रसुवागढी नाका अस्त व्यस्त

phurpa Tamang 2012

फुर्पा तमाङ
धेरैजना रसुवागढी नाका खुले पछि खुसी भएका थिए । हामी रसुवाबासी झन् खुसी भयौं । किनभने यो नाका खुलेपछि हाम्रो दैनिकी सहज हुने हामीले अपेक्षा गरेका थियौं । यो नाका सुचारु भए पछि रसुवाबासी मात्र होइन देशबासी नै खुसी भएर सकारात्मक प्रतिक्रियाहरु आएका थिए । यो क्रम अझै जारी छ । तर, यतिखेर रसुवागढी नाकामा पुग्ने हो भने ती खुसीहरु पानीका फोकामा परिणत हुनेछ ।

राजधानीमा बसेर यो नाकाको बारेमा जति चर्चा गरिन्छ, त्यसरी नाका व्यवस्थापन भएकै छैन । गत साल गएको विनाशकारी भूकम्पले जसोतसो तयार पारेको आधारभूत पूर्वाधारहरु समेत तहस नहस पारेका छन् । सबै भन्दा ठूलो समस्या कच्ची र एकतर्फी साँगुरो चौडा सडकबाट नाका सम्मको आउजाउमा नै समस्या छ । सडक व्यवस्थापनको कमजोरी, भन्सार कार्यालयबाट सामान निरीक्षणमा गरिने ढिलासुस्ती र कन्टेनरहरु पार्किङ गर्न ठाउँ अभाव हुँदा यो नाका अस्त व्यस्त बनेका छन् । यसको प्रत्यक्ष असर ११० मेगावाट क्षमताको निर्माणाधीन रसुवागढी हाइड्रो पावर र ऐतिहासिक रसुवागढी किल्लामा समेत पुगेको छ ।

क. रसुवागढी टिमुरे क्षेत्र अस्त व्यस्त :
सर्वोच्च अदालतका माननीय न्यायाधीश गोविन्दकुमार उपाध्याय सहितको हाम्रो टोली रसुवागढीसम्म मुश्किलले पुगियो । धु्न्चेबाट ३० किमी दूरीमा रहेको बहुचर्चित नेपाल चीनको केरुङ जोड्ने रसुवागढी नाका अव्यवस्थित र अस्त व्यस्त भएको पाइयो । सडक कच्ची र हिलम्मे । ठाउँठाउँमा पहिरो खसेको छ । सानो र साँघुरा चौडा भएको सडकमा दुवै तर्फबाट गाडी आई क्रस गर्न असाध्यै मुश्किल छ । सबैभन्दा ठूलो समस्या कन्टेनर पार्किङ देखिन्छ । सुख्खा बन्दरगाहामा पार्किङस्थल पर्याप्त नहुँदा सडक किनारामा पार्क गरेका छन् । हिलम्मे बाटो छ । भन्सार कार्यालयले छिटो र छरितोसंग सामान निरिक्षण गरी अनुमति पत्र दिन ढिलाइ गरेकोले गाडी पार्किङ अभावमा जाम धेरै हुने गरेको गुनासो कन्टेनर व्यवसायीहरु बताउँछन् ।

ख. निर्माणाधीन रसुवागढी हाइड्रोपावर आयोजनामा असर :
स्याफ्रुवेशी—रसुवागढीसम्मको नेपाल तर्फको १६ किमी सडक कच्ची छ । ठाउँठाउँमा पहिरो गएका छन् । सडकको चौडाइ सानो हुँदा कहिलेकाहीँ स्याफ्रुवेशी देखि गढीसम्म ठाउँठाउँमा गाडी जाम पर्छ । हामीले यही नियति बेहोर्यौं । हामी चढेका जीप टिमुरेदेखि अगाडि बढ्नै सकेन । अव्यवस्थित तरिकाले पार्किङ गरेका ठूल्ठूला कन्टेनरहरुको बीचमा ट्राफिक प्रहरी र नेपाल प्रहरीले जति नै प्रयास गरे पनि गाडी अगाडि बढ्ने ठाउँ पाएन । पैदल हिँडेरै नाकासम्म पुगेर फर्किनु पर्यो । के यस्तो अवस्थाले यो नाकाबाट आउजाउ गर्ने विदेशी तथा स्वदेशी पर्यटक तथा व्यापारीहरु खुसी होलान् ?

हप्तौैंसम्म हुने सडक जामले गर्दा काम गर्ने वातावरण असहज भएको र तोकिएको अवधिभित्र लक्ष्य प्राप्ति नहुने भन्दै आयोजना निर्माणका चिनियाँ ठेकेदार सी.डब्लु.सी. कम्पनीले रसुवागढी हाइड्रो पावरको काम छोडेको २ महिना भइसकेछ । सन् २०१४ बाट काम शुरु गरी सन् २०१७ मा काम पूरा गर्ने लक्ष्य सहित निर्माण कार्य थालेको १११ मेगावाट क्षमता विजुली उत्पादन गर्ने भनिएको रसुवागढी हाइड्रोपावर अब तोकिएको अवधिमा नबन्ने निश्चित भएको छ । ठेकेदारले भेरिएसन कष्ट थप्ने भएपछि उत्पादित हुने विजुलीको मूल्य समेत बढ्नेछ । यसको प्रत्यक्ष असर देशको उर्जा विकास र लगानीकर्ताहरुमा पर्नेछ । छिटो आयोजना बन्ला र १० प्रतिशत शेयरमा लगानी गरुँला भनेर बसेका स्थानीयबासी समेत मारमा परेका छन् । दुई महिनादेखि काम गर्न अवरुद्ध भइरहे पनि सम्बन्धीत पक्षहरुबाट ठोस रुपमा समस्या समाधानको पहल भएको देखिएको छैन । यो आयोजनामा चिलिमे जलविद्युत कम्पनीको ३३, नेपाल विद्युत प्राधिकरणको १८, कर्मचारी संचयकोषको १९.५, जिविस रसुवा र १८ गाविसहरु गरी ३.५, संचयकोष कर्मचारी १, स्थानीय रसुवाबासी १० र सर्वसाधारणको १५ प्रतिशत लगानी रहेको छ ।

ग. रसुवागढी किल्लामा असर :
रसुवागढी नाका जोड्ने सडक र पूल बनाउँदा ऐतिहाँसिक र पुरातात्विक महत्व भएको ढुंगे किल्लामा क्षति पुगेको थियो । यद्यपि त्यो क्षतिलाई मर्मत गरेपछि चित्त बुझाउन सकिन्थ्यो । नेपाल –तिब्ब्त –चीन युद्धमा हाम्रा पूर्खाहरुले बनाएको ऐतिहासिक रसुवागढी किल्ला २०७२ वैशाख १२ गते र त्यसपछिका पराकम्पहरुले पूर्ण रुपले क्षति पुर्यायो । यो किल्लाको संरक्षण हामीले गर्न सकेनौं । किनभने हामी लुते सन्तानहरु भयौं । तिनै पूर्खाका सन्तान किल्ला संरक्षण गरेर वीरताको इतिहासलाई जीवन्त राख्नु भन्दा मगन्ते भएर नयाँ इतिहास रच्नुमा अहिले गौरव ठान्छन् ।

घ. अबको निकास :
हामी नेपालीहरु जुनै काम गर्छौ दीर्घकालीन रुपमा नाफा—घाटा के हुन्छ ? त्यो नसोची तत्कालको लागि नाफा सोचेर गरिने रहेछ भन्ने एउटा ज्वलन्त उदाहरण रसुवागढी सुख्खा बन्दरगाह निर्माण हो । सुख्खा बन्दरगाह निर्माणको लागि टिमुरे क्षेत्रमा पर्याप्त जग्गा नहुँदा पनि शुरु गरियो । यो बन्दरगाह निर्माण गरिए पनि यसको दीर्घकालीन प्रयोग हुन सक्नेमा शंका छ । निर्माणाधीन सुख्खा बन्दरगाह रहेको जग्गा भोटेकोशी (केरुङ) खोलाको किनारसंग जोडिएको छ । त्यसमा करिव २० फिट अग्लो पर्खाल उठाएर हाइड्रोपावरको सुरुङ खन्दा निस्किएको ढुंगाका पाउडर(मक्) हालेर पुरिने योजना छ । सिन्धुपाल्चोक जिल्लाको सुनकोशी क्षेत्रमा आएको बाढी जस्तो आयो भने वा चीनको तिब्बती भूमिमा रहेको कुनै हिमताल फुटेर आयो भने यसरी निर्माण गरिएको संरचनाले खासा क्षेत्र र त्यो भन्दा निकै तलतिरको भूभागमा गएको क्षतिको झैं नियति भोग्नु पर्छ । यसमा कुनै दुईमत छैन । यो नीति निर्माण तहको दोषी हो वा योजनाकारहरुको ? यसबाट भविष्यमा हुने क्षतिको जिम्मेवारी को हुने ?

अतः सबै भन्दा उत्तम उपाय भनेको अहिले बनि नसकेको हुनाले सुृख्खा बन्दरगाहलाई अन्यत्र सार्नु पर्छ । गोल्जोङवेशी देखि गत्लाङवेशी सम्मको भूभाग, सानो भार्खु देखि ठूलो भार्खु वा धुन्चेको तल्ला क्षेत्रको भूभाग स्थानहरु विकल्प हुन सक्छन् । तत्कालको समस्या भनेको पहिलो, भन्सारले छरितोसंग मालसामान निरीक्षण गर्नुपर्छ । दोस्रो, हाइड्रो पावरको गाडी गुड्ने र नाकासम्म पुग्ने गाडीको लागि सडकको व्यवस्थापन गर्नुपर्छ ।

ठूलो भार्खु, रसुवा
२०७३।६।१४

phurpatamang10@gmail.com

contact 9851148979

Comments

comments