रसुवाका भूकम्पपीडितले दोस्रो किस्ता पाएनन्

०७२ वैैशाख १२ गतेको गएको भूकम्पका कारण आवासविहीन भएका भूकम्पपीडितले सरकारले दिने दोस्रो किस्ता पाउन सकेका छैनन् । भूकम्प गएको दुई वर्ष बित्न लाग्दासमेत भूकम्पपीडितले राहतको दोस्रो किस्ताको अनुदान रकम पाउन नसक्दा समस्यामा परेको बताएका छन् । जिल्ला विकास समिति रसुवाकोे खातामा दोस्रो किस्ताका लागि १४ करोड ७४ लाख ५० हजार छ । खातामा पैसा हुँदाहुँदै भूकम्पपीडितका लागि जिविसले त्यो रकम भूकम्पपीडितसम्म पुर्‍याउन सकेको छैन ।

इता, जिविसले सरकारले नै स्थानीय निकायको खाता रोक्का गरेको हुँदा सम्झौता भएका लाभग्राहीको खातामा रकम जम्मा गर्न नसकिएको जनाएको छ । जिल्ला समन्वय समितिका संयोजक राजेन्द्रदेव पाण्डेले गाविस, जिविस विगठन भएर गाउँपालिकामा रूपान्तरण भएसँगै नेपाल सरकारले खाता रोक्का गरेकाले त्यो रकम भूकम्पपीडितलाई दिन नसकिएको बताए । ‘सरकारले खाता रोकेकाले आवश्यक कागजात पुर्‍याएर आएका पीडितलाई दोस्रो किस्ताको रकम दिन नसकेका हौँ,’ उनले भने, ‘सरकारले फागुन मसान्तसम्मको फाडवारी कोलनिकालाई पठाउनुपर्ने र सम्पूर्ण आर्थिक विवरण पेस गर्नुपर्ने भनी परिपत्र गरेको तथा नयाँ खाता खोल्ने प्रावधानअनुसार खाता बन्द रहेको हुँदा यस्तो भएको हो ।’ हाल ८२ जना घरधनीलाई दोस्रो किस्ताको रकम दिन तयारी अवस्थामा रहेको जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र देवले बताए ।

जिल्लामा ११ हजार दुई सय ३६ जनामध्ये नौ हजार दुई सय ९९ जनासँग मात्र सम्झौता भएको छ । त्यसमध्ये नौ हजार एक सय ६ जनाले प्रथम किस्ताको रकम बुझेका छन् भने अझै पनि ६६ जनाले सरकारले दिने प्रथम किस्ता पाउन सकेका छैनन् । जिल्ला समन्वय समिति रसुवाका अनुसार आवश्यक कागजात नपुर्‍याउँदा उनीहरूले उक्त रकम नपाएका हुन् ।

‘पुनर्निर्माणका लागि काम गरिरहेका छौँ, तर सरकारले दिने भनेको किस्ता समयमै नपाउँदा सास्ती खेपेका छौँ,’ उत्तरगया गाउँपालिका वडा नम्बर ४ का रामहरि न्यौपानेले भने, ‘घर निर्माण गरिरहेका छौँ, पुनर्निर्माणका लागि सरकारले दिने भनेको दोस्रो किस्ताबापतको रकम वितरण गर्न आग्रह गर्दछु, पुनर्निर्माणको काम सुरु भए पनि पर्याप्त बजेट नहुँदा घर पूर्ण रूपले निर्माण भएको छैन ।’

नेपाल सरकारबाट दोस्रो किस्ताका लागि रकम नपाए पनि दोस्रो किस्ता वितरणको जिम्मा लिएका संघसंस्थाबाट ९२ परिवारले दोस्रो किस्ता पाइसकेका छन् । ७४ परिवारका लागि नेपाल रेडक्रस सोसाइटी रसुवाले, ११ परिवारका लागि लुथरन वल्र्ड फेडेरेसन र सात परिवारका लागि लुमन्तीले दोस्रो किस्ताको रकम भूकम्पपीडितलाई वितरण गरिसकेकोे जिल्ला प्राविधिक कार्यालय रसुवाका इन्जिनियर मदन आलेमगरले बताए ।
रसुवामा अनुदान पाउन छानिएर पहिलो किस्ता पाएका भूकम्पप्रभावितमध्ये दोस्रो किस्ताका लागि तीन सय तीन घरधनीको नाम सिफारिस गरिएको छ । पहिलो किस्ता ५० हजार रुपैयाँ पाएर घर निर्माण सुरु गरेका घरधनीमध्ये मापदण्ड पूरा गरेर घर निर्माण गरिरहेका तीन सय तीन लाभग्राहीको नाम जिल्ला समन्वय समितिमा सिफारिस गरिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रसुवाले जनाएको छ ।

जिल्लाका विभिन्न गाउँपालिकामा खटिएका इन्जिनियरले घरको नापजाँचपश्चात् भवन डिभिजन कार्यालय रसुवामा पठाएको सिफारिसपत्र, कार्यालयबाट जिल्ला समन्वय समितिमा सिफारिस गरिसकेको निमित्त डिभिजन प्रमुख धीर फडेराले बताए । गाउँगाउँमा खटिएका इन्जिनियरले घरको नापजाँचपश्चात् दोस्रो किस्ता पाउनका लागि करिब ६ सय घरधनीको सिफारिस आएकोमा हामीले आवश्यक कागजात पुगेका तीन सय तीनजना घरधनीको नाम जिल्ला समन्वय समितिमा पठाइसकेको उनको भनाइ छ ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रसुवाका अनुसार हालसम्म जिल्लामा सात सय एकवटा घर निर्माण सम्पन्न भइसकेको छ । एक हजारभन्दा बढी घर निर्माणाधीन अवस्थामा छन् । जिल्लाका धेरै स्थानमा बनाइएका घर मापदण्डअनुरूप भए÷नभएको भने यकिन तथ्यांक छैन । तर, धेरैजसो भूकम्पपीडितले गाउँमा दक्ष कामदारको अभाव भएकाले व्यक्तिगत आवास पुनर्निर्माणको काम एकसाथ सुरु हुन नसकेको बताउने गरेका छन् ।

nayapatrika

Comments

comments