रसुवागढी आयोजनाको ७० प्रतिशत काम सकियाे

rasuwagadhi hydro
गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको करिव ७० प्रतिशत काम सकिएको छ । २०७० माघदेखि निर्माण कार्य सुरु भएको आयोजनाको हेडरेस टनेलको खन्ने काम सकिएको छ ।
२०१९ डिसेम्बरसम्ममा तीन ओटै युनिटबाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको योजनाबाट वार्षिक ६१३.८७ गेगावाट विद्युत उत्पादन हुन्छ । आयोजनाले उत्पादन गर्न थालेपछि दैनिक सँवा करोड आम्दानी हुनेछ । २०१७ अगस्टमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोे आयोजना भूकम्प र नाकाबन्दीका कारण समयमा नै निर्माण सम्पन्न गर्न नसकिएको आयोजनाका जनसम्पर्क तेज अधिकृत साउदले बताए । भूकम्पपछिको समयमा साइडको विभिन्न स्थानमा पहिरो झरेपछि चिनियाँ ठेकेदारले चार महिना काम रोकेका थिए । अहिले हेडरेस टनेलमा कङ्ग्रिट लाइनिङको काम भइरहेको आयोजना प्रमुख छबि गैरेले बताए । हेडवक्स निर्माण, पावर हाउस निर्माण र टेलरेसको काम भइरहेको छ ।

निर्माणाधिन आयोजनाको कुल लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ । आयोजनामा चिलिमे जलविद्युत कम्पनीको ३३ प्रतिशत, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताको १९ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १८ प्रतिशत, सर्वसाधारणको १५, रसुवाबासीको १०, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको ३ दशमलव ५ र ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत लगानी रहनेछ

Comments

comments