रसुवामा डेंगु रोग बारे सतर्कता अभियान सुरु

रसुवा, डेंगु रोग नियन्त्रण गर्न रसुवामा सतर्कता अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालयकाे अायाेजनामा  जिल्ला प्रशासन कार्यालयमा भएकाे सरोकारवालाहरूको छलफलले सतकर्ता अभियान सुरु गर्ने निर्णय गरेको हो ।

अभियान सञ्चालन गर्न कार्ययोजना बनाइएको छ भने जिल्लामा सम्भावित जोखिम क्षेत्र पहिचान गरिएको छ । जिल्लाको उत्तरगया गाउँपालिकाको खाल्टे, सल्लेटार, बेत्रावती, बोगटीटार, पैरेबेसी, माझगाउँ र मैलुङ, कालिका गाउँपालिकाको कालिकास्थान, धारापानी, बेतिनी, जिवजिवे र धुसेनी, नौकुण्डलाई सम्भावित जोखिम क्षेत्र पहिचान गरिएको छ ।

गाउँपालिकाको भोर्ले, सरमथली र पारच्याङ, गोसाइँकुण्ड गाउँपालिकाको धुन्चे, भार्खु, स्याफ्रुबेँसी र टिमुरे र आमाछोदिङ्मो गाउँपालिकाको गोल्जुङ र चिलिमेलाई संभावित जोखिम क्षेत्र पहिचान गरिएको छ । रसुवामा अहिलेसम्म डेंगु संक्रमित नदेखिए पनि संभावित जोखिम क्षेत्रमा जनचेतनामूलत कार्यक्रम गर्ने कार्ययोजना बनाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

अभियानअन्तर्गत संभावित जोखिम रहेका स्थानमा पर्चा, पम्प्लेट टास्ने तथा स्थानीय सञ्चारमाध्यमबाट सूचना प्रवाह गर्ने तय गरिएको भण्डारीले बताए । अहिलेसम्म संक्रमित बिरामी फेला नपरेको दाबी गरिए पनि संक्रमित भए नभएको पत्ता लगाउने उपकरण नै जिल्लामा छैन । जिल्ला अस्पताल रसुवाको ल्याबमा डेंगु भाइरस जिवाणु पत्ता लगाउने उपकरण नहुँदा उपचार गर्न कठिनाइ भएको अस्पतालले जनाएको छ । उपकरण नहुँदा संक्रमित भएको आशंका हुनेबित्तिकै त्यस्ता बिरामीलाई अन्यत्रै उपचार गर्न पठाउने गरिएको जिल्ला अस्पतालका डा. दीपक मिश्रले बताए । उनले भने, ‘डेंगु रोगको लक्षणको आशंका भएकाहरूलाई हामीले अन्यत्रै रिफर गरेका छौँ किनभने उनीहरूमा डेंगु रोग लागेको हो कि होइन भनेर परीक्षण गर्ने उपकरण नै यहाँ छैन ।’ जिल्ला अस्पतालले मंगलबार स्वास्थ्य विभागसँग डेंगु भाइरस जिवाणु पत्ता लगाउने उपकरण माग गरेको छ ।

Comments

comments