रसुवागढीमा सिन्डिकेट छैन प्रजिअ : भण्डारी

Rasuwagadhi
रसुवा , रसुवागढी नाकामा कुनै सिन्डिकेट नरहेको जिल्ला प्रशासन कार्यालय रसुवाले स्पष्ट पारेको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी अर्जुन भन्डारीले नाकामा कुनै पनि सिन्डिकेट नलगाएको स्पष्ट पारेका हुन् ।
रसुवागढी नाकामा डायल तथा सिन्डिकेट प्रणाली लागू भएको भन्दै व्यवसायीले शनिबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेपछि प्रशासनले  आफ्नोतर्फबाट स्पष्ट पारेको हो । नाकामा सञ्चालन हुने ट्रक र कन्टेनरलाई व्यवस्थित बनाउन ‘पहिलो पुग्ने कन्टेनरलाई पहिलो पालो प्रणाली’ लागू गरिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । उनले भने, ‘नाकामा कुनै पनि सिन्डिकेट लगाइएको छैन । सहज रूपमा आवतजावत गराउने व्यवस्था मिलाएका छौँ । अहिले सहज रूपमा नाकामा आवतजावत भइरहेको छ ।’ केही व्यवसायीले सिन्डिकेट छ भनेर भ्रम फैलाएको उनले दाबी गरे ।
नाका अस्तव्यस्त हुन थालेपछि केरुङ जाने कन्टेनरको व्यवस्थापनका लागि प्रणाली सुरु गरिएको उनले बताए । रसुवागढी नाकाबाट सीमित संख्यामा ट्रक र कन्टेनरले चीन प्रवेश पाउने तथा बढी संख्यामा रसुवागढीसम्म आउने गर्दा विवाद सिर्जना हुँदै आएको थियो । यो नाकामा अहिले करिब सयवटा कन्टेनर आवतजावत हुने गरेका छन् । नाकामा ७ सय कन्टेनर सञ्चालनमा छन् । मितेरी पुल निर्माण गर्ने समयमा एकतर्फी रूपमा सवारी सञ्चालन हुँदा करिब ४० वटा सवारी मात्रै चीन जाने गरेका थिए ।
नेपालको सीमा क्षेत्रमा दैनिक जाने करिब ४ सय कन्टेनर पार्किङ गर्नुपर्ने अवस्था आएपछि प्रणाली सुरु गरिएको थियो । नागरिकमैत्री प्रशासन, जनमुखी सेवा वितरण, सुशासन, तस्करी र सिन्डिकेट नियन्त्रणमा रसुवा प्रशासन कटिबद्ध भएर लागेको भन्दै प्रजिअ भण्डारीले कसैसँग कुनै प्रकारको सम्झौता नगर्ने दाबी गरे । त्यस्तै, पहिलो पुग्ने कन्टेनरलाई पहिलो पालो प्रणाली’ लागू भएपछि रसुवागढी नाकामा आवतजावत सहज भएको र कन्टेनरचालक तथा व्यवसायीहरू खुसी भएको समेत दाबी गरे ।
सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि ०७२ मंसिरदेखि रसुवागढी नाकाबाट आयात निर्यात बढ्दै गएको छ । रसुवागढी नाकालाई चीनले १४ भदौ ०७४ मा अन्तर्राष्ट्रिय नाका घोषणा गरेसँगै नाकामा चहलपहल बढेको छ । रसुवागढी नाकाबाट चीनको केरुङ २४ किलोमिटर दूरीमा छ । ०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाका भएर हाल दैनिक दुई सयभन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन् । ती कन्टेनर भएर चीनबाट स्याउ, ऊन, तयारी कपडा, ज्याकेट, जुत्ता, विद्युतीय सामग्री, मोटरका पार्टपुर्जा, कस्मेटिक सामान नेपाल भित्रने गरेका छन् । यस्तै, नेपालबाट हस्तकलाका सामान, चाउचाउ, धागो, खुर्सानी, चिउरालगायत सामग्री निर्यात हुने गरेको छ ।

Comments

comments