रसुवाको समृद्धि कसरी

Hem pp

हेमनाथ खतिवडा
हिमाली जिल्ला रसुवामा रसुवा जिल्ला राजधानीबाट नजिक भएर विकासको दृष्टिले पछि परेको छ । विनाशकारी भूकम्प पछि यहाँको जनजीवन अझै खस्केको छ । भूकम्पले मावविय, भौतिक मात्र नभई साँस्कृतिक , आर्थिक, क्षेत्रमा पनि ठूलो क्षति भएको छ । प्राकृतिक रुपमा पनि धेरै नोक्सानी भएको छ । यस अघि पनि समान ढंगले विकासमा गति लिन नसकेको रसुवा अघि नबढ्नुको पछि धेरै कारणहरु छन् देशले छुट्याउने बजेटदेखि मुख्य कारण चाँहि देशको राजनीतिक अस्थीरता नै हो ।

धेरै परिवर्तहरु भए । देशमा पहिलो संविधान सभाले दुई वर्षको अवधिका संविधान निर्माण गर्ने जिम्मेवारी पाए पनि पाँच/पाँच वर्षसम्म पनि संविधान निर्माण गर्न सकेन । पहिलो पटक भएको संविधान सभा अवसान भएपछि संविधान निर्माणकै लागि दोस्रो संविधान सभाको निर्वाचन भयो । पहिलो कार्यभर संबिधान सभा भएपनि जिल्लाको विकास गरी समृद्ध रसुवा बनाउने नेताहरुको भाषणमा जस्तै हुन सकेको छैन । राज्य पुर्न संरचना आयोगले स्थानीय निकायको पुर्न संरचना गर्दै मुलुकको पुर्न संरचना गर्दै गर्दा रसुवामा केही तरंगहरु पनि आए । खासमा जनताले खोजेको जस्तो परिवर्तन हुन सकेको छैन । अहिले निकै धराप सडकले चीन जोड्ने एकमात्र मुलुकको नाका रसुवागढीले धानेको छ । यात्रीहरू दैनिक रुपमा जोखिम मोलेर बस र अन्य गाडीमा यात्रा गर्नु पर्ने छ भने साँधुरो र खाल्टाखुल्टीको सडकमा दिनहुँ २ सयका हाराहरीमा कन्टेनरहरु चलिरहेका हुन्छन् । धराप जस्तै सडक भएकोले नै दिनहुँ जस्तो कन्टेनर पल्टिने गरेका छन् । खुल्ने बित्तिकै ब्यापारीहरुका लागि यो नाका आकर्शणको केन्द्र बन्यो । तर अहिले सडक धारासायी बनेपछि ब्यवसाय छाड्न पनि नसक्ने र धान्न पनि नसक्ने अवस्थामा पुगेका छन् । ब्यापारको माध्यमबाट रसुवागढी नाकाले मुलुकका लागि अर्बौ राजश्व अशुली गर्ने र व्यापारीहरु पनि कमाउने अवसर छ । छिटफुट रुपमा सुनिने गरेको चोरी निकासीको चर्चा र सडकको दुरावस्थाले यो नाकाको भविश्य अन्यौल जस्तै देखिएको छ । यहाँबाट उठ्ने राजश्वको केही हिस्सा लगानी गरेर भएपनि यहाँको सडक बिस्तार गरेर मात्र नाका सुचारु गर्नु पर्ने देखिन्छ ।
रसुवामा अर्को सम्भावना रहेको जलविद्युत आयोजनाहरु दु्रतत्तर गतिमा निमार्णका कामहरु हुन सकेमा जिल्लाको विकास सम्भावना देखिएको छ । त्यस बाहेक पर्यटन र जडिबुटी, कृषि, पशुपालन जस्ता कुराहरुले गति पाउन सकेमा भूकम्पले थिचिएका गरिव रसुवालेहरुको मुहार हँसिलो हुनसक्थ्यो । त्यसका लागि सर्व प्रथम त सुरक्षित बाटोको विकास नै पहिलो हो । बाटो निर्माण गर्दा रसुवाको भुभागमा जताततै पहिरो जाने गरेको तथ्य बिर्सनु भएन । लाङटाङ, गोसाँईकुण्ड, जस्ता धेरै धार्मिक पर्यटकीय स्थल, रेडपाण्डा, हिम चितुवा जस्ता बन्यजन्तु , जैबिक बिबिधता प्रकृतिको संरक्षण गरी भावी पुस्तामा पनि हस्तान्तरण गर्ने हाम्रो अभिारा हो भन्ने तथ्य बिर्सनु पनि भएन ।

रसुवामा केही भएनन् भन्ने पनि होईन समयानुकुल आफ्नै क्षमता र गतिमा बिस्तारै विकासमा गति लिदै गरेको रसुवामा विनाशकारी भूकम्पले रुवाएको छ । दलित, गरिव, भूमिहीन, सुकमवासी, गुठी पीडितहरु नै बढि पीडित भए । बर्षौदेखि गरिवीको रेखामुनि रहेकाहरुले झनै आफ्नो थातथलो नै छाडेर हाकु, डाडागाउँ र राम्चेका नागरिकले बिस्थपित जीवन जिउनु परको छ । प्राकृतिक प्रकोप आउँछ तर हामीले तयार गरेको संरचना कमजोर रहेकोले धेरै क्षति भएको भन्ने नागरिकले बुझेका छन् । अवको पुर्न निर्माणमा कसरी यस्ता पछि परेकाहरुलाई समेटनु पर्दछ भन्ने सवैले सोच्नु पर्ने जरुरी छ । अहिले असरल्ल पाखामा रहेका बिस्थापितहरुले नै आवास निर्माण अनेदान संझौतामा सहभागि हुन पाईराखेका छैनन् । त्यस्तै निमुखाहरुको घर घरमा गएका प्राबिधिकले सर्वेमा धेरै त्रुटी गरिदिएकाले संझौता गर्न पाएनन् । जसले गर्दा गाउँ गाउँमा धेरै बास्तविक पीडितहरु अनुदानको पहिलो किस्ता पाउनबाट पनि बञ्चित भएका छन् । जसको बोलिदिने कोही हुँदैनन् त्यस्ताका समस्या अहिले पनि ज्युका त्युँ छन् । यसले अन्यायमा परेकाहरुको पीड कसले सुन्छ र ? भन्ने पनि देखिन थालेको छ । त्यस्ता ब्यक्तिहरु समेटन सकिएन भने उनीहरुको मन खिन्न भएपछि विकास निमार्णका कुराहरुले न गरिवलाई छुन सक्छ न उसले पनि राज्यलाई योगदान गर्न सक्छ । त्यसलै बास्तविक रुपमा पछि परेकाहरुको समस्या बुझेर पुर्न निर्माण गर्न सकेमा मात्र बिपदलाई सवैले अवसरमा बदल्न सक्थे ।
जिल्लामा रहेको अनुपम प्राकृतिक सुन्दरतासँगै अधिकतम स्रोतको उपयोग हुन सकेको छैन । यहाँका सम्भावनाहरू प्राकृतिक स्रोतका विविधासँगै पर्यटन क्षेत्रको ठूलो सम्भावना छ । यहाँको हिमाली क्षेत्रमा जडिबुटी खेतीको विस्तार गरी करोडौँको आम्दानी लिन सकिने विभिन्न अध्ययनहरूले देखाएका छन् ।

हरेक वर्ष करोडौ रकम जिल्लामा भित्रिन्छ । ती कहाँ कसरी उपयोग भइरहेका छन् त्यसको लेखाजोखा कहिल्यै हुँदैन । सडकको विकासमा पनि वर्षेनी धेरै रकम खर्च हुने गरेको भएपनि दीगो ढंगबाट समस्या समाधान नखोजिनाले तस्न दशकदेखिको यही दुखद यात्रा गर्नु पर्ने बाध्यता छ यहाँको पासाङल्हामु सडकमा । यस प्रति सरोकारवालाहरुको चासो देखिदैन ।
जिल्लामा हाइड्रोपावरको अधिक सम्भावना देशमा लोडसेडिङ छ । यहाँ उत्पादन हुने जलविद्युतले देशले खेप्दै आएको लोडसेडिङलाई न्युन गर्ने थियो । जिल्लामा अर्बाै रूपैयाँ समेत आम्दानी हुने निश्चित छ । सूचना, सञ्चारको क्षेत्रमा जिल्लाले गति लिन सकेको छैन ।

हाम्रा सामु धेरै चुनौति र अवसर पनि छन् । गरिव किसानका भूमिक समस्या समाधान गरी जिल्लामा प्रतिवद्ध र कर्तव्यनिष्ट र आँट भएको ब्यक्तिहरूरुले रसुवालीको मुहार यही माटोबाट हँसाउन सक्नेछन् । समृद्ध रसुवा बनाउने नारा त सवैको सुन्न पाईन्छ छ तर कार्यान्वयनमा समस छ । सवैले समृद्धि चाहेका छन् । पहिले स्थानीयस्तरको विकास भयो भने मात्र जिल्ला र अनि राष्ट्रकै विकास हुन सक्छ । पहिले समस्याको जरो पहिल्याउनु पर्छ । संबिधान कार्यन्वयन तथा स्थानीय तहमा भएका साधन स्रोतहरुको उचित उपयोग गरी दीगो विकासको लक्ष्य लिन सकेमा मात्र देशको समृद्धि हुनसक्छ ।

Comments

comments