रसुवाको समृद्धि ?

RasuwaRasuwa

०७३ मंसिर ८ गते 

हेमनाथ खतिवडा

 रसुवा राजधानीबाट नजिक भएर पनि विकासको दृष्टिले पछि परेको छ । विनाशकारी भूकम्पपछि यहाँको जनजीवन अझै खस्केको छ । भूकम्पले मानवीय, भौतिकमात्र नभई सांस्कृतिक, आर्थिक क्षेत्रमा पनि ठूलो क्षति भएको छ । प्राकृतिकरूपमा पनि धेरै नोक्सानी भएको छ । यसअघि पनि समान ढंगले विकासमा गति लिन नसकेको रसुवा अघि नबढ्नुका पछाडि धेरै कारण छन् । त्यसमध्ये पनि मुख्य कारणचाहिँ यहाँका लागि देशले छुट्याउने बजेट र राजनीतिक अस्थिरता नै हो ।

धेरै परिवर्तन भए । वास्तविक परिवर्तनभन्दा पनि भाषणका परिवर्तन बढी देखापरे । जिल्लाको विकास गरी समृद्ध रसुवा बनाउने नेताहरुको भाषणमा भने अझै परिवर्तन आउन सकेको छैन । यतिबेला निकै धराप सडकले चीन जोड्ने काम गरिरहेको छ । यात्री दैनिक जोखिम मोलेर बस र अन्य गाडीमा यात्रा गर्नुपर्ने अवस्था छ । साँघुरो र खाल्डाखुल्डीयुक्त सडकमा दिनहुँ २ सयका हाराहरीमा कन्टेनर घिस्रिरहेका देखिन्छन् । सडक धराशायी बनेसँगै कन्टनेर व्यवसायी ‘छाड्न पनि नसक्ने र धान्न पनि नसक्ने’ अवस्थाबीच गुज्रिरहेका छन् । एकातर्फ रसुवागढी नाकाले मुलुकका लागि अर्बौं राजश्व असुली गर्ने क्रम बढेको छ अर्कोतिर यही कमाइ हुने नाका जोड्ने सडकको यो बिजोगी पाराले सबैलाई चिन्तित तुल्याएको छ ।जलविद्युत् आयोजनाहरु दु्रततर गतिमा निर्माण हुने हो भने यो फुच्चे तर सुन्दर जिल्लाको काँचुली फेरिन धेरै समय लाग्ने देखिन्न ।  त्यसबाहेक पर्यटन र जडीबुटी, कृषि, पशुपालन जस्ता सम्भावना पनि उत्तिकै छन् । यी सबैलाई समन्वय गरेर एकीकृतरूपमा लैजान सकियो भने भूकम्पले थिचिएका गरिब रसुवालेका मुहार हँसिलोमा परिणत हुने बेर लाग्दैन । त्यसका लागि सर्वप्रथम त सुरक्षित बाटोको विकास नै पहिलो सर्त हो । जसले रसुवागढी नाकामात्र हैन, लाङटाङ, गोसाइँ–कुण्ड जस्ता धेरै धार्मिक पर्यटकीय स्थलमा पहुँच पु¥याउँछ । अनि रेडपाण्डा, हिम चितुवा जस्ता वन्यजन्तु , जैविक विविधता, प्रकृतिको संरक्षण गरी यसैबाट मोहोर आर्जनको पनि ढोका खुल्ने निश्चित छ ।जिल्लामा रहेका अनुपम प्राकृतिक सुन्दरतासँगै अधिकतम स्रोतको उपयोग हुन सकेको छैन । यहाँका सम्भावना प्राकृतिक स्रोतका विविधतासँगै पर्यटन क्षेत्रसँग पनि जोडिएको छ । हिमाली क्षेत्रमा जडीबुटी खेती विस्तार गरी करोडौँको आम्दानी लिन सकिने विभिन्न अध्ययनले देखाएका छन् । त्यसो त हरेक वर्ष करोडौं रकम जिल्लामा भित्रन्छ पनि । तर त्यो रकम कहाँ कसरी उपयोग भइरहेका छन् भन्ने लेखाजोखा कहिल्यै हुँदैन । सडकको विकासमा पनि बर्सेनि मोटो रकम खर्च हुने गरेको देखिन्छ तर पनि दिगो र दीर्घकालीन उपाय नअपनाइँदा दुःखद् खबर नियमित सार्वजनिक गर्न विवश छ पासाङल्हामु सडक । जसप्रति सरोकारवालाको पनि पर्याप्त चासो देखिँदैन ।एकातर्फ जलविद्युत्को अथाह सम्भावना, अर्कोतर्फ हिमाली मनोरम दृश्य, त्यसमाथि चीनसँग राम्रो व्यापार सम्भावना भएको रसुवागढी नाका त अर्कोतर्फ गोसाइँ–कुण्ड जस्ता धार्मिक पर्यटकीय स्थल, के छैन रसुवामा ? राजधानीबाट २–३ घण्टामै पुगिनु यहाँको अर्को विशेषता हो । त्यसैले यी सम्भावनालाई उचित र भरपुर उपयोग गर्दै प्रचुर फाइदा लिन सकियो भने सानो जिल्लामा बसोबास गर्ने थोरै तर मेहनती जनताको जीवनस्तर उकास्न अरु केही गर्नैपर्दैन । भूकम्पले थिलथिलो पारेको यो पहाडी भूभागमा यसो गर्न सकिए न राज्यले पैसाका थैलो पठाइरहनुपर्छ न त सर्वसाधारणले नै काठमाडौंतिर फर्केर थुक घुटघुट निलिरहनै पर्छ । तसर्थ जहाँ जे सम्भावना छ, त्यसैलाई भरपुर प्रयोग गर्ने र त्यसैबाट फाइदा लिने परिपाटी बसाल्ने हो भने केन्द्रले जिल्लाहरुलाई सधैँ पाल्नुपर्दैन भन्ने उदाहरण पनि हो रसुवा जहाँ चिलिमे जस्तो ‘अर्गानिक विद्युत् आयोजना’ सञ्चालनमा छ ।

Comments

comments