनि देखिन्छ । राति आकाशमा ताराको चमक र जूनको उज्यालोमा लस्करै हिमाल टल्किएको देख्दा आकाश र धर्तीका बीच सौन्दर्य प्रतियोगिता भएझैं लाग्छ । यो ठाउँमा उहिले सानो हवाई जहाज बस्ने गर्दथ्यो । दुईवटा पुराना गुम्बा छन् । गुरु रिम्बोर्क्षे (पद्मसम्भव) ले सातौं शताब्दीमा तपस्या गरेको तपस्या स्थल, गुफा, देवीनाच ढुंगेआँगन, डुप्क्षु (गुरुको मन्त्रले निकालेको पानीको मुहान), स्याब्ची (गुरुको पैतालाको डोब) आदि छन् ।

रसुवागढी 

बालाजुबाट बस चढे रसुवागढी एकै दिनमा पुगिन्छ । रसुवागढी नेपाल चीनको नाका पनि हो । रसुवागढीमा नेपाल तिब्बत र चीन युद्ध हुँदा हाम्रा वीर पुर्खाहरूले बनाएको किल्ला देख्न सकिन्छ । यो किल्ला ढुंगाले बनाएको छ । बन्दुकको नाल राख्ने प्वालसहितको अग्लो पर्खाल छ । युद्धका कप्तानले आदेश दिने चौतारो पनि छ । दुइटा ऐतिहासिक शिलालेख रहेका छन् । चीन प्रवेशको कार्ड लगे पारिपट्टिको चिनियाँ पसलमा गएर सस्तोमा सामान किनेर ल्याउन सकिन्छ । आफ्नै सवारीसाधन लैजानेले २५ किमि गुडेर केरुङ जान सकिन्छ । हाल यो ठाउँमा भौतिक संरचनाहरू बनाउन सुरु गरिदै छ । सुख्खा बन्दरगाहा बनाएपछि यो नाका बढी चल्तीमा आउनेछ । गढी जाँदा टिमुरे र घट्टेखोला गाउँमा भोटेली तामाङ संस्कृति देख्न सकिन्छ । रसुवागढीमा राम्रो होटल र लज छैनन् । बासका लागि टिमुरे वा स्याफ्रुबेसी फर्किनुपर्छ ।

०००

हालैको एक सर्भेक्षणले रसुवा जिल्लामा १२ सय मेगावाट क्षमताको बिजुली निकाल्न सक्ने देखाएको छ । देशकै नमुना जल विद्युत् चिलिमे (२२ मेगावाट) यहीं छ । यहाँ निर्मित चिलिमे र निर्माणधीन सान्जेन, रसुवागढी, अपर सान्जेन लगायत आयोजनाहरूको भौतिक संरचना भूमिगत छन् । निकट भविष्यमा यो जिल्लामा दर्जनौं आयोजनाहरू बन्नेछ । यी आयोजनाहरू बनेपछि हाइड्रो टुरिज्म बढ्न सक्छ । बिजुली उत्पादन भएपछि लाङटाङ, यालापिक, गाङक्षेम्पो, लौरीविना, गोसाइँकुण्ड, सूर्यकुण्ड, ठाडेपाटी, धुन्चेको पोम्पो ला, नकथली डाँडा, खुर्पु भन्ज्याङ, पङसाङ आदि उच्च पहाडहरूमा केवलकार निर्माण गरेर विदेशी र स्वदेशी पर्यटकलाई सेवा सुविधा दिन सकिन्छ । धार्मिक सांस्कृतिक पर्यटनको साथै युनिभर्सिटीका विद्यार्थीहरूका रसुवा आकर्षण केन्द्र हुन् ।

ठूलोगाउँ र डाँडागाउँ

बेत्रावतीबाट त्रिशूली भोटेकोसी तरेर पारि गएपछि पैरेबेंसी हुँदै ठूलोगाउँ, डाँडागाउँ, मैलुङ, गोगने, हाकु, ग्रेगाउँ, गत्लाङ, गोल्जोङ, चिलिमे, नकथली, थुमन, दालफेदी, स्याफ्रुबेसी भएर काठमाडौं फर्किन सकिन्छ । यो फेरो मार्न ८ दिन लाग्छ । बेत्रावतीदेखि गत्लाङसम्म यो बाटो उति चल्तीमा छैन । तर, एड्भेन्चर खालको भने अवश्य हुनेछ । ठूलोगाउँ र डाँडागाउँसम्म गाडीको सुविधा छ । ठूलोगाउँमा गुरुङ संस्कृति हेर्न पाइन्छ । डाँडागाउँदेखि बाँकी गाउँहरूमा भने तामाङ संस्कृति । ऊनी टोपी, गलबन्दी, झोला, पटुका (कोता), मोजा, पन्जा, सुइटर डम्ङेन (टुङ्ना) कोसेली किनेर लैजान पाइन्छ । यी कोसेलीहरू प्रायः सबै होटल र लजहरूमा बेच्न राखिएका हुन्छन् । धुन्चेमा सेबकथ्रोन (डालेचुक), लालीगुराँस, चुत्रोको जुस, वाइन र रक्सी किन्न पाइन्छ । क्याङजेन र चन्दनबारीमा याक चिज र नौनी पाइन्छ । बि्रमो (नाक) र चौंरीगाईले यार्सागुम्बुसहितका लेकाली जडीबुटी खाएका हुनाले याकचिज र चौंरीको नौनी/घ्यू खाँदा यौनशक्ति समेत बढ्छ । सोले, धुन्चे र ठूलोभार्खु गाउँको ट्राउट माछा किनेर लैजान सकिन्छ ।

काठमाडौंदेखि स्याफ्रुबेसीसम्म बस भाडा पाँच सय रुपैयाँ पर्छ । टाटा सुमो रिजर्भ गरे नौ हजार । स्थान फरकअनुसार सादा नेपाली दालभात, तरकारी, अचारको १ सय २० देखि ३ सय रुपैयाँसम्म । दैनिक खाना, बस्न र खाजा गरेर एक हजार रुपैयाँ भए पुग्छ ।

Kantipur.com

Comments

comments