रसुवागढीमा सुक्खा बन्दरगाह निर्माण हुने

Rasuwagadhi dry

रसुवा, चैत १० गते । नेपालबाट चीन प्रवेश गर्ने दोस्रो ठूलो तथा छोटो रसुवागढी नाकास्थित भोटेकोसी किनारमा सुख्खा बन्दरगाहको निर्माण हुने भएको छ । चीनसँगको व्यापार सहजीकरणका लागि रसुवाको टिमुरेमा अन्तर्राष्ट्रियस्तरको सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत डिजाइनसमेत तयार भएपछि निर्माण सुनिश्चित भएको छ ।

सदरमुकाम धुन्चेदेखि २६ किलोमिटर दूरीमा रहेको टिमुरे गाविसको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण प्रक्रिया सुरु भएको रसुवा प्रशासनले जनाएको छ । छिमेकी चीनले प्राथमिकतामा राखेको केरुङ नजिकै निर्माण हुन लागेको सुख्खा बन्दरगाहको जग्गा अधिग्रहणको तथा मुआब्जा वितरणको सकिएको छ ।
लामो समयदेखि रसुवागढीमा सुख्खा बन्दरगाह निर्माण गर्ने चर्चा चलिरहेकोमा निर्माणको काममा ढिलाइ भएको स्थानीयले व्यापारीले गुनासो गरेको समयमा दुवै मुलुकका अधिकारीबीच बन्दरगाह निर्माण गर्ने डिजाइनमा हस्ताक्षर भएपछि स्थानीय उत्साहित भएका छन् । त्यस स्थानमा डेढ वर्षअघि नै जग्गा अधिग्रहण भएको थियो ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका निर्देशक लक्ष्मणबहादुर बस्नेतले सुख्खा बन्दरगाहको फाइनल डिजाइनपत्र स्वीकृतसँगै बन्दरगाहको निर्माण प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । चीनले अब बढीमा दुई महिनामा लागत इस्टमेट तयार हुने जानकारी दिएको छ । विस्तृत डिजाइन पूरा गरेर त्यसको एक महिनामा निर्माण कम्पनीको छनोट गरिने जानकारी बस्नेतले बताउनुभयो । यस वर्ष जनवरी १५ मा डिजाइनमा हस्ताक्षर भएको थियो ।
उहाँका अनुसार डिजाइन तथा निर्माण चिनियाँ सरकारको डिजाइन कम्पनी तिब्बेतीयन रिकन्सक्साईन एन्ड अप्टोमोटिक रिजनले निर्माण गरेर हस्तान्तरण गर्नेछ । नेपाल सरकारको पक्षबाट सुख्खा बन्दरगाहमा हुनुपर्ने सबै आधार तयार गरी प्रमाणित गर्न समय लाग्ने भएकोले केही ढिलाइ भएको तर अब डेढ महिनामा काम सुरु हुनेछ ।

चीनले २०१४ मा बन्दरगाह बनाउन प्ररम्भिक सहमति जनाएको पनि भूकम्प लगत्तै सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनले केरुङको विकासलाई बढी प्राथमिकता दिँदैआएको छ । बन्दरगाह निर्माण गुरु योजनामा भने आठ हेक्टर क्षेत्रफलमा निर्माण हुनेछ । बन्दरगाहको विस्तृत डिजाइन, इस्टमेट, लगानी तथा निर्माण सबै चीनले नै गर्नेछ । संरचना निर्माणका लागि लाङटाङ राष्ट्रिय निकुञ्जबाट पाँच र सर्वसाधारणको तीन हेक्टर जमिन अधिग्रहण गरिसकिएको छ ।
बन्दरगाहमा एउटा मुख्य भवन हुनेछ । त्यसमा प्रशासनिक कार्यकक्ष, क्वारेनटाइन, बैङ्क, ल्याब, सुरक्षालगायतका कार्यालय निर्माण हुनेछ भने बन्दरगाहमा ३१५ भन्दा बढी कन्टेनर पार्किङ गर्न सक्ने क्षमता रहने छ । ७५० वर्ग मिटरको क्षेत्रफलमा गोदाम घरसमेत निर्माण हुनेछ ।

आयात निर्यातका सामान जाँच टर्मिनल, चेकपोस्टलगायतका आधारभूत भौतिक संरचना निर्माण हुनेछ । चीनले आफ्नो भू–भाग रसुवागढी नाकाबाट करिब ३० किलोमिटर टाढा केरुङमाथि पाङसिङमा आधुनिक बन्दरगाह निर्माण थालनी गरेको छ । चीनको सिगात्सेदेखि केरुङसम्मको दूरी चार सय ५० किमि रहेको छ ।

चीनले सन् २०२० सम्म केरुङलाई रेल सञ्जालमा जोड्ने लक्ष्य राखेको छ । पछिल्लो समय चीनसँग स्थलमार्गबाट हुँदैआएको प्रमुख व्यापार यहीँ नाका भएकाले यसको व्यावसायिक महìव बढ्दैगएको छ । रेलबाट ल्याएको सामानलाई सिधै कन्टेनरमा लोड गरी सुख्खा बन्दरगाहमा ल्याएर आवश्यक प्रक्रिया पूरा गर्न सजिलो हुने बस्नेतले बताउनुभयो । रसुवागढीबाट स्याफ्रु, मैलुङ, त्रिशूली, गल्छी हुँदै भारत जोड्ने सबैभन्दा छोटो रुटको सडक हुनेछ ।

सुख्खा बन्दरगाह निर्माणका लागि सुख्खा बन्दरगाहका लागि प्रयोग गरिने जग्गाको मुआब्जा वितरण सकिएकोले अब बन्दरगाह निर्माण हुनेभएको हो । रसुवाको टिमुरे क्षेत्रको तल्लो तटीय प्रहरी जाँच चौकीको सेरोफेरोदेखि लाङटाङ राष्ट्रिय निकुञ्जसम्म भोटेकोसी नदी आसपास क्षेत्रमा सडकभन्दा पश्चिम भागमा सुख्खा बन्दरगाह बन्ने बताइएको छ ।

सुख्खा बन्दरगाह काठमाडौँदेखि १५० किलोमिटर दूरीमा रहेको छ । जग्गा प्राप्ति ऐनअन्तर्गत सडकले छोएका जग्गाको छ लाख र नछोएका भित्री जग्गाको चार लाख रुपियाँ प्रतिआना मुआब्जा निर्धारण गरी वितरण सकिएको छ । सुख्खा बन्दरगाह बनाउन टिमुरेमा १६७ रोपनी जग्गा अधिग्रहण भएको छ । निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाले सुख्खा बन्दरगाह निर्माणस्थलमा माटो थुपारेकोले वर्षामा समस्या समस्या देखिएको छ ।

Comments

comments